वीरगञ्ज । वीरगञ्जमा दीपावली पर्वलाई लक्षित गरी अखाद्य वस्तुबाट लड्डु बनाएर मिठाइ पसल तथा होटलमा आपूर्ति गर्दै आएका दुई वटा लड्डु उद्योगमा बजार अनुगमन समितिले आज छापा मारेर सिल गरेको छ ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगन्जका प्रमुख सुनिल चौरसिया नेतृत्वको टोलीले वीरगन्ज–११ श्रीपुर र वीरगञ्ज–१० रानीघाटमा लड्डु बनाउने उद्योगमा आज छापा मारेर सिल गरेको हो ।
श्रीपुर र रानीघाटमा घर भाडामा लिएर भारतीय नागरिकले सञ्चालन गरेका उद्योगमा छापा मार्ने क्रममा अखाद्य रसायन (केमिकल) र रङ्ग तथा बेसनको सट्टा कनिका र गहुँको पिठोबाट लड्डु बनाउँदै गरेको भेटिएको अनुगमन टोलीमा सहभागी जिल्ला प्रशासन कार्यालय पर्साका प्रतिनिधि गौरीशंकर गुप्ताले बताउनुभयो ।

श्रीपुरमा भारत बिहारको जमुई जिल्लाका निरज यादवले र रानीघाटमा बिहार जमुईकै वीरेन्द्र यादवले घर भाडामा लिएर नेपाल सरकारको अनुमित बेगर नै स्वास्थ्यमा हानी गर्ने खाद्य वस्तुबाट लड्डु बनाइरहेको भेटिएको थियो ।
सोधपुछका क्रममा ती भारतीय नागरिकले उत्पादन गरेको कमसल गुणस्तर र अखाद्य लड्डु वीरगन्जका मिठाई पसल र होटलमा प्रतिकिलो १ सय ५० रुपैयाँको भाउमा बेच्ने गरेको पाइएको छ ।
अखाद्य लड्डु भेटिएपछि क्षीर सागर होटलका सञ्चालकलाई पनि २० हजार रुपैयाँ जरिवाना गरिएको गुप्ताले बताउनुभयो ।