७ असोज, धनगढी। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) पदमबहादुर बिष्टसहितका चार जना प्रहरी पुरस्कृत भएका छन् ।
डडेल्धुराको अमरगढी नगरपालिका–२ घर भएर धनगढी बस्दै आएकी ३१ वर्षीया बिमा थापामगर मृत भेटिएको घटनाको सफल अनुसन्धान गरेको भन्दै एसपी बिष्टसहितका चार जना प्रहरीलाई पुरस्कृत गरिएको हो ।
एसपी बिष्टलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले रेकर्डमा जनिने गरि नगदसहित सम्मान गरेको हो भने अन्य तीन जनालाई जिल्ला प्रहरी कार्यालयले नगदसहित रेकर्डमा रहनेगरि पुरस्कृत गरेको हो ।
प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक(डीआईजी) रविन्द्र केसीले एसपी बिष्टलाई रेकर्डमा जनिनेगरि नगदसहित पुरस्कृत गरिएको जानकारी दिए । केसीले बिष्टले उपलब्ध स्रोत साधनको उचित प्रयोग गरि एक वर्षदेखि रहस्यमा रहेको युवती मृत्युको घटनाको अनुसन्धान गरेर निष्कर्षमा पुगाएकाले प्रहरी नियमावलीअनुसार पुरस्कृत गरिएको बताए ।
यस्तै, जिल्ला प्रहरी कार्यालयले पनि सोही घटनाको अनुसन्धानमा संलग्न प्रहरी नायब निरीक्षक(सई) गजेन्द्रबहादुर चन्दसमेतका तीन जनालाई नगदसहित पुरस्कृत गरेको छ । पुरस्कृत हुनेमा प्रहरी सहायक हवल्दारद्धय महेश चन्द र सन्तोश महरा रहेका छन् । कैलालीका प्रमुख प्रहरी उपरीक्षक(एसपी) पदमबहादुर बिष्टले रेकर्डमा जनिनेगरि नगदसहित तीनै जनालाई पुरस्कृत गरेको बताए ।
६ मंसिर २०८० मा धनगढी उपमहानगरपालिका–६ को सरस्वती सामुदायिक वनमा डडेल्धुराकी बिमा थापामगर मृत फेला परेकी थिइन् । झण्डै एक वर्षदेखि रहस्यमा रहेको उक्त घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले शनिबार मात्र भारतीय सीमावर्ती बजारबाट धनगढीका संजिव चौधरीलाई पक्राउ गरेको थियो ।
चौधरीको बयानका आधारमा धनगढीकै ३० वर्षीय जनक देउवालाई समेत शनिबार नै पक्राउ गरेर आइतबार सार्वजनिक गरेको थियो । उनीहरु दुवै जनाले लागुऔषध सेवन गरेर युवतीसँग शारीरिक सम्बन्ध राखेर कुटपिट गर्दै बेहोस् भएपछि जंगलमा फालेको अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ । दुवै जनालाई कर्तव्य ज्यान सम्बन्धी कसुरमा हिरासतमा राखेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।