पञ्चायत, बहुदल होस् या गणतन्त्र- राप्रपा नेपालका अध्यक्ष कमल थापा सधैं राजनीतिको चर्चामै रहिरहन्छन् । अचेल भने उनको सक्रिय सार्वजनिक जीवनमा केही सुस्तता छाएको छ । यस बीचमा उनले ‘नाकाबन्दी र भूराजनीति’ पुस्तक लेखे, जसले राष्ट्रिय राजनीतिक जीवनमा रहेका कतिपय पात्र र प्रवृत्तिबारे थुप्रै सूचना उजागर गर्न सक्यो । थापा अहिले राप्रपाका दुई धारलाई मिलाउन चाहन्छन्, अनि ‘सम्वद्र्धनवादी विचार’ को विरासत नयाँ पुस्तामा सुम्पेर आफू नेपथ्यमा रहन चाहेको संकेत गर्छन् । उनीसँग मंगलबार दिउँसो अनलाइनखबरका बसन्त बस्नेतले गरेको कुराकानी :
तपाईं राजनीतिमा नयाँ विकल्प खोजौं भन्दै हुनुहुन्छ । कस्तो विकल्प भन्नुभएको ?
पञ्चायतको ३० वर्षलाई अलग गर्ने हो भने अहिलेसम्म वामपन्थी शक्ति र विचारको वर्चस्व रहँदै आयो । नेपालमा कांग्रेस, विप्लवदेखि वैद्य माओवादीसम्म आफूलाई समाजवादी नै भन्छन् । समाजवादी भनेको वामपन्थी झुकाव भएकै विचारधारा हो । इतिहासको यो लामो यात्रामा वाम झुकावको वर्चस्वले देशलाई आर्थिक दृष्टिकोणबाट सम्पन्न तुल्याउन, राजनीतिक स्थिरता प्रदान गर्न सफल भएको देखिएन । संसारैभरि वामपन्थी विचार पतनतर्फ गइरहेको देखिन्छ । उनीहरूमा विचलन देखा पर्दा झन् विकृति बढ्दै गएका छन् । अहिले कांग्रेस, एमाले, माओवादी सबैमा वैचारिक विचलन छ । उनीहरू आफैंले विगतमा दलाल पूँजीवादी मान्यता भनेर विरोध गरेका नीति नै अवलम्बन गरिरहेका छन् । एकातिर वाम विचार पनि नछाड्ने, अर्कातिर नवउदारवादबाट पनि प्रभावित हुने । यो विचलन देखिएकाले मैले २०६२/६३ को परिवर्तनपछि नेपालमा सम्वद्र्धनवादी विचार बोकेको हुँ । मैले आफ्नो मान्यतालाई सम्वद्र्धनवादी विचार भनेको हुँ । यसलाई अंग्रेजीमा ‘लिबरल कन्जरभेटिज्म’ भन्दा हुन्छ ।
यस विचारको मूल मान्यता के हो ?
२०६२/६३ पछि जुन प्रकारको मार्गचित्र र अवधारणा अवलम्बन गरियो, त्यो बाटो गलत थियो भन्ने मान्यताका साथ हामीले नेपालमा सर्व–धर्म समभाव र पूर्ण धार्मिक स्वतन्त्रता सहितको सनातन हिन्दू राष्ट्र, संवैधानिक राजतन्त्र सहितको प्रजातन्त्र चाहिन्छ भन्यौैं । केन्द्रमा बलियो सरकार र अझै बढी अधिकार भएको स्थानीय सरकार गरी दुई तहको सरकार उपयुक्त हुन्छ भन्ने वैकल्पिक मान्यता बोकी हामी हिंडिरहेका छौं ।
२०६२/६३ को परिवर्तन भएको १८ वर्ष भयो । तर यसपछि देशमा सुशासन र स्थायित्व होइन विकृति पो बढे । दल, सरकार, नेताहरूप्रति जनताको भरोसा टुट्दै गएका कारण धेरै ठूलो संख्यामा नेपाली विदेश पलायन हुने प्रवृत्ति बढे । यी १८ वर्षे अनुभव दृष्टिगत गर्दै संघीय धर्मनिरपेक्ष गणतन्त्रको विकल्प खोजौं भनेको हुँ ।
तपाईं केही समय अघिसम्म हिन्दू गणतन्त्र भन्दै हुनुुहुन्थ्यो, फेरि राजा माग्न थाल्नुभएको ?
वास्तवमा मैले गणतन्त्र कहिल्यै स्वीकार गरेको छैन । मान्छेहरूलाई मेरो मान्यताबारे भ्रम परेको मात्रै हो । हुन त प्रकारान्तरले ममाथि त्यस किसिमको आरोप लगाउने ठाउँ चाहिं छ । मैले राप्रपाको एकता महाधिवेशनमा जुन दुर्घटना भयो, त्यसलाई पार्टीभित्रैबाट सुधारको सम्भावना नदेखेपछि केही समय अलग भएँ । मैले राप्रपा नेपाल मार्फत राज संस्था पुनस्र्थापना एजेन्डा स्थगित गरेको पनि हो । पार्टीले राज संस्था पुनस्र्थापनालाई कार्यनीति बनाएन भनेपछि आम मानिसमा भ्रम पर्न गयो । देशको धरातलीय यथार्थ बुझेर, आफ्नै अन्तरात्माको आवाज सुनेर मैले राजसंस्था पुनस्र्थापनालाई प्रमुख एजेन्डाका रूपमा लिएर जाने अठोट गरेको हुँ ।
तपाईंको पार्टी कार्यालयमा पृथ्वीनारायण शाह, राष्ट्रिय झन्डासँगै पूर्वराजा ज्ञानेन्द्र र कोमल शाहको तस्बिर पनि राख्नुभएको रहेछ । तपाईंले बीचमा निर्मलनिवासबाट सहयोग भएन भनी आक्रोश पोख्नुभएको थियो, अब उहाँसँग नजिक हुनुभएको हो ?
मैले २०६२/६३ को परिवर्तनपछि निरन्तर यो तस्बिर राखिराखेको छु । म भावनात्मक रूपमा राजसंस्थासँग नजिक छु । २०६२/६३ को परिवर्तनपछि नेपालका दलहरू कांग्रेस र एमालेले पनि राज संस्थालाई छाडे । हिजोका पूर्वपञ्चहरूको पार्टी तत्कालीन राप्रपा र मेरा अग्रजले राजसंस्था छाडेर गणतन्त्रको बाटोमा जानुभयो । सेनाले पनि परमाधिपति रहेका राजा छाड्यो । अत्यन्त प्रतिकूल परिस्थिति, सांघातिक आक्रमण र सामाजिक बहिष्कारका बावजुद म र मेरो पार्टीले संवैधानिक राजसंस्था बोकेर हिंड्यो ।
संविधानसभाको दोस्रो चुनाव २०७० मा कांग्रेस र कम्युनिष्टपछि हामी ठूलो वैचारिक शक्ति, अनि संसद्मा चौथो ठूलो शक्ति बन्यौं । हाम्रै संघर्षले संविधानको पहिलो मस्यौदामा संघीय धर्मनिरपेक्ष गणतन्त्र अपरिवर्तनीयबाट परिवर्तनीय भयो । हामीले हिन्दूवादी राजावादीलाई एकत्रित बनाएर शून्यबाट ४, २५ बाट ३७ सिट पुर्याएका थियौं । मैले अग्रजहरूलाई १० वर्षपछि पार्टीमा फर्काएर ल्याएँ । म निर्णायक हुन लागें भन्ने स्थिति आएको बेलामा राजसंस्था र हिन्दू राष्ट्र विरोधी शक्तिको उक्साहटमा मलाई नै समाप्त गर्न लागियो । म विरक्त भएर राप्रपाबाट अलग भएँ । शुभचिन्तकले तिम्रो विरासत भनेकै हिन्दू राष्ट्र, राजसंस्था हो भनेपछि मैले फेरि उभिने निर्णय गरें । राप्रपा नेपाल पुनः जागृत भयो । मैले त्यस बीचमा राजसंस्थाबारे नकारात्मक टिप्पणी गरें । अहिले हेर्दा मैले गल्ती गरें भन्ने लाग्छ । घटना सत्य भए पनि राजा वा राजसंस्था यस्तो संस्था र पात्र हो, जसले आफूमाथि लागेको आरोपलाई सावर्जनिक खण्डन गर्ने हैसियत राख्दैन । त्यस्तो संस्थाबारे टिप्पणी गरेकोमा आत्मालोचना गर्छु । घटनाबाट पाठ सिकेर म परिपक्व र दीर्घकालीन ढंगले अगाडि बढ्न खोजेको छु । विभिन्न कालखण्डमा गल्ती भएका छन् । मसँग यी सबै सुधार्ने समय छैन । राजनीतिक जीवनको उत्तराद्र्धमा पुगिसकें म । मन, वचन र कर्मले अन्तिम घडीसम्म आफ्नो मान्यतामा अडिग रहन्छु ।
७० वर्ष पुग्नुभएछ, तपाईंले सक्रिय राजनीतिक जीवन छाड्न लाग्नुभएको हो ?
म कुनै बेला सोच्थें, साठी–पैसट्ठी वर्षमा राजनीतिक सक्रियता छाड्छु । तर राजनीतिबाट अवकाश हुने कुरा सही होइन रहेछ । जनताको सेवाको कुरा हो, राजनीति । विचारको कुरा हो । जीवनको अन्तिम घडीसम्म, शारीरिक सक्रियता हुन्जेल कायम रहन्छ । कार्यकारिणी जिम्मेवारी लिनेबारे चाहिं अब चाहना छैन ।
यो सक्रिय कार्यकारिणी जिम्मेवारी बिसाउने बेलामा राप्रपाका विभिन्न धाराहरू जोड्ने कि यसै राप्रपा नेपाललाई बलियो बनाउने ?
उत्तराद्र्धमा पुग्दा सानो पसल चलाउने विचार छैन । सबैलाई एक ठाउँ राखेर छाड्नुपर्छ भन्ने मान्यता छ । मैले मात्रै चाहेर हुँदैन । एकताका लागि अरू पनि तयार हुनुपर्छ । सहकार्य हुन नसके आफ्नो पार्टीलाई सशक्त अगाडि बढाउनुपर्छ ।
राप्रपाको नेतृत्व तयार भए एकता अघि बढ्न सक्छ ?
सक्छ, अवश्य सक्छ ।
तपाईं अग्रज नेता भएकाले राजेन्द्र लिङ्देन जस्तो भाइ पुस्तालाई आफैं बोलाएर कुरा गरे पनि हुन्छ नि ? किन टसमस नहुनुभएको ?
हाम्रो देशमा कस्तो परिपाटी बस्यो भने पार्टी अध्यक्ष नै सर्वेसर्वा हुने । वास्तवमा कार्यकारी जिम्मेवारी मात्रै हो । भारतमा हेर्नुस्, भाजपा अध्यक्ष जेपी नड्डा नरेन्द्र मोदी सरकारमा मन्त्री हुनुुहुन्छ । यसअघि राजनाथ सिंह पनि त्यस्तै हुनुहुन्थ्यो । त्यो जिम्मेवारी हो, लिडरसिप नै हो भन्ने हुँदैन । मर्यादागत रूपमा अघि आउने हो ।
राजावादी विचार बोक्ने दल जसको संसद्मा पनि प्रतिनिधित्व छ, त्यो राप्रपा नै हो । सबै राजावादी र हिन्दूवादीलाई एकत्रित गर्ने पहल राप्रपाकै हो ।
म राप्रपा भन्दा ठूलो राप्रपा नेपाल अध्यक्ष भएर आफूभन्दा सिनियर सूर्यबहादुर थापा, लोकेन्द्रबहादुर चन्द, पशुपतिशमशेर राणा, प्रकाशचन्द्र लोहनी, यी सबै नेतालाई एकताबद्ध गर्न अग्रसर भएँ । सफल पनि भएँ । राप्रपाबाट पहल हुनु बेस हो । तथापि जब राजसंस्था फेरि बोकेर हिंड्ने निर्णय गरें, त्यसलगत्तै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसँग एक वर्षअघि कुरा गरें, एकताका लागि । उहाँले साथीहरूसँग सल्लाह गर्छु भन्नुभएको थियो । एक वर्षसम्म कुनै जवाफ दिनुभएन ।
उहाँले अझैसम्म जवाफ दिनुभएको छैन ?
केही दिनअघि मैले नै उहाँलाई बोलाएँ । अहिलेको समयको महत्व, जनताको चाहना, राष्ट्रिय राजनीतिक आवश्यकतामा हाम्रो एजेन्डा पुनस्र्थापित हुने टड्कारो सम्भावना देखिएको परिस्थितिमा मैले फेरि बोलाएर एकताका लागि आग्रह गरें । राजेन्द्र लिङ्देनजीले तुलनात्मक रूपमा सकारात्मक जवाफ दिनुभएको छ । म आशावादी छु । पुस २७ मा राष्ट्रिय एकता दिवस मनाउने परम्परा २०६३ सालपछि राप्रपा नेपालले नै सुरु गरेको हो । प्रमुख दलहरूले राष्ट्र निर्माता पृथ्वीनारायण शाहलाई बदनाम गरे । उहाँका सालिक जताततै भत्काउने गरे ।
म विश्वास गर्छु, नेपालको भूराजनीतिक अवस्था, धार्मिक सामाजिक परिवेशको पृष्ठभूमिमा संवैधानिक राजसंस्था आवश्यक छ । मेरो जीवनकालमा राजतन्त्र आउँछ, आउँदैन मलाई थाहा छैन । तर स्वतन्त्र नेपालको इतिहास रहुन्जेल यो एजेन्डा सधैं कायम रहन्छ
सुरुको वर्ष त राजकीय जिम्मेवारीमा रहेकाको न्यून उपस्थिति रह्यो एकता दिवसमा । संविधानसभा अध्यक्ष सुवास नेम्वाङको म सम्मानका साथ नाम लिन्छु, किनभने उहाँले कतिपय विरोधका बीच पनि एकता दिवस समारोहमा आउने हिम्मत गर्नुभयो । पछि त्यो सहभागिता परम्पराका रूपमा अघि बढ्दै गयो । पछिल्ला एकता दिवसमा प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री, सबै पार्टीका अध्यक्ष पनि आउन थाल्नुभयो । मैले केही दिनअघि लिङ्देनजीसँग भेट्दा यसपल्ट एकता दिवस सँगै मनाउँ भनें । सके पार्टी एकता नै गरौं भनें । तर सायद व्यावहारिक कारण वा समय कम भएर होला, योपल्ट अलग–अलग एकता दिवस मनाउने भइयो ।
एकअर्कालाई चाहिं निम्तो गर्नुहुन्छ ?
बोलाउँछौं ।
तपाईंले लिङ्देनलाई बोलाउनुभएको छ ?
बोलाइसकेको छु । फोन गरेर फेरि सम्झाउँछु । प्रकाशचन्द्रजीलाई हिजो दिएँ, पशुपतिशमशेरजीलाई आज दिन्छु ।
लिङ्देनले ?
उहाँले पनि । कार्डै छ मेरो झोलामा । राप्रपाप्रति मेरो माया छ । त्यो पार्टीको स्थापनामा, २०६३ पछि त्यो पार्टीलाई वैचारिक नेतृत्व दिने क्रममा, पार्टीको भवन दिने क्रममा, संगठनलाई देशभरि गाउँ–गाउँमा पुर्याउन मेरो भूमिका छ । कार्यकर्ताले विगतमा अप्ठेरो बेलामा साथ दिएका छन् । अलग हुँदैमा बिर्सन सक्दिनँ ।
एकता कति समयमा होला ?
त्यो राजेन्द्र लिङ्देनजीको हातमा छ । उहाँले चाहे एक हप्तामै राप्रपा एकता हुन सक्छ । राप्रपाभित्र आफ्ना विषय होलान् । पार्टी एकता गरेर जान सकियो भने विवाद निराकरणहरूमा सहयोग पुग्छ ।
यसअघि महाधिवेशनमा लिङ्देनसँग तपाईं हार्नुभयो । अब एकता भयो भने उहाँलाई सघाउनुहुन्छ ?
किन नसघाउने ? मेरो नाममा खसेको ४७२ भोट बदर गरी २०० भोटले पराजित गराइएको हो । त्यता म जान चाहन्नँ । मैले हार सकारेर लिङ्देनजीलाई बधाई दिएको थिएँ । म तीन महिनापछि गएको हो । त्यस बेलासम्म उहाँलाई अध्यक्ष स्वीकार गरेर पत्र लेखेको छु । मानेको छुु । उहाँलाई अध्यक्ष स्वीकार्न हीनताबोध हुँदैन । हिन्दू राष्ट्र, राजसंस्था, सुदृढ स्थानीय स्वायत्त शासनको एजेन्डा बोकेर हिंड्न तयार हुने हो भने युवापीढीको नेतृत्व अझै प्रभावकारी हुन सक्छ ।
राप्रपालाई के भएको ? राजा मान्ने, एकअर्कालाई नमान्ने ?
राजनीतिक संस्कारको दोष हो । हामी पूर्वपञ्च निर्दलीय व्यवस्थामा काम गर्यौं । हामीले राजा बाहेक कसैलाई नेता मानेनौं । त्यो संस्कार अझै अलिअलि बाँकी छ । पार्टी पद्धतिमा आइसकेपछि नेतृत्वमा विश्वास राख्नुपर्ने हो । हामी संस्कारगत हिसाबले व्यक्तिवादी छौं । तर हामी सिक्दैछौं ।
पूर्वराजा ज्ञानेन्द्र त तपाईंहरूभन्दा दुर्गा प्रसाईंको ब्यानरमा हिंड्न थाल्नुभयो नि ? अनि राजपरिवारभित्र अब राजतन्त्रका लागि लड्न तयार नभए जस्तो पनि देखिन्छ । यसरी राजा आऊ भनिरहनु राप्रपाहरूका लागि कारुणिक पर्खाइ भएन ?
तपाईंले ठिक कुरा गर्नुभयो । म स्पष्ट पारौं । विगतमा राप्रपा नेपाल वा राप्रपाः हामीले नेपालमा संवैधानिक राजसंस्था सहित प्रजातन्त्र चाहिन्छ भन्ने विचार बोकेका छौं । यो राजाले विचार बोकेको संगठन होस् भनेर राप्रपा वा राप्रपा नेपाल बनेको होइन । २०४६ को आन्दोलनपछि अलपत्र परेका पूर्वपञ्चलाई सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्दले एकत्रित गर्नुभयो । कांग्रेसले विधानमा राजाको वैधानिक नायकत्व सहित प्रजातन्त्र मानेको थियो । कम्युनिष्ट गणतन्त्रवादी भए पनि संवैधानिक राजतन्त्रमै थिए । २०६२–६३ को आन्दोलन कहाँबाट प्रायोजित थियो, कसरी भयो भन्ने लामो पृष्ठभूमि छ । म त्यसबेला गृहमन्त्री भएकाले सबै जानकारी छ । अझै गृहको रेकर्डमा होला । राजालाई एम्बुसमा पारेर अलग गरियो । सबै छाडेर गए । मैले सत्य देखिरहेका नेताले सत्यको पक्षमा उभिएको हो । राजा सक्रिय हुने वा नहुने कुरासँग हाम्रो सिद्धान्तको फरक पर्दैन । म विश्वास गर्छु, नेपालको भूराजनीतिक अवस्था, धार्मिक सामाजिक परिवेशको पृष्ठभूमिमा संवैधानिक राजसंस्था आवश्यक छ । मेरो जीवनकालमा राजतन्त्र आउँछ, आउँदैन मलाई थाहा छैन । तर स्वतन्त्र नेपालको इतिहास रहुन्जेल यो एजेन्डा सधैं कायम रहन्छ ।
पूर्वराजाले किन तपाईंहरूसँग भर नगरेर प्रसाई जस्तो प्रश्नै–प्रश्नको दायरामा रहेको व्यक्तिलाई साथ दिनुभएको ?
राजा सबैको साझा हो । पार्टीका कार्यक्रममा राजा सहभागी भएको मलाई थाहा छैन । दुर्गा प्रसाई, केशर विष्ट वा कुनै व्यक्तिले नागरिक अभिनन्दन जस्ता कार्यक्रममा निम्ता गर्दा राजा सहभागी हुने गरेको मैले देखेको छु । पार्टीको ब्यानरमा राजा आउने कुरो पनि होइन । कांग्रेस, एमाले, माओवादी आबद्ध व्यक्तिले, चिनिएका चर्चित नेताले आयोजना गरेका सार्वजनिक धार्मिक कार्यक्रममा राजा सहभागी भएको मैले देखेको छु । राजाले प्रसाईलाई समर्थन गरेको निष्कर्ष निकाल्न पर्दैन भन्ने मलाई लाग्छ ।
एमालेसँग खास चरणमा तपाईं सहकार्य गर्ने गर्नुहुन्छ । प्रधानमन्त्री केपी ओलीको विगतको क्याबिनेटमा तपाईं उपल्लो तहको मन्त्री रहनुभयो । २०७९ को आम चुनावमा तपाईं आफ्नो चिह्न छाडेर एमालेको सूर्य लिएर लड्नुभयो । कतिपयले त तपाईं एमालेमै जाने पनि लख काट्छन् । तपाईंको एमालेलाई हेर्ने दृष्टिकोण के छ ?
एमाले साम्यवादी पार्टी हो, यद्यपि त्यस साम्यवादी विचारमा ठूलो विचलन छ । राष्ट्रियताको सवालमा भने एमालेसँग हामी अलि निकट महसुस गर्छौं । एमालेसँग मेरो दुईपल्ट सहकार्य भयो । २०५३/५४ सालमा एमालेको सहयोगमा लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्री हुँदा म परराष्ट्र मन्त्री थिएँ । म विद्यार्थी जीवनदेखि नै कुनै दिन सरकारमा पुगेमा भारतसँग १९५० को शान्ति तथा मैत्री सन्धिलाई विस्थापित गरी नयाँ सन्धि बनाउँछु भन्ने लागेको थियो । म परराष्ट्र मन्त्री भएपछि अघि बढाउन खोज्दा एमालेले धेरै ठूलो सहयोग गर्यो । हामी करिब परिवर्तनको सँघारमा पुग्दा विभिन्न कारणले त्यो रोकियो । दोस्रोपल्ट केपी ओलीको नेतृत्वमा २०७२ मा सरकार बन्दा म उपप्रधान र परराष्ट्र मन्त्रीमा सहभागी भएँ । भारतले आर्थिक नाकाबन्दी लगाएको थियो, मधेशमा आन्दोलनको आगो बलिरहेको थियो । ओलीजीले मलाई दुवै कामको जिम्मा दिनुभयो । मधेशी दलहरूसँग वार्ता गर्न, अनि भारतसँग नाकाबन्दी अन्त्यको जिम्मेवारी यी दुवै काममा उहाँको विश्वास प्राप्त गरेर, राष्ट्रिय स्वाभिमानमा एकइन्च तल–माथि नगरी सफल बन्यौं । चीनसँग रेल, तेल, बिजुली दीर्घकालीन व्यापार पारवहन सन्धिमा ऐतिहासिक हस्ताक्षर गर्ने सौभाग्य मैले पाएँ । त्यसकारण एमालेसँग मेरो वैचारिक र व्यावहारिक निकटता रह्यो ।
मैले कांग्रेससँग २०७४ मा देशव्यापी समीकरण गर्दा पनि मेरै अनुरोधमा ओलीले झापामा लिङ्देनलाई सहयोग गर्न तयार हुनुभयो । मनोनयनको एक साताअघि आफ्नो उम्मेदवार फिर्ता बेलाएर सघाउनुभयो । मलाई पनि भन्नुभएको थियो, तपाईंलाई कांग्रेसले धोका दिन्छ । एमाले र माओवादीको सहयोगमा मकवानपुरमा जितेर आउनुस् । उहाँको हामीप्रति यस्तो सदाशय थियो । अस्ति पनि मनोनयनको एक दिनअघि भन्नुभयो, तपाईं संसद्मा आउनु जरूरी छ । तपाईंको विचार आफ्नो ठाउँमा छ । सूर्यबाट लड्नुस् ।
हामीले पार्टीमा छलफल गरेर सूर्य लिएर लड्यौं । असफल भयौं । उहाँको सदाशय भए पनि त्यो निर्णय प्रत्युत्पादक भयो । अहिले पनि हामीबीच कतिपय सवालमा निकटता छ । कांग्रेससँग निकटता छैन भन्ने होइन है ।
अब सूर्य चिह्न लिनुहुन्न ?
अब लिन्नँ । म चुनावै कतिपल्ट लडुँला र ? आफ्नै चिह्नमा लड्छु ।
तपाईंको पूर्वराजा ज्ञानेन्द्रसँग पछिल्लो भेट कहिले, कहाँ ?
२०७८ कात्तिक ११ गते निर्मलनिवासमा । हाम्रो पार्टी महाधिवेशन हुनुभन्दा तीन–चार हप्ताअघि ।
के कुरा भयो ?
अहिले छाडिदिऊँ । कतिपय कुरा बिर्सनु बेस हुन्छ ।
भेट बिर्सनलायक थियो ?
होइन, अविस्मरणीय थियो । तर त्यसपछिका कतिपय कुरा बिर्सनलायक भए । त्यो दिन त बहुत भावनात्मक कुरा भएको थियो । राजासँग म युवा विद्यार्थी अवस्थादेखि नै अधिराजकुमार ज्ञानेन्द्र, धीरेन्द्रसँग नजिक भएर काम गरेको हुँ । मेरो व्यक्तित्व निर्माणमा राजा ज्ञानेन्द्रको ठूलो योगदान छ । म २४ वर्षको हुँदा उहाँबाट संविधान सुधार सुझाव आयोगमा पठाउने काम भएको थियो ।
अहिले भेट्न चाहनुहुन्छ पूर्वराजासँग ?
राजालाई भेट्न को चाहँदैन ? जो–कोही नागरिकले भेट्न चाहन्छ नि ! बच्चादेखि बुढापाका सबैले राजालाई भेट्न चाहन्छन् ।
भेट्न चाहेको सन्देश पठाउनुभएको छ ?
अलि अगाडि पठाएको थिएँ । तपाईंले सोधिहाल्नुभयो, म भेट्न चाहन्छु भन्ने राजालाई थाहा छ । लुम्बिनीमा चोकी निमा रिन्पोचेले हजार बुद्ध भएको विशाल मन्दिर बनाउनुभएको थियो । समुद्घाटनमा राजा ज्ञानेन्द्रको उपस्थिति थियो । चोकी निमा मेरो गुरु भएकाले मलाई पनि निम्ता थियो । त्यहाँ पनि राजासँग सामान्य भलाकुसारी भयो । मैले भनें, ‘सरकार, २१ महिना भयो, मैले सरकारसँग नभेटेको !’
तस्वीर र भिडियो : चन्द्रबहादुर आले