भद्रपुर, झापा । उपाधिको दाबेदार मानिएको त्रिभुवन आर्मी फुटबल क्लब झापाको बिर्तामोडमा जारी प्रथम झापा कपको क्वार्टर फाइनल खेलबाटै बाहिरिएको छ ।
सिराहाको सलहेश युवा क्लबसँग २–० गोल अन्तरले पराजित हुँदै आर्मी प्रतियोगिताबाट बाहिरिएको हो ।
झापामा हुने प्रतियोगितामा पहिलो पटक सहभागिता जनाएको सलहेशले सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ ।
सलहेशको जितमा अभि लामा र आदित्य शाक्यले गोल गरे । खेलको १८ औँ मिनेटमा अभि लामाले गोल गर्दै सलहेशलाई १–० को स्थितिमा पुर्याए । सलहेशको लागि दोस्रो गोल आदित्य शाक्यले गरे ।
आर्मीले खेलमा बल पोजिसन राखे पनि स्कोर भने गर्न सकेन । खेल अनुशासन उल्लङ्घन गरेको भन्दै रेफ्री श्याम दनुवारले आर्मीका कप्तान भरत खवासलाई खेल सकिएपछि रातो कार्ड दिएका थिए ।
खेलको प्लेयर अफ द म्याच सलहेशका अभि लामा घोषित भए । उनले नगद १० हजार रुपैयाँ पुरस्कार पाए ।
मङ्गलवारको दोस्रो क्वार्टर फाइनल खेल भारतको जिटिए दार्जिलिङ र राष्ट्रिय जागृति क्लब इटहरीबीच हुने आयोजकले जनाएको छ ।
शनिबारदेखि सुरु भएको प्रतियोगिताको फाइनल खेल पुस ८ गते हुनेछ ।
प्रतियोगिताको विजेताले नगद १० लाख तथा उपविजेताले नगद ५ लाख पुरस्कार पाउने आयोजक झापा ११ फुटबल क्लबका अध्यक्ष जलकुमार गुरुङले जानकारी दिनुभयो ।