३० मंसिर, काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले जारी स्थायी कमिटी बैठकमा आफ्नो छुट्टै कार्य योजना प्रस्ताव पेश गरेका छन् ।
२९ पृष्ठ लामो प्रस्तावलाई खनालले ‘दशौं राष्ट्रिय महाधिवेशन र हाम्रो तत्कालिक कार्ययोजना’ भनेका छन् । उक्त प्रतिवेदन मार्फत् पूर्वप्रधानमन्त्री खनालले एमाले नेतृत्वले गरिरहेको गल्ती एकीकृत समाजवादीमा दोहोरिन नदिन वैचारिक–सैद्धान्तिक कार्यक्रममै प्रष्ट भएर अघि बढ्नुपर्ने निष्कर्ष प्रस्तुत गरेका छन् ।
तर एकीकृत समाजवादीभित्र पनि एमाले नेतृत्वकै गल्ती भइरहेको अनेक उदाहरण प्रतिवेदनमा उल्लेख गरिएको छ । एमालेको गल्ती दोहोरिएको सन्दर्भलाई खनालले पार्टी विभाजनकै परिभाषाबाट थालेका छन् ।
तीन वर्षअघि एमालेबाट विद्रोह गर्दा दक्षिणपन्थी अवसरवादका विरुद्ध संघर्ष भनेपनि त्यसको पहिचान र खण्डनमा दस्तावेजहरू विकास हुन नसक्नुलाई उनले मुख्य कमजोरी मानेका छन् ।
‘विगतका तीन वर्षसम्म त्यो दक्षिणपन्थी औसरवादको परिभाषा गर्ने, त्यसका ठोस् अभिव्यक्तिहरूलाई पहिचान गर्ने, कटान गर्ने र तिनीहरूको खण्डन मण्डनका दस्तावेजहरू विकास गर्ने काम भएको छैन । त्यसले गर्दा एमाले नेतृत्वले नै गरेका गल्तीहरू हाम्रो पार्टीबाट पनि दोहोरिन पुगिरहेका छन्’, खनालको निष्कर्ष छ ।
विद्रोहलाई पुष्टि गर्न लिनुपर्ने सैद्धान्तिक–वैचारिक कार्यक्रमबारे खनालले लामै व्याख्या गरेका छन् । “हामीले यसपटक पारित गरेका दस्तावेजहरू मध्ये ‘नेपाली विशेषताको समाजवादी कार्यक्रम’ नेपाली कम्युनिष्ट आन्दोलनको इतिहासमै नयाँ कार्यक्रम हो”, प्रतिवेदनमा खनालले लेखेका छन्, “त्यो कार्यक्रमको आवश्यकता, त्यसको विकास, त्यसका अन्तरवस्तुहरू, त्यसको सैद्धान्तिक आधार, त्यसका व्यवहारिक मागहरू र त्यो कार्यक्रमलाई प्राप्त गर्ने कार्यनीतिक कार्यदिशाका बारेमा पार्टीभित्र गहन अध्ययन र विश्लेषणको आवश्यकता छ ।”
खनालले एमालेका गल्ती एकीकृत समाजवादीमा सरेको अर्को उदाहरणका रूपमा आर्थिक पारदर्शिता र पार्टीको वर्ग पक्षधरताबारे चर्चा गरेका छन् । एमालेलाई पूँजीवादी भ्रष्टताको बाटोमा हिँडेको उदाहरण दिन ब्यापारी मीन गुरुङबाट दानमा केन्द्रीय कार्यालय भवन लिने निर्णयलाई उल्लेख गरेका खनालले एकीकृत समाजवादीमा पनि यस्तो प्रवृत्ति कुनै न कुनै रूपमा छिरेकोमा चिन्ता गरेका छन् ।
‘… पछिल्लो कालमा पार्टीको राजनीतिक कार्यदिशा जति दक्षिणपन्थी बन्दै गयो आर्थिक कृयाकलपामा पनि अस्वस्थता र दक्षिणपन्थी प्रवृत्तिहरू बढ्दै गए । त्यो प्रवृत्ति विद्रोह पछि हाम्रो पार्टीमा पनि कुनै न कुनै रूपमा छिरेको छ’ प्रतिवेदनमा लेखेका छन्, ‘यस्ता प्रवृत्तिहरूबाट हाम्रो पार्टी पूर्ण रूपले मुक्त हुनुपर्छ । पार्टीको आर्थिक स्रोतलाई स्वच्छ र पारदर्शी ढंगले अघि बढाउनुपर्छ ।’
नेता एवं कार्यकर्तामा क्रान्तिकारी कार्यशैली विकास गर्ने कुरामा पनि एकीकृत समाजवादी एमालेसँग भिन्न हुन नसकेको प्रतिवेदनमा खनालले लेखेका छन् ।
‘विगतमा माले कालमा हाम्रो पार्टीभित्र धेरै राम्रो कार्यशैली थियो । एमाले बनेपछि पनि एउटा अवधिसम्म हाम्रो कार्यशैली राम्रै थियो । तर पछिल्लो अवधिमा आएर एमालेभित्र निम्न पूँजीवादी, सुधारवादी, यथास्थितिवादी, दक्षिणपन्थी विचार र प्रवृत्तिहरू ओहिरियो’ खनालको विश्लेषण छ, ‘… हाम्रो पार्टीभित्र पनि माथिदेखि तलसम्म त्यस्ता गलत शैलीहरू या त विद्रोह सँगै एमालेबाट सरेर आएका छन्, या त हामीभित्र नै … विकसित भइरहेका छन् ।’
नेता खनालले यस्ता गलत कार्यशैली सुधारलाई पार्टी निर्माणको अनिवार्य सर्त भनेका छन् । उनको तर्क छ– विगतको गल्ती सुधारले भविष्यमा हुन सक्ने गल्तीबाट जोगिन सहयोग गर्छ । ‘हामी आफ्नै गल्ती र कमजोरीहरूबाट पनि सिक्ने मौका प्राप्त गर्नेछौं र त्यस प्रकारका गल्तीहरूबाट भविष्यमा जोगिन पनि हामीलाई सजिलो हुनेछ’, प्रतिवेदनमा भनिएको छ ।
यसरी पार्टी नीति, नेताहरूको कार्यशैलीमा मात्र नभएर राजनीतिक निर्णयहरूमा पनि एमालेकरण भइरहेको चिन्ता नेता खनालले गरेका छन् । विशेषगरी सत्ता निर्माणको सन्दर्भमा एकीकृत समाजवादीले पनि भिन्न दृष्टिकोण र अडान लिन नसकेको उनले बताएका छन् ।
‘… एउटाले कांग्रेससँग एकता गर्दा अर्को यो पुच्छरवाद भयो भनेर विरोध गर्ने र फेरि आफै कांग्रेससँग एकता गर्दा त्यो स्थिरता र प्रगतिको प्रतीक भएको देख्ने प्रवृत्ति विद्यमान छ’, खनालको स्वीकारोक्ति छ, ‘… यो कुरा हाम्रो पार्टीलाई पनि लागू हुन्छ ।’
संसद उपयोगकै सन्दर्भमा पनि एकीकृत समाजवादी भिन्न नदेखिएको निष्कर्ष खनालले प्रस्तुत गरेका छन् । ‘हामीले विद्रोह गरेदेखि नै संसदलाई क्रान्तिकारी ढंगले उपयोग गर्ने नीति लिएर अघि बढ्नु पर्दथ्यो । मुख्य प्रतिद्वन्दीका विरुद्ध निशाना सोझ्याउँदै संसदबाट जता र राष्ट्रका ज्वलन्त सवालहरू हरबखत उठाउने काम संसदीय दलले गर्नुपर्छ । तर अहिलेसम्म त्यस्तो भएको छैन’, प्रतिवेदनमा भनिएको छ ।
जनआन्दोलनको प्रस्ताव
२०६२/०६३ सालको जनआन्दोलन पश्चात् पुँजीवादी–जनवादी क्रान्तिको चरण सम्पन्न भएकाले अब समाजवादी क्रान्ति तर्फ अगाडि बढ्न जनआन्दोलनको विकास गर्नुपर्ने प्रस्ताव खनालले गरेका छन् ।
जसका निम्ति सैद्धान्तिक प्रष्टता, संगठन निर्माण, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक एजेण्डा लगायतमा पार्टी नेतृत्वले काम गर्नुपर्ने खनालको प्रस्ताव छ ।
‘हामीले के कुरा बुझ्नुपर्छ भने वर्ग संघर्ष भन्दा बाहिर रहेर कम्युनिष्ट पार्टी बन्न सक्दैन । वर्ग संघर्ष मार्फत् मात्र कम्युनिष्ट पार्टी बन्न सक्छ र बनाउनुपर्छ’ खनालको प्रस्ताव छ, ‘हामीले हिलो माले र एमाले पार्टी वर्ग संघर्ष मार्फत बनाएको गहन अनुभवलाई भुल्नु हुँदैन ।’ पार्टीले उठाउनुपर्ने एजेण्डाहरूबारे खनालले विभिन्न शीर्षक राखेर विश्लेषण गरेका छन् ।
समाजवादी क्रान्तिलाई उद्देश्य बनाउनुपर्ने निष्कर्षमा नेता खनालले संसद र संसदीय निर्वाचनलाई उपयोगको नीति मान्नुपर्ने सम्मका प्रस्ताव गरेका छन् ।
‘हामीले समाजवादी क्रान्ति र रूपान्तरणको प्रकृयालाई अघि बढाइ रहँदा पुँजीवादी लोकतान्त्रिक निकायका कुनै पनि निर्वाचनहरूबाट भाग्ने काम गर्नु हुँदैन’ प्रतिवेदनमा भनिएको छ, ‘हामीले दुईवटा प्रवृत्तिबाट जोगिनुपर्छ । एउटा बुर्जुवा संसदवादके प्रवृत्ति अर्को अराजकतावादी बहिष्कारवादी प्रवृत्ति ।’
यसरी पार्टी निर्माण गरिरहँदा प्रविधिको उच्चतम प्रयोग र प्रचार कार्यलाई व्यवस्थित गर्ने सर्त अगाडि सारेका छन् । ‘प्रचार र प्रकाशन प्रभावकारी भएन भने कुनै पनि पार्टीको वैचारिक–राजनीतिक विकास र विस्तार संभव हुँदैन’, प्रतिवेदनमा भनिएको छ । जसका लागि पत्रपत्रिका, अनलाइन, यूट्यूब जस्ता प्रविधिका प्रयोग आवश्यक ठानिएको छ ।
समाजवादी क्रान्तिको कार्यभार बोक्न सक्ने संगठन निर्माण गर्न खनालले केही ठोस् प्रस्तावहरू राखेका छन् । जसमा कतिपय त स–साना तत्कालीक कार्यक्रम पनि छन् ।
जोड भने पार्टी सदस्य बनाउने, प्रशिक्षित गर्ने र उनीहरूको रेखदेख गर्नुपर्नेमा छ । ‘हामीले एक वर्षभित्रमा पार्टी सदस्यहरूको संख्या कम्तिमा ४ लाख ५० हजार पुर्याउन सकिन्छ । यो विकास र विस्तार भनेको क्रान्तिकारी विकास र विस्तार हो’, प्रतिवेदनमा लेखिएको छ ।
उनले पूर्णकालीन कार्यकर्ताको अवधारणा पनि ल्याएका छन् । कार्यकर्ता नीति बनाएरै पूर्णकालीन र आंशिक कार्यकर्ता उत्पादन गर्नुपर्ने उनको सुझाव छ, ‘… यतिबेला पूर्णकालीन र अंशकालीन कार्यकर्ताको ब्यापाक पंक्ति निर्माण गर्नुपर्छ ।’
पार्टी सदस्य बनाउने सन्दर्भमा खनालले कार्यकर्ताको पारिवारिक र आर्थिक स्थितिबारे गहिरो अध्ययन गरिनुपर्ने प्रस्ताव गरेका छन् । ‘कतिपय कमरेडहरू रोगग्रस्त वा गम्भीर शारिरीक समस्याले ग्रस्त बनेका हुन सक्छन् । कार्यकर्ताहरूलाई त्यस्तो समस्याको तनाबबाट मुक्त बनाइरहनुपर्छ’, उनको प्रस्ताव छ, ‘तब मात्र कार्यकर्ता पंक्तिले आफूलाई संरक्षित महसुस गर्छन् र ताजा र जागरुक दिमाग लिएर काममा खट्न सक्छन् ।’
समाजवादी आन्दोलन र एकीकृत समाजवादीलाई बलियो बनाउन पूर्वप्रधानमन्त्री खनालले सांस्कृतिक रूपान्तरणको अभियानमा जोड दिनुपर्ने तर्क गरेका छन् । ‘हामीले विगत २०३० र ४० को दशकमा संकल्प सांस्कृतिक परिवारले र अन्य त्यस्तै संस्थाहरूले जनवादी सांस्कृतिक आन्दोलनलाई बडो प्रभावकारी ढंगले अभिप्रेरित गरेको कुरलाई बिर्सनु हुँदैन’ प्रतिवेदनमा लेखिएको छ, ‘त्यसरी नै अहिले सामाजवादी सांस्कृतिक आन्दोलनलाई अघि बढाउन सशक्त भूमिका खेल्नुपर्ने आवश्यकता छ ।’
समाजवादी मोर्चा तत्काल असंभव
पूर्वप्रधानमन्त्री खनालले तत्काल समाजवादी मोर्चा संभव नरहेको निष्कर्ष प्रस्तुत गरेका छन् । मोर्चा अस्थायी हुने र साझा एजेण्डाका निम्ति बनाइने भएकाले तत्काल कुनै मोर्चा संभव नरहेको उनको निचोड छ ।
‘अहिलेको अवस्थामा त्यस्तो कराजनीतिक संयुक्त मोर्चा बन्ने सम्भावना देखिदैन । तर कार्यकर्ता एकताका प्रक्रियाहरू अघि बढाउन सकिने सम्भावनाहरू प्रबल छन्’, खनालले लेखेका छन् ।
साझा एजेण्डामा मोर्चाबन्दी बन्ने उदाहरणका रूपमा नेता खनालले २०४६ सालको संयुक्त वाम मोर्चा र २०६२/०६३ सालको सात दलको संयुक्त मोर्चालाई सन्दर्भ बनाएका छन् । तर अहिले कुनैपनि त्यस्तो साझा एजेण्डा नभएकाले एकीकृत समाजवादी प्रष्ट भएर अगाडि बढ्नुपर्ने खनालले प्रतिवेदनमा लेखेका छन् ।
माओवादी नेतृत्वमा विगतमा बनेको समाजवादी मोर्चाप्रति पनि उनले असन्तुष्टि जनाएका छन् । ‘… विभाजित वामा समूहहरूलाई एकताबद्ध गर्नुपर्छ भन्ने नाउँमा केही समय अघि समाजवादी मेर्चा बनाउने प्रयत्न पनि देखापर्यो । त्यो एउटा अपरिपक्क अभ्यास बाहेक केही थिएन’, प्रतिवेदनमा लेखिएको छ, ‘समाजवादी मोर्चा नै बनाउने हो भने सबैभन्दा पहिले वैज्ञानिक समाजवादको कार्यक्रममा त सहमति हुनै पर्यो नि ।’
यद्यपि उनले उपयुक्त आधार तयार हुँदा अस्थायी मोर्चादेखि स्थायी वाम एकतासम्म जाने खुला रहनुपर्ने प्रस्ताव गरेका छन् ।