१३ मंसिर, काठमाडौं । दुई वर्षअघि प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदा काठमाडौं उपत्यकामा पाँच सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले यसपटक कीर्तिपुर नगरपालिकामा उम्मेदवारी नै दिन सकेन ।
तनहुँ, चितवन, बारा र इलाममा सात महिना भएको उपनिर्वाचनमा समेत उत्साहजनक स्थितिमा रहेको रास्वपाले यसपटक चाहिँ राजधानीकै पालिकामा कसैलाई उम्मेदवार बनाउन नसक्दा पार्टीभित्रै असन्तुष्टि छ ।
उम्मेदवारी नदिएपनि बिहीबार अवेरसम्म कोही स्वतन्त्र उम्मेदवारलाई समर्थनको निर्णय आउनसक्ने कतिपय रास्वपा नेताहरुकै भनाइ थियो । तर, पार्टीले कसैलाई समर्थन गर्ने निर्णय समेत लिन नसकेको रास्वपा कीर्तिपुरका नगरपालिकाका सभापति जयराम कार्कीले अनलाइनखबरलाई बताए । उनले रास्वपा के कारण अनिर्णित बन्यो भन्ने चाहिँ बताएनन् ।
स्रोतका अनुसार, पछिल्लो समय रास्वपाले कीर्तिपुर नगरपालिकामा मेयर पदको दौडमा रहेका स्वतन्त्र उम्मेदवार सरसफाई अभियन्ता राजमान मानव र वातावरण विज्ञानका जानकार डा. नवरथ बानियाँ दुवैसँग समानान्तर रुपमा संवाद गरिरहेको थियो ।
रास्वपाका एक नेताका अनुसार, स्थानीय स्तरमा राम्रो पकड भएका मानवले स्वतन्त्रबाट निर्वाचित मेयर हर्क साम्पाङ, काठमाडौंका मेयर बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सबैसँग सहयोग गरिदिन भन्दै अनौपचारिक संवाद अघि बढाएका थिए । त्यही क्रममा साम्पाङ उनलाई भोट माग्न ९ मंसिरमा काठमाडौं आए, दुई दिन बसेर धरान फर्किए ।
मानवका पक्षमा साम्पाङ उत्रिएपछि रास्वपाले बानियाँतिर सम्वाद बढाएको थियो ।
कीर्तिपुर नगरपालिका वडा नं. ९ का स्थायीवासी बानियाँले जर्मनीबाट आफ्नै ठाउँमा केही गर्ने भन्दै फर्किएको भन्दै चुनाव प्रचारप्रसार थालेका थिए । त्रिभुवन विश्वविद्यालयको केन्द्रीय वातावरण विभागमा काम गरिसकेका उनी पछिल्लो समय प्राध्यापनमा सक्रिय थिए ।
‘उहाँको पृष्ठभूमिका कारण समेत समर्थन गर्नु उचित हुन्छ भन्ने लागेको थियो’, रास्वपाका एक नेताले थपे, ‘तर, पछिल्लो समय राजमान मानवको पक्षमा देखिएको समर्थन हेर्दा बानियाँलाई समर्थन गरेर पनि खासै फरक हुने जस्तो देखिएन ।’
अन्तिममा पार्टी राजमान र बानियाँ दुवैलाई सहयोग गर्न नसक्ने स्थितिमा पुगेको ती नेताले बताए । त्यसो त सहकारी ठगी आरोपमा जिल्ला प्रहरी कार्यालय, कास्कीको हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेले समेत कीर्तिपुरको उम्मेदवारीबारे स्पष्ट निर्देशन नदिएको कतिपय नेताको भनाइ छ ।
स्रोतका अनुसार, सभापति लामिछाने कीर्तिपुरमा माओवादी केन्द्रका उम्मेदवार प्राध्यापक डा. शिवशरण महर्जनलाई समर्थन गर्नुपर्ने पक्षमा थिए । कांग्रेस–एमाले गठबन्धनको सरकार बनेपछि माओवादी–रास्वपा विपक्षी मोर्चामा पुगेका थिए । त्यतिबेला एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले आफूविरुद्ध सहकारी ठगीमा मुद्दा चलाउने संकेत पाएपछि उनले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को साथ खोजेका थिए ।
रविको प्रस्ताव अनुसार, माओवादी अध्यक्ष प्रचण्डले पनि १ कात्तिकमा नयाँ बानेश्वरमा प्रतिपक्षी दलहरुको बैठक राखे । बैठकले माओवादी केन्द्रका उपमहासचिव शक्तिहादुर बस्नेत, नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डे र रास्वपा नेता शिशिर खनाल रहेको कार्यदल गठन गर्यो ।
आफ्नो सम्भावित गिरफ्तारीलाई लक्षित गरेर रविले सरकारमाथि दबाबमा बढाउन संयन्त्र बनाउने प्रस्ताव गरेपनि निर्णय सार्वजनिक हुँदा प्रहरीले लामिछानेविरुद्ध अदालतबाट पक्राउ अनुमति लिइसकेको थियो ।
तीन दिनपछि माओवादी अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, रास्वपा उपसभापति डोलप्रसाद अर्याल लगायतले बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षण पत्र बुझाए । यद्यपि, ओलीले त्यस भेटमा सहकारी ठगीमा जोसुकै संलग्न भएपनि तिनलाई उन्मुक्ति नदिइने अभिव्यक्ति दिए ।
लामिछानेले प्रचण्डको पहलमा आफ्नो पक्षमा प्रदर्शनको समेत अपेक्षा गरे । विपक्षी दल माओवादीले १० कात्तिकमा काठमाडौंमा शक्ति प्रदर्शन समेत गर्यो । सोचेभन्दा बढी मानिसहरुको उपस्थितिपछि प्रचण्डले यसलाई सरकारविरुद्ध खबरदारी सभा भएको बताए ।
यद्यपि, मुद्दाको अन्तिम किनारा नलागुञ्जेल प्रचण्डबाट साथ पाउने अपेक्षामा रविले प्रचण्डलाई सहयोग गर्ने मनस्थितिमा देखिएको रास्वपाका एक केन्द्रीय सदस्य बताउँछन् । ‘कीर्तिपुरमा उम्मेदवार नै नपाउने स्थिति नै होइन’, ती नेताले भने, ‘कीर्तिपुरका सभापति जयराम कार्की स्वयम् मेयरमा लड्न इच्छुक थिए, उनी सिफारिस समेत भएका थिए ।’
काठमाडौं जिल्ला सभापति प्रदीप विष्टले समेत काठमाडौं नं. १० मा प्रतिनिधिसभा सदस्य निर्वाचनमा उठ्दा ८ हजार ७३९ मत ल्याउँदै तेस्रोमा स्थान बनाएका थिए । उनलाई सबैभन्दा बढी मत कीर्तिपुर क्षेत्रबाटै आएको थियो । त्यसैले उनलाई समेत कीर्तिपुरमा उठाउन सक्ने विकल्पबारे पार्टीमा छलफल भएको थियो । भलै विष्टले सुरुमा पालिकाको मेयरमा उठ्न अस्वीकार गर्दै आएका थिए ।
‘यस्तोमा रास्वपाले उम्मेदवार नै नपाएको भन्ने विषयमा सत्यता थिएन’, रास्वपा स्रोत भन्छ, ‘जम्मा–जम्मी प्रचण्डको साथ हेरेर कीर्तिपुरमा उम्मेदवारी नदिने निर्णय भएको थियो ।’
२०६४ र २०७० मा चुनाव लडेको कीर्तिपुरमा प्रचण्ड यसपटक जित निकाल्न चाहन्थे । त्यसैले उनले रास्वपाको साथ खोजेका थिए । माओवादी स्रोतका अनुसार, रविले समेत सहयोग गर्ने आश्वसन दिएका थिए । प्रचण्डले पनि रविको पक्षमा अभिव्यक्ति दिइरहेका थिए ।
प्रचण्ड नेतृत्वकै सरकारले लामिछानेलाई पहिले राहदानी ऐन विपरितको कसुरमा उन्मुक्ति दिएको थियो । प्रचण्ड सरकारका तत्कालीन महान्यायाधीवक्ता दिनमणि पोखरेलले लामिछानेमाथि लागेको आरोप पुष्टि हुन नसक्ने भन्दै मुद्दा नचल्ने निर्णय गराएका थिए ।
जानकारहरुका अनुसार, पक्राउ पूर्जी जारी भएलगत्तै ‘सरकारलाई झुठो पर्यो’ भन्दै दिएको अभिव्यक्ति र पुत्ला दहन समेत गरिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीसँग रविको थप तिक्तता बढेको छ । यस्तोमा मुद्दाको अन्तिम किनारा नलागुञ्जेलसम्म प्रचण्डको साथ चाहिने भएपछि लामिछानेले कीर्तिपुरमा माओवादी उम्मेदवारलाई समर्थन गराउन खोजेका थिए ।
तर, रास्वपाका अन्य नेताहरु माओवादी उम्मेदवारलाई समर्थन गर्न तयार देखिएनन् । ‘माओवादीलाई समर्थन गर्ने घोषणा गर्नु भनेको थप जतमत घटाउनु हो भन्ने धेरै साथीहरुको भनाइ रह्यो’, रास्वपाका एक सांसद्ले भने, ‘यस्तोमा माओवादीलाई सहयोग गर्ने औपचारिक निर्णय हुनु त असम्भव जस्तै थियो ।’
अन्तिममा रास्वपाले ‘स्थानीय मतदातालाई विवेक प्रयोग गर्न दिने’ भन्दै कसैलाई समर्थन नगर्ने निर्णय लिएको छ । तर, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवहाक प्रवक्ता मनिष झाले भने माओवादीले औपचारिक रुपमै समर्थनको प्रस्ताव राखेपनि पार्टी नीति अनुरुप सहयोग नगरिएको जिकिर गरे ।
‘पार्टी सभापतिज्यूले २ असोजमा काठमाडौंमा राजनीतिक प्रतिवेदन नै पेश गरेर दलिय समिकरण गर्दैनौं भन्नुभएको थियो, त्यसअनुसार हामी सत्तापक्ष र प्रतिपक्षको कित्ताकाटमा नगएका हौं’, झाले अनलाइनखबरसँग भने, ‘फेरि उपनिर्वाचन हुन लागेको १५ स्थानमा रास्वपाले उम्मेदवारी नदिएकाले कुनै ठाउँमा समर्थन गर्ने कतै नगर्ने विषय रणनीतिक रुपमा पनि आलोकाँचो जस्तो हुन्थ्यो भन्ने बुझाइ रह्यो ।’ यसबाहेक कीर्तिपुरमा कसैलाई समर्थन नगर्नु पछाडि अन्य कुनै कारण नभएको झाले जिकिर गरे ।