गत वर्ष ज्याजमाण्डु फेस्टिभलमा प्रस्तुति दिंदै विदेशी कलाकार
काठमाडौं । अबको एक महिनासम्म नेपालका विभिन्न स्थानमा चार प्रसिद्ध सांगीतिक महोत्सव आयोजना हुँदैछन् । कात्तिक ८ देखि २४ सम्म ज्याजमाण्डुको २० औं संस्करण आयोजना हुँदैछ ।
यसपटकको संस्करणमा चर्चित विदेशी कलाकार र समूहले प्रस्तुति दिंदैछन्, जसमा स्वीट्जरल्याण्डका एरिक टुफाज, जर्मनीकी अल्मा नैडु, स्पेनबाट एन्टोनिया लिजाना, अस्ट्रेलियाको अफ्रो डिजी एक्ट, नेपालको काडिन्जा कलेक्टिभ, द्रुपद गुरुकुल काठमाडौं, समुन्द्र ब्यान्ड, अमेरिकी ब्यान्ड अल–फिमेल–सिरोज र केही पूर्वीय शास्त्रीय कलाकार छन् ।
काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ज्याजमाण्डु हुनेछ । अक्टोबर २४ मा सेन्ट जेभियर स्कुल जावलाखेल, अक्टोबर २४ मा गोकर्ण फरेस्ट रिसोर्ट, अक्टोबर २८ मा झम्सिखेलको नाङ्लोमा हुने जनाइएको छ । ग्रान्ड फिनाले अक्टोबर ३० मा लैनचौरस्थित मल्ल होटलमा हुनेछ ।
कात्तिक १० गते जनकपुरमा भूमि लोक उत्सव २०८१ आयोजना हुँदैछ । जनकपुरको तिरहुतिया गाछीमा हुने महोत्सवमा मिथिला संगीत र सांस्कृतिक उत्सव मनाइने जनाइएको छ ।
भूमि फाउन्डेसनले गर्न लागेको दोस्रो संस्करणको फेस्टिभलमा विभिन्न १२ समूहका ५० भन्दा बढी कलाकारले प्रस्तुति दिने जनाइएको छ । लिम्बू समुदायको सङ्गीत एवं मुन्धुम संस्कृतिलाई गायनमार्फत फैलाइरहेकी गायिका तथा शोधकर्ता झुमा लिम्बूदेखि मैथिली लोकगायिका रञ्जना झा, मिथिला नाट्यकला परिषद् (मिनाप), गायक तथा लेखक सुशान्त घिमिरेले पनि प्रस्तुति दिने जनाइएको छ ।
काग तिहारको दिनमा कात्तिक १४ गते ललितपुरको मोक्षमा ‘काठमाण्डु ब्लुज एण्ड रुट्स म्युजिक फेस्टिभल’ हुँदैछ । यो फेस्टिभलमा मुक्ति एन्ड रिभाइभल, फ्लाइङ स्प्रिट्स, द मिडनाइट् राइडर्स, ब्याकडोर मेन ट्रिओ, सतिश स्थापित ब्लुज एक्सप्लोजन समूहले प्रस्तुति दिंदैछन् ।
कात्तिक ३० र मंसिर १ गते गोदावरी भिलेज रिसोर्टमा ‘विकेन्डर सेलिव्रेट लाइफ’ नामक सांगीतिक फेस्टिभल हुँदैछ । यसमा अंकित श्रेष्ठ, वृहत पहारी चुम्बक, फोइसिल लगायतले प्रस्तुति दिने जनाइएको छ ।