काठमाडौँ । मच्छिन्द्र फुटबल क्लबमाथि ५–१ गोल अन्तरको फराकिलो विजयी प्राप्त गर्दै थ्री स्टार क्लब ललित स्मृति एन्फा यु–१८ लिगको तेस्रो स्थानमा उक्लिएको छ ।
सोमबार अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा सम्पन्न लिग चरणको अन्तिम खेलमा थ्री स्टारलाई जित दिलाउन क्याप्टेन बोगटीले दुई गोल गरे । त्यस्तै विजय उरान, रोमन श्रेष्ठ र सुगम भुलुनको नाममा एक गोल रह्यो । मच्छिन्द्रका लागि आयुष लिम्बुको गोल सान्त्वना बन्न पुग्यो ।
जितसँगै सङ्कटा क्लबलाई उछिन्दै थ्री स्टार अङ्क तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । थ्री स्टारले २२ खेलमा ४३ अङ्क जोड्यो । सङ्कटाले आफ्नो अन्तिम खेलमा हार बेहोरे मात्र थ्री स्टारले तेस्रो स्थानमा रहेर लिग टुङ्ग्याउनेछ । बराबरी वा जितले सङ्कटाले तेस्रो स्थान सुनिश्चित पार्नेछ । सोमबारको नतिजासँगै ३७ अङ्क जोड्दै मच्छिन्द्रले पाँचौँ स्थानमा रहेर यात्रा टुङ्गायो ।
मङ्गलवार हुने लिगको अन्तिम खेलमा यसअघि नै च्याम्पियन भइसकेको नेपाल पुलिस क्लबले न्यु रोड टिम(एनआरटी)को सामना गर्नेछ भने एपिएफ फुटबल क्लबले सङ्कटाको सामना गर्नेछ ।