९ भदौ, कैलाली । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको धनगढीस्थित निवास अगाडि राखिएको शंकास्पद वस्तु विष्फोटक पदार्थ नभएको पुष्टि भएको छ । उक्त शंकास्पद वस्तुभित्र माटो भेटिएको प्रहरीले जनाएको छ ।
आज बिहान देउवा निवास अगाडि कालो रंगको पुरानो झोला फेला परेको थियो । त्यो झोला भित्रबाट तार बाहिर निस्किएको देखिएको थियो ।
स्थानीयले त्यो विष्फोटक पदार्थ पनि हुन सक्ने आशंकाले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले नेपाली सेनाको टोलीलाई बोलाएको थियो । सेनाको टोलीले शंकास्पद झोला खोतल्दा त्यसभित्र बिजुलीबाट चल्ने एउटा भाँडो र त्यो भाँडोभित्र माटो भरेको पाइएको थियो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता कविन्द्र बोहराले शंकास्पद वस्तु विष्फोटक पदार्थ नभएको पुष्टि भएको जानकारी दिए । यसबारे थप अनुसन्धान भइरहेको पनि उनले बताए ।