वीरगंज । वीरगंजस्थित नारायणी क्रिकेट मैदानमा जारी जय ट्रफी मेन्स एलिट कप क्रिकेट प्रतियोगिता २०८१ अन्तर्गत नेपाल पुलिस क्लब र त्रिभुवन आर्मीबीचको खेल पनि ड्र भएको छ ।
सोमबार दोस्रो दिनको खेल सकिँदा पुलिसले लक्ष्य पूरा गर्न सकेन भने आर्मीले पनि पुलिसलाई अलआउट गर्न सकेन । नारायणी क्रिकेट मैदानमा भएको खेलमा आर्मीले दिएको १७२ रनको लक्ष्य पछ्याएको पुलिसले ४२ ओभरमा ५ विकेट गुमाएर ८८ रन मात्र बनाउन सक्यो ।
पुलिसका अमित श्रेष्ठले सर्वाधिक ३६ रन बनाए । आर्मीका आकाश चन्द र साहब आलमले २–२ विकेट लिँदा पवन कार्कीले १ विकेट लिए ।
दोस्रो इनिङमा आर्मीले अलआउट हुँदै १७५ रन बनाएर १७१ रनको अग्रता कायम गरी पुलिसलाई जितका लागि १७२ रनको लक्ष्य दिएको थियो । आर्मीका सोमपाल कामी ८२ रनमा अविजित रहे । तृतराज दासले ३४ रन बनाए । पुलिसका कुशल भुर्तेलले ४ विकेट लिँदा गुल्शन झाले ३, ललित राजवंशीले २ तथा राशिद खानले १ विकेट लिए ।
त्यसअघि ललित राजवंशी एक्लैले ७ विकेट लिएपछि टस हारेर पहिले ब्याटिङ गरेको आर्मी पहिलो इनिङमा ३४.४ ओभरमा १२१ रनमा समेटिएको थियो । कुशल मल्लले सर्वाधिक २५ रन बनाए भने भीम सार्कीले २२ र कप्तान विनोद भण्डारीले २१ रन बनाए ।
पुलिसले १२५ रन जोड्दा अलआउट भएपछि ४ रनको अग्रता बनाएको थियो । पुलिसका गुल्शन झाले सर्वाधिक ४७ रन बनाए । आर्मीका साहब आलम एक्लैले ८ विकेट लिँदा सोमपाल कामी र पवन कार्कीले १–१ विकेट लिएका थिए ।
रेड बल र ह्वाइट जर्सीको प्रयोग भइरहेको दुई दिवसीय जय ट्रफी एलिट कप माघ ३ गतेसम्म सञ्चालन हुनेछ । यस प्रतियोगितामा गत वर्ष सम्पन्न प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा शीर्ष चारमा रहेका नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, बागमती प्रदेश र मधेस प्रदेशले प्रतिस्पर्धा गरिरहेका छन् ।
सिङ्गल राउण्ड रोबिनका ६ खेलपछि शीर्ष दुई टोलीबिच माघ ३ गते फाइनल खेल हुनेछ । लिग चरणका खेल दुई दिवसीय हुनेछ भने फाइनल खेल तीन दिवसीय हुने पर्सा क्रिकेट संघका अध्यक्ष मनिष सिंहले जानकारी दिनुभयो ।