राधेश्याम साह
रौतहट । रौतहटको देवाही गोनाही नगरपालिकामा प्रधानाध्यापकलाई सरुवा गरेको विषयलाई लिएर विद्यार्थीहरुले देवाही गोनाही नगर कार्यपालिकाको कार्यालयमा तालाबन्दी गरेर प्रदर्शन गरिरहदा सो क्षेत्र तनावग्रस्त बन्न पुगेका छन् ।
देवाही गोनाही नगरपालिकाका नगर प्रमुख प्रेमलाल साह कानुले आफ्ना मनोमानी ढंगले जय किसान माध्यमिक विद्यालय धरहरिको प्रधानाध्यापकको सरुवा गरेको आरोप लगाउदै विद्यार्थीहरु आन्दोलनमा उत्रेपछि सो नगरपालिकाको अवस्था तनावग्रस्त बन्न पुगेका हुन् ।
जय किसान माध्यमिक विद्यालय धरहरिका प्रधानाध्यापक संजय प्रसाद गुप्तालाई सरस्वती माध्यमिक विद्यालय देवाहीमा सरुवा गर्न लागेको वा गरेको तर उक्त सरुवा रोक्नुपर्ने माग गर्दै जय किसान माध्यमिक विद्यालय धरहरिका विद्यार्थीहरुले मंगलवार गोनाही स्थित रहेको देवाही गोनाही नगर कार्यपालिकाको कार्यालयमा ताला लगाएर विभिन्न नाराहरु लगाउदै बिरोध प्रदर्शन गरिरहेका छन् ।
नगर प्रमुख साहले अनाधिकृत रूपमा आर्थिक चलखेल गरेर प्रधानाध्यापक गुप्तालाई अन्यत्र सरुवा गर्न लागेको भन्दै विद्यार्थीहरुले निकै आक्रोशीत हुँदै नगर प्रमुख साहका विरुद्ध चर्को नाराबाजी गरिरहेको थिए ।
सानासाना स्कूले बालबालिकाहरुले प्रदर्शन गरिरहदा अवस्थालाई नियन्त्रणमा लिन ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरी अवस्थालाई साम्य बनाइएको जिल्ला प्रहरी कार्यालय रौतहटको प्रवक्ता एवं डिएसपी एलिजा गिरीले जानकारी दिइन् ।
प्रदर्शनको क्रममा ढुंगामुढाबाट एम्बुलेन्सको सिसा फुटेको छ । ढुंगा प्रहार गर्नेको पहिचान भईसकेको जानकारी दिदै डिएसपी गिरीले उग्र विद्यार्थीहरुलाई निकै सम्झाउदा पनि ढुंगा फाल्ने कार्य जारी रहदा तिन जना प्रहरी सामान्य रुपमा घाइते भएको बताए । अवस्था अहिले साम्य भईसकेको छ । कसको उसकाहटमा परेर विद्यार्थीहरु प्रदर्शनमा आएको सम्बन्धमा प्रहरीले आवश्यक छानविन सुरु गरेको समेत उनले स्पष्ट पारिन् ।
हेर्नुहोस् भिडियो: