Monday, December 16, 2024
घरसमाचारफिल्म ‘बमबहादुर’बारे सौगात मल्ल : यसमा दर्शकले आफ्नै कथा देख्नेछन्

फिल्म ‘बमबहादुर’बारे सौगात मल्ल : यसमा दर्शकले आफ्नै कथा देख्नेछन्

काठमाडौं । पुस ५ गतेदेखि नेपाल र भारतमा एकसाथ रिलिज हुन लागेको फिल्म ‘बमबहादुर’लाई आइतबार इटहरीमा पत्रकार सम्मेलन गरिएको छ । सो अवसरमा निर्देशक, निर्माता र कलाकार सहभागि रहे ।

पूर्वी नेपालमा सक्रिय पत्रकारसँगै दार्जिलिङ, सिलिगुडी लगायतका नेपाली भाषाका सञ्चारमाध्यमका पत्रकारको समेत उपस्थितिमा भएको समारोहमा कलाकारले आफ्नो अनुभव साटासाट गरेका थिए । सो क्रममा अभिनेता सौगात मल्लले यसको आफ्नै जस्तो लागेको र यसले दर्शकको मन जित्ने विश्वास व्यक्त गरे ।

‘बमबहादुर’ फिल्मले सन् १९८६ मा दार्जिलिङमा भएको गोर्खाल्यान्ड आन्दोलनको पृष्ठभूमिमा मानव जीवनका आरोह–अवरोहलाई पर्दामा उतारेको छ । यसले भारतका नेपाली, विशेष गरी दार्जिलिङ पहाड र छिमेकी क्षेत्र डुअर्समा बसोबास गर्ने नेपाली समुदायको संघर्षका पलहरूलाई मार्मिक ढङ्गले चित्रण गरेको पत्रकार सम्मेलनमा बताइयो ।

लेखक तथा निर्देशक जोन राईले फिल्म बनाउनुको उद्देश्य आफ्नो इतिहास नबिर्सौँ भन्ने रहेको बताए । फिल्मको महत्वलाई उजागर गर्दै राईले भने, ‘अर्को उद्देश्य भनेको अब त्यस्तै प्रकारको आन्दोलन नहोस् । भिन्न प्रकारको शिक्षित समाज बनोस् तथा खुकुरी र बन्दुकले होइन दिमागले आन्दोलन गरौँ भन्ने हो ।’

अभिनेता मल्लले फिल्ममा दर्शकले आफ्नै कथा देख्ने बताए । ‘मलाई विश्वास गरी यो पात्रको लागि छनोट गर्नुभएकोमा निर्देशक निर्मातालाई धन्यवाद छ । स्क्रिप्ट पढ्दा मलाई आफ्नै कथा जस्तो महसुस भएको थियो’ उनले भने, ‘म निकै भावुक भएको थिएँ र तुरुन्तै मैले यो कथामा काम गर्छु भनेर सोच्न खासै समय लगाइन । नेपालमा बस्ने जतिले पनि यो चलचित्र हेर्नुहुन्छ, यसको कथा आफ्नै हो जस्तो लाग्छ भन्ने लाग्छ ।’

उनले अगाडि भने, ‘यो कथा कसरी बुन्न सकिन्छ होला भन्ने थियो । यो चलचित्र राम्रो बनेकोले हामी सबैको मन जित्ने विश्वास छ । मेरो पात्र रोचक छ, सायद यस्तो पात्रमा मैले अहिलेसम्म काम गरेको छैन ।’

अभिनेत्री अनिशा रसाइलीले यो फिल्मले हामी सबैको एउटै कथा हो भन्ने पक्षलाई उजागर गर्ने बताइन् । ‘म सिक्किमको भएकोले मलाई त्यति धेरै आइडिया थिएन, जब म यो फिल्म सुट गर्न थालेँ, त्यो लोकेसनमा पुरानो समयमा समस्या भोग्नु भएकाहरूको कुरा सुन्दा डरलाग्दो थियो । मेरो अनुरोध छ कि यो फिल्म जरुर हेर्दिनूस् र त्यो पीडालाई महसुस गर्नुस् । हामी सबै एउटै हौँ’ रसाइलीले भनिन् ।

कलाकार शान्तिला तामाङले यस फिल्मबाट आफूले ठूलो आशा बोकेको बताइन् । दार्जिलिङ निवासी उनले भनिन्, ‘नेपाललाई दुःख हुँदा हामीलाई पनि दुख्छ । चलचित्रमा जुन कथा उठाएका छौँ यसले नेपालीलाई पक्कै छुन्छ ।’

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -