१४ पुस, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले जित हासिल गरेको छ । सिटीले लेस्टरलाई उसकै मैदानमा २-० गोलअन्तरले हराएको हो ।
सिटीको जितमा साभिन्हो र एर्लिङ हालान्डले एक-एक गोल गरे । दुवै हाफमा सिटीले १-१ गोल गर्यो ।
खेलको २१औं मिनेटमा साभिन्होले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा त्यसपछि थप गोल नहुँदा सिटी एक गोलको अग्रतामा रह्यो ।
दोस्रो हाफको ७४औं मिनेटमा एर्लिङ हालान्डले गोल गर्दै सिटीको अग्रता दोब्बर पारे । हालान्डले पछिल्ला ३ खेलमा गोल गर्न सकेका थिएनन् । आज गोलको खडेरी तोडेका हुन् ।
जितपछि सिटी १९ खेलमा ३१ अंकसहित अंकतालिकाको पाँचौं स्थानमा उक्लिएको छ । लेस्टर १९ खेलमा १४ अंकसहित १८औं स्थानमा छ ।
पछिल्ला चार खेलमा जितविहीन रहेको सिटीले पाँचौं खेलमा आएर पहिलो जित निकालेको छ ।