आर्टिफिसियल इन्टेलिजेन्सको अग्रणी कम्पनी ओपन एआईले आफ्नै इन्टरनेट ब्राउजर लञ्च गर्ने योजना बनाइरहेको छ ।
द इन्फरमेसनको एक रिपोर्ट अनुसार उक्त ब्राउजर ओपन एआईको च्याटबटको साथमा एकीकृत हुनेछ । साथै त्यसले प्रयोगकर्तालाई अझै उत्कृष्ट तथा सटिक उत्तर प्रदान गर्नेछ । ओपन एआईले सुरु गर्ने इन्टरनेट ब्राउजरको सिधा टक्कर गुगल क्रोमसँग हुने बताइएको छ ।
ओपन एआईले हालै आफ्नो सर्च इन्जिन SearchGPT लञ्च गरेको थियो । यो सर्भिस च्याट जिपिटीका प्रिमियम प्रयोगकर्ताका लागि उपलब्ध छ । यो कदम ओपन एआई कम्पनीलाई गुगल जस्ता प्रविधि क्षेत्रका दिग्गज कम्पनीसँग प्रतिस्पर्धामा उतार्ने दिशामा एउटा ठूलो प्रयासको रुपमा हेरिएको छ ।
आफ्नै ब्राउजर लञ्च गरेसँगै ओपन एआई थप शक्तिशाली हुनेछ, किनकि यसले च्याटबट र एआईमा आधारित दुवैखाले सर्चको एकीकृत अनुभव प्रदान गर्नेछ ।
ओपन एआईले आफ्नो योजनाअन्तर्गत विभिन्न एप डेभलपर्स तथा वेबसाइट (जस्तै Conde Nast, Redfin, Eventbrite तथा Priceline) सँग आफ्नो ब्राउजर प्रोटोटाइप शेयर गरेको छ । उक्त नयाँ ब्राउजरको मूख्य ध्येय गुगल क्रोमभन्दा फरक तथा नयाँ अनुभव प्रदान गर्नु रहेको छ ।
गुगलका लागि चुनौतीपूर्ण समय
गुगलका विरुद्धमा चलिरहेको अमेरिकी न्याय विभागको मुद्दाले ओपन एआईलाई एउटा गज्जबको मौका प्रदान गरेको छ ।
विभागले हालै गुगलमाथि इन्टरनेट सर्च बजारमा एकाधिकार कायम राखेको आरोप लगाएको छ र कम्पनीलाई गुगल क्रोम बेच्ने सुझाव दिएको छ ।
अमेरिकी ब्राउजर बजारमा ५० प्रतिशत बजार हिस्सा ओगटेको गुगल क्रोम नै गुगल सर्च वितरणको मूख्य माध्यम हो । उक्त मुद्दाले गुगलको बजार पकड कमजोर पर्न सक्दछ, जसले ओपन एआईका लागि ठूलो सम्भावना पैदा गर्नेछ।