१७ माघ, विराटनगर । ताप्लेजुङको पाथीभरा मन्दिरनेर केबलकार बनाउने योजना तीन दशकअघि नै बनेको थियो, जसलाई मूर्तरुप दिने तयारी थालिनासाथ विवाद सुरु भएको छ । कोशी प्रदेश नामकरणसँग विरोध जनाइरहेको पहिचानवादी समूहले यसलाई अगुवाई गरिरहेको छ ।
पाथीभरा मन्दिरसम्म पुग्ने केबलकार निर्माणको विषयलाई लिएर गत शनिबार ‘नो केबलकार’ पक्षधर र प्रहरीबीच झडप हुँदा २६ जना घाइते भए । घाइते हुनेमा प्रहरी निरीक्षक, सशस्त्र तथा नेपाल प्रहरी दुवैतर्फका जवानहरु घाइते छन् । झडपका क्रममा गोली लागेका दुई जना प्रदर्शनकारीको काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
आन्दोलनकारीमाथि अति बल प्रयोग गरेको भनेर राज्यपक्षको चर्को आलोचना भइरहेको छ । तर, विरोधी पक्षले गुलेली मट्यांग्रालगायत घरेलु हतियार प्रयोग गरी आक्रमण गरेको सुरक्षाकर्मीको भनाइ छ ।
पाथीभरामा केबलकार निर्माण योजना सुरु भएदेखि नै विभिन्न समूहले ‘नो केबलकार’ आन्दोलन गरिरहेका छन्। केबलकार बनाउनुपर्छ र बनाउनु हुँदैन भन्ने पक्षमा समाज विभाजित छ । विपक्षमा उभिएको समूह पहिचानको मुद्दा उठाउँदै केबलकार सुरु गर्दा पूजाविधि मासिने दाबी गर्छ । निर्माणको माग गरिरहेको स्थानीयले भने तीर्थालु र भक्तजनमात्रै नभई आम पर्यटक र सर्वसाधारणको सहजताका लागि केबलकार बन्नुपर्ने जिकिर गर्छन् । उसले केबलकार बन्दा कुनै धर्म संस्कृति विशेषलाई नभई सबै धर्म र संस्कृतिका आस्थावानलाई फाइदा हुने प्रष्ट गरेको छ ।
माथिल्लो फेदीमा रहेको कान्छीथानबाट धागो बाँधेर पाथीभरा पुग्ने परम्परा छ । केबलकार निर्माण भए यो परम्परा मेटिने ‘नो केबलकार’ अभियान सञ्चालन गरिरहेको समूहको दाबी छ ।
‘नो केबलकार‘ आन्दोलनमा पहिचानवादी मोर्चा सामेल छ। प्रदेश १ लाई कोशी प्रदेश नामकरण गरिएपछि मोर्चाले आन्दोलनमा सक्रियता बढाउको थियो । तर, उक्त आन्दोलन सफल नभएपछि पछिल्लो समय मोर्चा पाथीभरा (मुकुम्लुङ) क्षेत्रमा केन्द्रित छ । त्यसमा विगतमा लिम्बुवान किरातलगायत प्रदेश माग्दै दल खोलेका कुमार लिङदेनलगायत पक्षहरु सामेल भएका छन् ।
मुकुम्लुङ क्षेत्रमा केबलकार निर्माण गर्दा किरात समुदायको मुन्धुमी संस्कृति मेटिने आन्दोलनरत किरात याक्थुङ चुम्लुङकी महासचिव निरन्ती तुम्बापो बताउँछिन् । मुन्धुमी संस्कृतिलाई जोगाउनका लागि पाथीभरा (मुकुम्लुङ)लाई प्राकृतिक अवस्थामै छाड्नुपर्ने उनको माग छ ।
ताप्लेजुङ सदरमुकाम फुङलिङमा रहेको सुकेटार विमानस्थलसम्मको बाटो राम्रो छ, सुकेटार विमानस्थलबाट पाथीभरा पुग्ने तल्लो फेदी (जहाँ केबलकारको पहिलो स्टेसन बन्छ) सम्म पुग्ने बाटो भद्रगोल छ । वर्षौंसम्म बाटो नबनेका कारण तीर्थयात्रीले सास्ती भोग्नुपर्छ । पहिचान पक्षधरले केबलकार निर्माणको साटो तल्लो फेदीसम्म पुग्ने बाटो चाँडो निर्माण गर्न आयोजक पक्षसँग माग गरेको छ ।
यद्यपी आदिवासी जनजाति समुदायभित्रैका कतिपय व्यक्ति भने स्थानीयसँग पर्याप्त संवाद गरेर, अनि ताप्लेजुङको ग्रामीण खाँचो सम्बोधन गरेर पर्यावरणीय पाटो ध्यान दिन सके केबलकार बनाउनु हितकर नै हुने ठान्दछन् ।
यसरी सोच्नेमा ताप्लेजुङका जिल्ला समन्वय समिति प्रमुख , फुङलिङ बजारका मेयरदेखि कतिपय नागरिक अगुवाहरु पनि छन् ।
ताप्लेजुङ जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामाले यो केबलकार आयोजना बाट स्थानीय नागरिकले प्रत्यक्ष लाभ लिनसक्ने भन्दै स्थानीयसँग बृहत्तर परामर्श गर्दै अघि बढ्न सुझाव दिए । निरन्तर छलफल गरी सहमति जुटाएर काम थाल्न ढिला गर्न नहुने उनको भनाइ छ ।
फुङलिङ नगरपालिकाका मेयर अमिर मादेनले पाथीभरामा केबलकार निर्माण गर्दा समग्र ताप्लेजुङको विकास र स्थानीय सरोकारको हित हुन जाने भएकाले आफू निर्माण हुनुपर्ने पक्षमा उभिएको बताउँछन् । उनी ताप्लेजुङ दशकौंदेखि विकासकै पर्खाइमा रहेको जिल्ला भएकाले सरकारी, निजी तथा गैरसरकारी सबै पक्षलाई ताप्लेजुङको समग्र अवस्था उठाउनका लागि ध्यानाकर्षण गराउँछन् ।
मादेन लामो तयारीका साथ केबलकार निर्माण प्रक्रिया अघि बढेकाले यसलाई अघि बढाउन नसक्दा जिल्लाकै विकास प्रयास झन् पछि धकेलिने बताउँछन् । केही दिनअघि मादेनले सार्वजनिक रुपमा भनेका थिए, ‘केबलकार बनाउन सकिनँ, कम्पनीलाई साथ दिन सकिनँ अर्थात् कन्ट्रयाक्टवालालाई साथ दिन सकिनँ भने राजनीतिबाट सन्यास लिन्छु ।’
व्यक्तिगत स्वार्थ र पुराना सोच राखेर विकास निर्माणका काममा अवरोध गर्न नहुने उनको भनाइ थियो।
‘देशका धेरै ठाउँमा पर्यटन पूर्वाधार निर्माण भइरहेको बेला हामीले मुलुककै प्रसिद्ध धार्मिक पर्यटकीयस्थलमा केबलकार बनाउने काममा बाधा खडा गर्यौं भने हामी आफैँ पछि पर्नेछौँ । त्यसैले सबै पक्ष बसौँ, आफ्ना कुरा राखौँ र समझदारी बनाई निर्माणको काम थालौँ,’ उनको भनाइ छ ।
कांग्रेस जिल्ला सभापति गजेन्द्र तम्याङ, नेकपा (माओवादी केन्द्र)का कोशी प्रदेश सदस्य बमबहादुर भट्टराई, फुङ्लिङ नगरपालिकाका उपप्रमुख भिमादेवी ओझालगायतले पनि स्थानीयका माग र उनीहरुका सुझाव समेट्दै अघि बढ्न केबलकार निर्माण पक्षलाई सल्लाह दिएका छन् । सबैका भावनाहरुलाई समेटेर साझा सहमति बनाएर आयोजना निर्माणको काममा ढिला गर्न नहुने उनीहरुको भनाइ छ ।
तीन दशक पुरानो योजना
माथि नै भनिसकियो– पाथीभराको केबलकार निर्माणले पछिल्लो समय गति लिए पनि चर्चा भने पुरानो हो । २०५१–५२ सालबाटै केबलकार निर्माणको प्रसंग चलेको थियो । त्यसबेला विराटनगरका पूर्वमेयर ध्रुवनारायण श्रेष्ठले केबलकार निर्माणको अगुवाइ गरेका थिए ।
उनकै अगुवाइमा २०७२ सालमा ‘पाथीभरा देवी दर्शन केबलकार प्रालि’ दर्ता भएको थियो । उनीपछि यो कम्पनीमा ईश्वरी पौडेलसहितको टोलीले काम गर्ने तयारी गरेको थियो। तर त्यसबेला सफल हुन सकेन ।
त्यसपछि यती एयरलाइन्सका तत्कालीन सञ्चालक आङछिरिङ शेर्पा जोडिए । शेर्पाको ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा मृत्यु भएपछि ल्हाक्पा सोनाम शेर्पासँग यो कम्पनीको अधिकतम सेयर गएको थियो । सोनाम शेर्पा आईएमई ग्रुपका मालिक चन्द्र ढकाललाई सेयर बेचेर कम्पनीबाट बाहिरिएका थिए ।
तीन दशक अघिदेखि चर्चा भएको केबलकारमा चन्द्र ढकालको प्रवेशपछि भने कामले गति लिएको छ। ढकालले पछिल्लो समय काठमाडौं, पोखरा, मौलाकाली लगायत क्षेत्रमा केबलकार बनाइरहेका छन् । ताप्लेजुङमा बनाउने योजना गरिएको यो केबलकारको प्रवेश बिन्दु २९ रोपनी निजी जग्गामा बन्छ । २.७५ किलोमिटर केबलकारको बाँकी जग्गा वन क्षेत्र हो ।
वन क्षेत्रमा पर्ने ४.९७ हेक्टर जमिनमा रहेको १० हजार २०० बढी रुख काटिएको पहिचानपक्षधर दाबी गर्छन् । तर एमाले सचिव तथा ताप्लेजुङबाट निर्वाचित प्रतिनिधिसभा सांसद योगेश भट्टराईले भने जम्मा २११२ रुखमात्रै कटान हुने वक्तव्य निकाल्दै दसौं हजार रुख काटिन लागेको प्रचारको खण्डन गरेका छन् । उनले आन्दोलन र विरोध लोकतान्त्रिक प्रक्रिया भए पनि त्यसलाई सभ्य शिष्ट बनाउन समेत आग्रह गरेका छन् ।
राज्यबाट अनुमति पाएपछि निर्माण कम्पनीले शिलान्यास गरेर काम थालेको छ ।
परिकल्पनाकार ध्रुवनारायण श्रेष्ठका अनुसार केबलकार बनाउनका लागि भन्दै सोनाम वाङ्गे पनि अमेरिकाबाट नेपाल आएका थिए । तर सकेनन् । पाथीभरा केबलकार निर्माणमा लागेका तीन जना अर्थात् आङ्छिरिङ, वाङ्गे र पुष्पबहादुर बरुवालको मृत्यु भएको उनको भनाइ छ ।
केबलकारको पहिलो स्टेसनको जग्गा श्रेष्ठले नै कम्पनीलाई बिक्री गरेका थिए । मालपोत कार्यालय ताप्लेजुङको अभिलेख अनुसार पाथीभरा देवी दर्शन केबलकार प्रालिको २९ रोपनी जग्गा पुष्पबहादुर बरुवाल र सुरेन्द्रकुमार गुरुङले बिक्री गरेका थिए ।
९० हजार रोपनीमा पनि बिक्री नहुने सो जग्गा २०७७ अन्तिममा २६ करोड १० लाख रुपैयाँमा बिक्री भएको थियो । यो जग्गा खरिद–बिक्री गर्दा मालपोत कार्यालयमा पूँजीगत लाभकर १ करोड ३० लाख ३७ हजार र रजिष्ट्रेसन दस्तुर १ करोड ४ लाख ४० हजार रुपैयाँ बुझाइएको थियो । जग्गा बिक्रीका लागि आफूले पुष्पबहादुर बरुवाललाई वारेस दिएको श्रेष्ठको दाबी छ ।
र, अहिले यिनै प्रक्रिया पूरा गरेसँगै केबलकार निर्माणले गति पाइरहेकै बेला आन्दोलन चर्किएको हो । यो यस्तो आन्दोलन हो, जसको सिधा सम्बन्ध कोशी प्रदेश पुन:नामांकन मागसँग जोडिन्छ ।
कोशीमा सफल भएन, पाथीभरा मुकुम्लुङमा के होला ?
दलहरुबीच सहमति बन्न नसकेपछि पहिलो प्रदेश सभाले १ नम्बर प्रदेशको नाम राख्न सकेन । दोस्रो प्रदेश सभामा कांग्रेस एमाले र माओवादीबीच सहमति बनेसँगै २०७९ फागुन १७ गतेको बैठकले कोशी नाम दुई तिहाई बहुमतबाट अनुमोदन गरेको थियो । पर्याप्त छलफल बिना नामकरण गरेको भन्दै साना जनजाति घटक तथा पहिचान पक्षधरले विरोध गरे ।
त्यसबेला सत्तारुढ रहेको माओवादी केन्द्र विपक्षमा आएपछि भने कोशी नाम पुनरावलोकनका पक्षमा अभिव्यक्ति दिन थाल्यो । पहिचानवादी दल र जातीय संगठनले प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समिति गठन गरी आन्दोलन सुरु गरे ।
आन्दोलनका क्रममा २०७९ चैत ५ गते घाइते भएका पदम लिम्बु लाजेहाङको १० गते उपचारका क्रममा मृत्यु भयो । उनको मृत्युपछि पहिचान आन्दोलन थप चर्कियो । सरकारले माग सम्बोधन गर्न चासो नदिएपछि पहिचानवादी आन्दोलन सेलायो । आन्दोलन कमजोर भएपछि पहिचान पक्षधरले फेस सेभिङको रुपमा सरकारसँग २०८० माघ १६ गते पाँच बुँदे सहमति गरेको थियो । गत मंसिरमा पुनः आन्दोलन घोषणा गरेको थियो ।
राजधानी विराटनगरमा आन्दोलन चलिरहेकै बेला उता सुदूर पूर्वी पहाडमा व्यवसायी ढकालको समूहले केबलकार निर्माणका लागि काम सुरु गरेको थियो । विराटनगर लगायत मुख्य शहरमा प्रदेश नामांकनको आन्दोलन कमजोर भएपछि सेलाएको पहिचानवादी मोर्चा त्यसपछि पाथीभरा क्षेत्रमा केन्द्रित हुन थाल्यो । फरक के छ भने, कोशी नामांकरणविरुद्धको माग राज्यपक्षसँग जति जोडिन पुगेको छ, पाथीभरा क्षेत्रमा केबलकार विरुद्धको माग भने राज्यसँगै निजी व्यावसायिक प्रतिष्ठानतिर उनीहरुले लक्षित गर्न खोजेका छन् ।
केबलकार निर्माण गर्दा मौलिकता र परम्परा मेटिने जिकिर गर्दै युवाहरुको टोली नै बनाएर गस्ती खटाउन थालियो । पहिचानको आन्दोलनको नाममा पाथीभरा लेख्न नहुने र मुकुम्लुङ मात्रै लेख्नु पर्ने आवाज पनि उठ्यो । उनीहरुले पाथीभराको इतिहास खासै लामो नभएको दाबीसमेत गर्ने गरेका छन् जसलाई हिन्दु आस्थावानहरुले निको मानेका छैनन् ।
केबलकारको विरोधका लागि बलुडाँडामा पहिचान पक्षधरको सेल्टर छ । यो सेल्टरमा बसेर युवाहरुले केबलकारका लागि आउनेहरुलाई अवरोध गरेका छन् ।
सेल्टरमा पहिचानवादी मोर्चाले आफूसँग जोडिएका अन्य क्षेत्र र जिल्लाका युवाहरुलाई पालैपालो खटाउँछ । जसको पुष्टि शनिबारको घटनाले पनि गर्छ । घटनाका गम्भीर घाइते तीन जना स्थानीय होइनन्, पाँचथर तेह्रथुम र मोरङका छन् । पहिचानवादी मोर्चाले घोषणा गरेको आन्दोलनका लागि सो क्षेत्रमा लगेका हुन् ।
‘दुईतिर आन्दोलन गर्दा निष्कर्ष निस्कन नसक्ने र व्यवस्थापन पनि जटिल भएकाले एकैतिर केन्द्रित भएर (मुकुम्लुङ) मा लागेका छौं,’ पहिचान पक्षका एक नेताले भने, ‘नामको विषयमा हाम्रो संघर्ष जारी छ ।’
पहिचानवादी मोर्चाले मुकुम्लुङ आन्दोलनलाई प्रदेशको नामसँग पनि जोडेको छ । यो आन्दोलन सफल भए प्रदेश नामाङ्कनको आन्दोलनलाई बल पुग्ने उनीहरुको बुझाइ छ । आन्दोलनरत मोर्चाका नेता तथा किरात याक्थुङ चुम्लुङका केन्द्रीय अध्यक्ष प्रेम एक्तेन प्रदेश नामाङ्कन र मुकुम्लुङको आन्दोलन फरक भएको बताउँछन् ।
‘मुकुम्लुङ बचाउ आन्दोलन हाम्रो पहिचान र संस्कृति रक्षाको आन्दोलन हो,’ उनी भन्छन्, ‘नाम समग्र प्रदेशको आन्दोलन हो, यो (मुकुम्लुङ) प्रदेश भित्रको एउटा सामाजिक, सांस्कृतिक र ऐतिहासिक क्षेत्रसँग जोडिएको आन्दोलन हो ।’
मुकुम्लुङको ‘नो केबलकार’ आन्दोलन सफल भएपछि प्रदेशको आन्दोलनलाई सकारात्मक प्रभाव पर्ने उनको भनाइ छ । उनले मुकुम्लुङ क्षेत्रको समस्या समाधानको एक मात्र सर्त केबलकार निर्माणको निर्णय खारेजी भएको बताए ।
केबलकार निर्माणको निर्णय खारेजीको मागसहित मोर्चाले ताप्लेजुङ बन्द आह्वान गरेको छ । बन्द फिर्ताका लागि पनि निर्माणको निर्णय खारेज हुनुपर्ने तर्क गर्छन् ।
कस्तो बन्छ केबलकार ?
पाथीभरा दर्शन गरेर फर्कन पैदल यात्रा गर्नुपर्छ । केबलकार निर्माण भए एक दिनको बाटो १० मिनेटमा छोटिने छ । प्रस्तावित केबलकारले प्रतिघण्टा एक हजार जना तीर्थयात्री बोक्न सक्छ । केबलकार निर्माणका लागि ३ अर्ब लागत अनुमान छ । काम सुरु भए डेढ वर्ष भित्र निर्माण सम्पन्न गर्ने गरी हिमालय कन्स्ट्रक्सनले ठेक्का लिएको छ ।
फुङलिङ नगरपालिका–११ मा रहेको काफ्लेपाटीबाट पाथीभरा मन्दिर परिसरभन्दा करिब सात सय मिटर तलसम्म केबलकार निर्माण हुनेछ । केबलकारको दूरी २.७५ किलोमिटर हुनेछ । केबलकारमा १३ वटा खम्बा (टावर)मा ३८ वटा गोन्डोलाज (केबलकारको बसेर यात्रा गर्ने बक्स) गर्ने प्रस्ताव छ ।
निर्माणपछि ७५ वर्ष माथिका ज्येष्ठ नागरिक र ३ फिट मुनिका बालबालिकाले निःशुल्क यात्रा गर्न पाउने छन् । निर्माण कम्पनीले ताप्लेजुङको फेदीमा रिसोर्ट सञ्चालन नगर्ने र प्रस्थान बिन्दुमा भने रिसोर्ट रहने जनाएको छ ।
पाथीभरामा दर्शनका लागि अहिले वार्षिक ५ लाख हाराहारी पर्यटक पुग्छन् । केबलकार निर्माण भएपछि यो संख्या दोब्बर हुने निर्माण पक्षको दाबी छ । केबलकारमा स्थानीयलाई रोजगारी दिने कम्पनीले जनाएको छ। केबलकार बनेपछि ताप्लेजुङको फुङलिङ मात्रै होइन, पाँचथर फिदिमसम्मको व्यापार फस्टाउने दाबी पनि निर्माण पक्षले गरेको छ ।
निर्माण पक्षले स्थानीयको रोजगारी, विभिन्न सुविधा सहुलियत लगायत अहिले नै घोषणा गरेर आश्वस्त गराउनुपर्ने माग जनप्रतिनिधिहरुले गरेका छन् । ताप्लेजुङका सांसद योगेश भट्टराईले युवालाई रोजगारी, वृद्ध, बालबालिकालाई नि:शुल्क अनि ताप्लेजुङवासीलाई ५० प्रतिशत छुट दिन माग गरेका छन् । उनले तनावलाई शान्तिपूर्ण समाधान खोज्न राज्य र आन्दोलनकारी दुवै पक्षलाई आह्वान गरेका छन् ।