हुम्ला । हुम्लाको खार्पुनाथमा बेलीब्रिज बन्ने प्रक्रिया अघि बढेको छ । कर्णाली करीडोर अन्त्रगत नेपालगञ्जबाट सिधै हिल्सा हुँदै मानसरोवर जानको लागि खार्पुनाथ स्थित सुवाखोलामा पुल नबन्दा सवारी साधनहरू खार्पुनाथ सम्म मात्र जाने गरेका छन् ।
यस अघि पटक पटकपक्की पुल बनाउने ठेक्का प्रक्रिया अघि बढाउन सुरु गरिएको भएपनि तलबाट निस्किने तातोपानीका कारण अहिले सम्म पुन बन्न नसकेको अवस्थामा जिल्लाका सम्पुर्ण राजनीतिक दलहरूले नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवाली मार्फत र कर्णाली प्रदेश सरकारका मुख्य मन्त्री यामलाल कँडेललाई ज्ञापन पत्र नै बुझाएका थिए ।
सोही अनुसार सङ्घीय सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मिति २०८१ साल कार्तिक २० गतेका दिन टिप्पणी आदेश उठाई पुलको अभावमा राष्ट्रिय राजमार्गको पहुँच बाहिर रहेको सिमकोट जोडने साढे ४८ मिटर लामो बेलिब्रिजको सम्पूर्ण सामाग्री भौतिक मन्त्रालयले उपलब्ध गराउने र ढुवानी तथा जडानलाई द्रुतगतिमा सम्पन्न गर्न रक्षा मन्त्रालय मार्फत नेपाली सेनालाई जिम्मा दिने निर्णय भएसँगै अब बेलिब्रिज निर्माणले गति लिने भएको हो ।
असोज ३० गते हुम्ला पुग्नुभएका नेकपा एमाले उपमहासचिव प्रदीप ज्ञवालीले खार्पुनाथ पुलसँगै मानसरोवर जाने सडक र लिमि लाप्चा मार्फत कैलाश पर्वतको दर्शन गर्न जाने सडकको अनुगमन गर्नु भएको थियो, सोही अवसर पारी जिल्लाका राजनीतिक दलहरूले सामूहिक ज्ञापन पत्रको १ नम्बरमा खार्पुदोभानमा बेलीब्रिजको माग राखिएको थियो ।
त्यस लगतै उपमहासचिव पौडेलले कार्तिक १४ गते प्रधानमन्त्री केपी शर्मा वलीलाई ज्ञापन पत्र बुझाउँदै यथाशीघ्र सडक निमार्णको आवश्यकताबारे ध्यानाकर्षण गर्नुभएको थियो ।
कार्तिक १३ गते हुम्ला पुग्नुभएका मुख्यमन्त्री कँडेल ले जिल्ला स्थित राजनीतिक दल र जिल्लाका सम्पुर्ण कार्यालय प्रमुखहरूको बैठक बोलाई सुझाव लिने क्रममा पनि तत्काल बेलीब्रीज निर्माण गर्दिन ध्यानाकर्षण गर्नुभएको थियो ।