Wednesday, November 27, 2024
घरसमाचारदम्पती हत्या घटनापछि गाउँ त्रसित,अपराधी अझै लागेन पत्ता

दम्पती हत्या घटनापछि गाउँ त्रसित,अपराधी अझै लागेन पत्ता




कञ्चनपुर। कञ्चनपुरको लालझाडी गाउँपालिका वडा नम्बर १ बिनवारीस्थित सुख्खडघाट बस्ने ४६ वर्षीय रमेश वडायक र उहाँकी पत्नी ४३ वर्षीया कमला वडायकको यही कार्तिक ९ गते शुक्रबार बिहान आफ्नै घरको आँगनमा कसैले हत्या गरेको अवस्थामा शव फेला परेको थियो ।

खबर पाए लगत्तै प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान थालिएको भए पनि अहिलेसम्म घटनामा संलग्न अभियुक्तलाई सार्वजनिक गरिएको छैन । मृतक वडायक दम्पतीको शव परीक्षण गरेर शनिबार दिउँसो अन्तिम दाहसंस्कार पनि गरिएको छ । तर घटनाको चार  दिनसम्म पनि अभियुक्त सार्वजनिक नगरेको प्रहरीले अहिलेसम्म के के गर्‍यो ? गाउँमा शान्ति सुरक्षा खलबलिँदा फैलिएको त्रास कसरी कम गर्न सकिएला ? यी प्रश्न र जिज्ञासा को उतर स्थानीयले अझैसम्म पाएका छैनन् । 

घटनापछि उक्त गाउँ एकातर्फ शोकमा डुबेको छ भने अर्कोतर्फ त्रास समेत फैलिएको छ । गत विगतमा सामान्य झैझगडा बाहेक गाउँमा यस्तो जघन्य आपराधिक घटना नभएको बताउने स्थानीय बासिन्दाहरूले अब भने सुरक्षा चुनौती थपिएकोमा चिन्ता व्यक्त गर्नुभयो । उक्त गाउँमा पहिलेदेखि नै प्रहरी बिट स्थापनाको माग राखे पनि अहिलेसम्म सुनुवाइ नभएको लालझाडी गाउँपालिका वडा नम्बर १ का  वडाध्यक्ष प्यारेलाल रानाको भनाइ छ ।  भलमन्सा समिति लालझाडीका अध्यक्ष अतिराम चौधरीले उक्त गाउँमा प्रहरी बिट भए पनि अनिवार्य चाहिने र शान्ति सुरक्षा हुनुपर्नेमा जोड दिनुभयो ।

बडायक दम्पतीले गाउँको घरभन्दा झण्डै डेढ किलोमिटर टाढा जङ्गल किनारको एक्लो घरमा नास्ता पसल चलाउँदै आउनु भएको थियो । बडायक दम्पती पसलकै बाहिर बरण्डामा सुतेको मौका छोपी धारिलो हतियार प्रयोग गरेर हत्या गरेको देखिन्छ । घटनास्थलको प्रकृति हेर्दा बरण्डामा सुत्ने खाट नजिकै कमलाको शव रगताम्मे अवस्थामा थियो भने रमेशको शव आँगनमा । नास्ता पसल चलाएरै परिवारको खर्च धानिरहेका बडायक दम्पतीको हत्या भएपछि परिवारजनको बिचल्ली भएको मृतक  रमेशका बुवा साधुसिंह बडायकले पीडा पोख्नु भयो । मृतक छोराबुहारीलाई सम्झँदै उहाँ भन्नुहुन्छ, यिनै मालिक हुन् । यिनैले सबै काम गर्थे । खेतीपातीदेखि ऋण, कारोबार, लेनदेन सबै उनैलाई थाहा हुन्थ्यो । हामीलाई त थाहै हुन्न । अब कसरी घर व्यवहार चलाउने ?

वडायक दम्पतीको हत्या घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान जारी रहेको जनाएको छ । दुवै जनाको अनुहार र टाउकोमा धारिलो हतियारको चोट रहेको र टाउकोबाट अत्यधिक रगत बगेको देखिएकोले हत्या नै भएको प्रहरीले ठहर गरेको छ । यस घटनाको अनुसन्धानका लागि प्रहरी नायव उपरीक्षक उमेश राज जोशीको नेतृत्वमा प्रहरी टोली र तालिम प्राप्त कुकुर समेत परिचालन गरिएको छ । घटनाबारे विभिन्न कोणबाट अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । प्रहरीले बडायक दम्पतीका घरपरिवारका सदस्य, आफन्त, वरिपरिका स्थानीय र कारोबार गरिरहने केही व्यक्ति समेत गरी अहिलेसम्म कम्तीमा ४० जनालाई सोधपुछ गरिसकेको छ । 

रमेश बडायकले बिहीबार दिउँसो मात्रै बैङ्कबाट २ लाख बढी पैसा निकालेको थाहा पाएपछि सोही रकमका कारण बडायक दम्पतीको हत्या गरिएको हुन सक्ने आशङ्का गरिए पनि उक्त रकम भने घरभित्रै भेटिएको प्रहरीले जनाएको छ । यसका अतिरिक्त बडायक दम्पतीसँग आपसी लेनदेन, पुरानो रिसिइबी, लागु औषध तथा मदिरा प्रयोगकर्ता वा सम्पत्ति लगायतका कारण पनि घटना भएको हुन सक्नेतर्फ पनि प्रहरी अनुसन्धान केन्द्रित छ । मृतक बडायक दम्पतीले प्रयोग गर्ने मोबाइल फोन सेट प्रहरीले बरामद गरेको छ । सोही फोनको आधारमा रहेर पनि प्रहरीले अनुसन्धान गरिरहेको छ । भारतीय खुला सीमाका कारण घटनामा संलग्न अपराधी भारततर्फ भाग्न सक्ने सम्भावना पनि रहेकोले त्यसतर्फ समेत प्रहरीले निगरानी बढाएको छ ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -