Wednesday, March 12, 2025
घरसमाचारकिन मारियो मकुना ?

किन मारियो मकुना ?

मकुना नामको एउटा वन हात्तीलाई गोली हानेर मारियो । समाचारमा जनाइए अनुसार उनीमाथि ६ राउन्ड गोली हानिएको थियो । किन एउटा हात्तीको यति क्रुरतापूर्वक ज्यान लिइयो ?

निकुञ्ज अधिकारीको तयारी जवाफ छ, ‘आत्मसुरक्षाका लागि गोली चलाउनुपर्ने बाध्यात्मक अवस्था आयो । उक्त गोली लागेर मकुनाको मृत्यु भयो ।’ तर, पशु अधिकारका क्षेत्रमा आवाज उठाइरहेकाहरुले यसमा चित्त बुझाएका छैनन् । उनीहरुले एउटो जंगली हात्तीमाथि कुनियतले गोली चलाएर हत्या गरिनु सामान्य अपराध नभएको तर्क गरेका छन् । र, सामाजिक सञ्जालमा ‘मकुनालाई न्याय देउ’ भनी अभियान चलाएका छन् ।

पूर्व संचारकर्मीसमेत रहेका प्रभात रिमाल लेख्छन्, ‘तेस्रो विश्वका कहलिएका बीर गोर्खालीले एउटा निहत्था हात्तीलाई गोली हानेर मारेछ । वाह क्या बहादुरी ?’

चितवनमै रहेर पशुपंक्षीको कल्याणका लागि निरन्तर आवाज उठाइरहने युवा हुन्, सुराजन श्रेष्ठ । मकुनाको मृत्युपछि उनले लेखेका छन्, ‘खैर, हार्दिक श्रद्धान्जली मकुना । तर, तिमी अहिले स्वर्ग नजानु । हाम्रो आत्मामा बास गर्नु । हाम्रो तागत बन्नु । अझै धेरै लडाई हामीसँगै लड्नु छ । मानव जातिले तिमी जस्ता हजारौं हात्तीको जीवनमा लगाएको सिक्री तोड्नु छ ।’

गएको बुधबार दिउँसो । करिब आधा दर्जन हात्तीमा चढेर चितवन निकुञ्जका कर्मचारी र नेपाली सेनाका सैनिकहरु जंगलतर्फ लाग्छन् । निकुञ्ज अधिकारीहरुका अनुसार जंगली हात्ती मकुनालाई निकुञ्जको भित्री इलाकामा पठाउन उनीहरुले गस्ती गरेका हुन् ।

सोही गस्तीका क्रममा अर्को मकुनाले अर्को हात्ती चुरे गजलाई आक्रमण गर्न खोज्छ । उनीहरुले मकुनालाई धपाउन ‘दुई राउन्ड हवाई फायर’ गर्छन् । तर, हात्ती भाग्दैन । यसैबीच अर्को हात्ती खगेन्द्रप्रसादमा चढेका रेन्जर श्याम तामाङ हात्तीबाट खस्न पुग्छन् । उनैलाई बचाउन पुन तीन पटक हवाई फायर गरिन्छ । सो हवाई फायर पछि मकुना भागेर केही पर पुग्छन् । तर लगत्तै फर्केर आउँछ । त्यसपछि पुन एक राउन्ड गोली हानिन्छ । साढे एक बजेतिर ढलेको अवस्थामा भेटिएको हात्तीलाई दुई घण्टापछि पशु चिकित्सक टोलीले मृत घोषणा गर्छन् ।

यो निकुञ्जको तर्फबाट आएको एकतर्फी बयान हो । उनीहरुले ‘बाध्यत्मक अवस्थामा आफ्नो रक्षा गर्न गोली चलाएको’ भनेका छन् । तर, जंगली हात्ती बसेको ठाउँमा तामझामका साथ उनीहरु किन गए ? त्यसलाई धपाउनुपर्ने अवस्था किन आयो ? उनीहरुले नखुलाएको सरोकारवालाको प्रश्न छ ।

एनिमल नेपालले विज्ञप्ती जारी गर्दै यस कृत्यको चर्को बिरोध गरेका छन् । विज्ञप्तीमा लेखिएको छ, ‘यो घटनाले फेरी एकपटक देखाएको छ कि मानव क्रियाकलापकै कारण वन्यजन्तु र मान्छेवीच द्वन्द्व बढिरहेको छ । तर, दोष सधै जनवारलाई लगाइन्छ । अन्ततः तिनीहरु नै मारिन बाध्य पारिन्छ ।

जंगली हात्तीहरु आफैं मानव बस्तीमा आउँदैनन् । तिनीहरुलाई मूख्य रुपमा बन्धक पोथी हात्तीहरुले आकर्षित गर्छन्, जुन पर्यटन र गस्तीका लागि प्रयोग गरिन्छ । बन्धक हात्तीहरुलाई अस्वभाविक अवस्थामा राख्दा जंगली हात्तीहरुको प्राकृतिक व्यवहार प्रभावित हुन्छ । तर, यसको वास्तविक कारण बुझ्ने र समाधान खोज्नेभन्दा सधै जनवारलाई मार्ने उपाय अपनाइन्छ ।’

अबिरल भण्डारी लेख्छन्, ‘दुःखद् खबर । संरक्षणकर्ताबाटै मकुना ढल्न पुगेछ । पानीमा पसेर गोही मार्ने, जंगलमा पसेर हात्ती मार्ने, सिंहदरबारमा पसेर जनता मानेहरु बिरुद्ध म धेरै बोल्न चाहन्न ।’

किन र के प्रयोजनका लागि मकुना हात्तीमाथि गोली चलाइयो भनी स्पष्टसँगले जवाफ पाउन कठिन हुने सुराजन श्रेष्ठको भनाई छ । उनले हात्तीको हत्या हुनु अत्यान्त निन्दनिय भएको तर्क गर्दै लेखेका छन्, ‘जसले जति नै जे जे भनेपनि कुनै कोणबाट निकुञ्ज प्रशासनले यसको बारेमा चित्तबुझ्दो जवाफ फर्काउन सक्छ जस्तो लाग्दैन । फर्काएछ भने संरक्षणको काम राम्रोसँग गर्न नसकेपनि लापरवाही तरिकाबाट भएको गलत कामलाई लुकाउन शब्दमा खेल्न सक्ने मान्छेहरु चाहिँ रहेछन् हाम्रो निकुन्ज प्रशासनसँग भनेर मन बुझाउन सकिन्छ ।’

हात्तीमा चढेर हात्तीको संरक्षण गर्छु भन्नु, हात्तीमाथि चढेर अन्य वन्यजन्तुमाथि आक्रमण गर्नु, धपाउनु, दुःख दिनु उचित नहुने उनको तर्क छ ।

मकुनाको मृत्युमा एक सामाजिक सञ्जाल प्रयोगकर्ता लेख्छन्, ‘मकुना, तँ सँग मेरो निकै पटक सक्षतकार भइसकेको थियो । विवेकशिल मानव भएको पृथ्वीमा तँ अटाइनस् । तँलाई मारिएको खबरले स्तब्ध छु । तेरो नगरीमा म पुगिरहनेछु, तेरो कथा र यादहरु रहिरहनेछन् मेरो  सेलफोनमा । पुपुनर्जन्ममा स्वतन्त्र पखेटासहित जन्म होस् र मन लागे जति खेल्न र डुल्ने सौभाग्य मिलोस् । धेरै सम्झना मकुना ।’

मकुना चितवन राष्ट्रिय निकुञ्जको सौराहा क्षेत्रमा गत वर्ष पहिलो पटक आएको थियो । बस्ती छिरे पनि मकुनाले मानिसलाई क्षति भने गरेको थिएन ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -