१५ माघ, काठमाडौं । आईसीएफसी फाइनान्सले हालै सर्वसाधारणका लागि १ लाख २० हजार कित्ता ऋणपत्र खुलाएको थियो । ९ प्रतिशत ब्याजदरको ऋणपत्रमा तीन दिनमै साढे ७ गुणा बढी आवेदन पर्यो ।
९ लाख २ हजार कित्ता ऋणपत्र माग भयो । आवेदन दिएजतिले ऋणपत्र नपाउने स्थिति यसमा बनेको छ । बाँडफाँटका क्रममा यो ऋणपत्र पाउनेले अब पूँजीगत लाभ समेत पाउने छन् । अंकित मूल्य १ हजार लागत परेकामा दोस्रो बजारमा सूचीकृत भइसकेपछि अब योभन्दा धेरै मूल्य पाइनेछ ।
८ प्रतिशत ब्याजका ऋणपत्र नै बजारमा १ हजारभन्दा बढी मूल्यमा कारोबार भइरहेको छ । तसर्थ ९ प्रतिशतको यो ऋणपत्रमा राम्रै पूँजीगत लाभ मिल्न सक्नेछ । चलनचल्तीको भन्दा राम्रो ब्याज र बेच्ने बेला पूँजीगत लाभ पनि मिल्ने भएकाले यति धेरै आकर्षण ऋणपत्रमा देखिएको जानकार बताउँछन् ।
ऋणपत्रको प्रतिफल दर सधैं ब्याजदरसँग तुलना हुने गरेको लक्ष्मी सनराइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विजयलाल श्रेष्ठले बताए । ‘धेरै ब्याजदर दिएका ऋणपत्रको मूल्य स्वाभाविक रूपमा केही बढी हुन्छ,’ उनले भने, ‘बैंकको निक्षेपमा ब्याजदर घटेका बेला ऋणपत्रमा प्रतिफल बढी देखिँदा आकर्षण बढेको हो ।’
प्राथमिक बजारमा मात्र होइन, दोस्रो बजारमा पनि अहिले ऋणपत्रको माग उच्च छ । यही माग उच्च हुँदा मूल्य बढिरहेको छ । १५ महिनाअघि बजारमै ८ सय रुपैयाँमा पाइने गरेका ऋणपत्र अहिले १ हजारमा पनि पाइँदैन ।
१५ महिनाअघि सानिमा बैंकको ‘एसबीडी ८७’ नामक ऋणपत्रको मूल्य ७ सय ९२ रुपैयाँ थियो । पछिल्लो पटक कारोबार हुँदा यसको मूल्य १ हजार २५ रुपैयाँ छ । जम्मा ८.५ प्रतिशत ब्याजदरको यो ऋणपत्रको मूल्यवृद्धिबाट लगानीकर्ताले १५ महिनामै २९ प्रतिशत लाभ लिए । मूल्यवृद्धि मात्र नभई ८.५ प्रतिशत ब्याज पनि बुझे ।
मूल्यवृद्धि र ब्याज दुवैबाट उत्कृष्ट प्रतिफल दिनेमा योमात्र होइन, बजारमा सूचीकृत सबै ऋणपत्र छन् ।
यसैगरी १५ महिनाअघि प्रभु बैंकको ‘पीबीएलडी ८७’ ऋणपत्रको मूल्य ७ सय ९० रुपैयाँ थियो । साढे ८ प्रतिशत ब्याजदरको यसको पछिल्लो मूल्य पनि १ हजार २५ रुपैयाँ पुगेको छ । यसमा पनि १५ महिनामै मूल्यवृद्धिको लाभ २९ प्रतिशत रह्यो ।
यहीं अवधिमा प्राइम कमर्सियल बैंकको ‘पीबीडी ८५’ को मूल्य ३० प्रतिशत बढेको छ । लक्ष्मी बैंकको ‘एलबीएलडी ८६’ को १५ प्रतिशत, एनएमबी बैंकको ‘एनएमबी ८५’ को मूल्य १३ प्रतिशत बढ्यो । यो मूल्यवृद्धि बाहेक थप १० प्रतिशत ब्याज पाक्यो ।
यीसहित अहिले बजारमा सबै ऋणपत्रको अंकित मूल्य १ हजारभन्दा माथि छ । दोस्रो बजारमा विभिन्न नामका ७२ ऋणपत्र सूचीकृत छन् । पछिल्लो समय ऋणपत्र कारोबार पनि उल्लेख्य बढेको छ ।
गत आर्थिक वर्ष २०८०/८१ साउनदेखि पुस मसान्तसम्म ७ लाख ३० हजार कित्ता ऋणपत्र कारोबार भएकोमा चालु आव २०८१/८२ यसै अवधिमा १६ लाख ८० हजार कित्ता ऋणपत्र कारोबार भएको छ ।
गत आव ६ महिनामा ७२ करोड रुपैयाँ बराबरको ऋणपत्र कारोबार भएको थियो, तर यो वर्ष सोही अवधिमा १ अर्ब ७९ करोड रुपैयाँ बराबरको ऋणपत्र कारोबार भएको नेप्सेको तथ्यांक छ । कारोबारसँगै औसत मूल्य पनि बढेको देखिन्छ ।
अहिले बैंकहरूको ब्याजदर धेरै न्यून बिन्दुमा झरिसकेको छ । ऋणपत्रको ब्याजदर केही माथि रहेकाले आकर्षण बढेको श्रेष्ठको भनाइ छ । ‘बैंकहरूले व्यक्तिगत मुद्दतीमा ५/६ प्रतिशत ब्याज दिइरहेका बेला ९/१० प्रतिशत ब्याज पाइने ऋणपत्रमा स्वाभाविक रूपमा आकर्षण हुन्छ,’ उनले भने ।
बजारमा हाल १२ प्रतिशतसम्म प्रतिफल (ब्याज) दिने ऋणपत्र सूचीकृत छन् । गुडविल फाइनान्सको ‘जीडब्लूएफडी २०८३’, आईसीएफसी फाइनान्सको ‘आईसीएफसीडी २०८३’ को प्रतिफल दर सबैभन्दा धेरै १२ प्रतिशत छ । जीडब्लूएफडीको पछिल्लो मूल्य १ हजार १ सय ९० रुपैयाँ छ भने आईसीएफसीडीको १ हजार २ सय १५ रुपैयाँ छ ।
अधिकांश ऋणपत्रको प्रतिफलदर भने साढे ८ देखि साढे १० प्रतिशतसम्म छ । एक वर्षअघि बैंकको मुद्दती निक्षेपमा औसत ब्याजदर साढे ९ प्रतिशत हाराहारी थियो ।
गत वर्ष माघमा वाणिज्य बैंकहरूले व्यक्तिगत मुद्दतीमा ९.१५ प्रतिशतसम्म ब्याज दिएका थिए, जसले गर्दा ऋणपत्रले बजार भाउ पनि पाएको थिएन, ८ प्रतिशत ब्याजका ऋणपत्र खरिद गर्ने हुँदैनथे । अहिले ऋणपत्र माग गर्नेले भनेजति खरिद गर्न नपाएको अवस्था देखिन्छ ।
सोमबार एक डिबेन्चरको मार्केट डेप्थ
ऋणपत्रमा लगानी गर्दा कहिले पाइन्छ ब्याज ?
प्राथमिक बजारमा १ हजार दरले किनिएका ऋणपत्र अहिले १ हजारमाथि छन् । दोस्रो बजारमा चल्तीमा रहेको मूल्यमा पनि ऋणपत्र किन्न सकिन्छ । प्राथमिक बजारमा ऋणपत्र कम्तीमा २५ कित्ता खरिद–बिक्री गर्न सकिन्छ, त्यसभन्दा तलको लगानी यसमा हुँदैन । तर दोस्रो बजारमा भने २५ भन्दा तल पनि किनबेच हुने गरेको छ ।
लक्ष्मी सनराइज क्यापिटल सीईओ श्रेष्ठका अनुसार ऋणपत्रको प्रतिफल ६–६ महिना अर्थात् असार मसान्त र पुस मसान्त सकिएपछि पाइन्छ । असार मसान्तपछि ६ महिनाको ब्याजदर गणना गरेर पाइन्छ भने पुस मसान्तपछि अर्को ६ महिनाको गणना गरेर पाइने गरेको छ ।
कुनै व्यक्तिले माघ, फागुन, चैत, वैशाख, जेठ वा असारमध्ये जुन महिनामा दोस्रो बजारबाट ऋणपत्र खरिद गरे पनि उसले आगामी असार मसान्तपछि (साउन पहिलो साता) वार्षिक ब्याज गणना गरी ६ महिनाको प्रतिफल पाउँछ ।
तर, सोही ऋणपत्रको मूल्य माघको तुलनामा असारमा बढ्न सक्छ, जतिबेला प्रतिफल पाउने अवधि नजिकिएको हुन्छ । डिम्याट खातामा जुन बैंक खाता उल्लेख गरिएको हुन्छ, त्यही खातामा कुल ब्याजकर कटौतीपछि प्रतिफल जम्मा हुन्छ । बैंक ब्याजमा काटिने कर र ऋणपत्रको ब्याजमा काटिने कर बराबर हाल ६ प्रतिशत छ ।
ऋणपत्रको अवधि परिपक्व भइसकेपछि अंकित मूल्य १ हजारकै दरले साँवा फिर्ता हुन्छ । जसले गर्दा थोरै अवधि बाँकी रहेको अवस्थामा उच्च ब्याजदरकै आधारमा महँगो मूल्य तिर्दा पनि लाभ नहुन सक्छ ।