काठमाडौँ । बागमती प्रदेशले नरेश श्रेष्ठ स्मृति यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेको छ ।
विराटनगरस्थित गिरिजाप्रसाद कोइराला क्रिकेट मैदानमा सोमबार बागमतीले गण्डकी प्रदेशविरुद्ध १०० रनको सानदार जित निकाल्यो । जितसँगै बागमतीले दुई अङ्क जोडेको छ । पहिलो पराजय बेहोरेको गण्डकीको दुई खेलबाट समान अङ्क छ ।
बागमती प्रदेशले प्रस्तुत गरेको २३० रनको लक्ष्य पछ्याएको गण्डकी ३६ ओभरमा १२९ रनमै समेटियो । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको बागमतीले निर्धारित ५० ओभरमा पाँच विकेट गुमाउँदै २२९ रनको योगफल तयार पारेको थियो ।
सोमबारै सम्पन्न पहिलो खेलमा लुम्बिनीले सुदूरपश्चिमविरुद्ध ४१ रनको जित निकाल्यो । जितसँगै लुम्बिनीले दुई खेलमा चार अङ्क जोडेको छ । लुम्बिनीले प्रस्तुत गरेको १५७ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ३५.४ ओभरमा ११५ रनमा समेटियो । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले ३८.५ ओभरमा सबै विकेट गुमाउँदै १५६ रनको योगफल तयार पारेको थियो ।