सोलुखुम्बु। सोलुखुम्बुको खुम्बु पासाङल्हामू गाउँपालिका–५ नाम्चेमा स्थित सीमा प्रशासन कार्यालयको छानो हावाहुरीले उडाएको छ । बिहीबार तीव्र गतिमा चलेको हावाहुरीले कार्यालयको चारतले भवनको छानो उडाएको हो ।
सोही स्थानमा हावाहुरीले एउटा निजी घरको छानो सहित चार घरको सोलार प्यानल उडाएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिनुभयो । जसमा नाम्चेका स्थानीय पासाङल्हामु शेर्पाको ढुङ्गा माटोले बनेको दुई तले घरको टिनको छानो उडाएको छ ।
त्यस्तै, लामाकाजी शेर्पाको घरको छानो उडाएको छ भने निमानुरु शेर्पाको ५ सय वाटको सोलार प्यानल १० थान, दोर्जे लामाको खाङ्ग्री होटल एण्ड लजको ५ सय वाटको सोलार प्यानल १० थान, आङनुरु शेर्पाको होली डे एण्ड लजको ५ सय वाटको सोलार प्यानल ३ थान र सोनाम दावा शेर्पाको खुम्बुचे लजको २ सय वाटको सोलार प्यानल १६ थान उडाएको प्रहरीले जनाएको छ ।