२०८२ बैशाख ५ गते, शुक्रबार ०९:३०




भद्रपुर(झापा) । झापामा भारतबाट अवैध रुपमा भन्सार छलेर नेपाल भित्र्याइएको अन्दाजी साढे १२ लाख बराबरको लत्ताकपडा सशस्त्र प्रहरीले बरामद गरेको छ ।

सशस्त्र प्रहरीले बुद्धशान्ति र मेचीनगरबाट सो मूल्य बराबरको लत्ताकपडा हिजो बरामद गरेको सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ गण हेडक्वार्टर झापाका डिएसपी तथा सूचना अधिकारी सुमन पोखरेलले जानकारी दिनुभयो ।

सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस टिमाईबाट खटिएको टोलीले बुद्धशान्ति गाउँपालिका–७ स्थित सुनमाई चिया बगानभित्र लुकाइराखेको अवस्थामा ८ पोका कपडा बरामद गरेको हो । अन्दाजी १० लाख मूल्य बराबरको लत्ताकपडा इलाम र झापा जोडिएको सीमावर्ती नाकाबाट चोरी तस्करीको माध्यमबाट भित्र्याई सो स्थानमा ल्याएर भण्डारण गरी राखिएको थियो ।

त्यस्तै सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म काँकडभिट्टाबाट खटिएको टोलीले हिजो साँझ मेचीनगर नगरपालिका–६ स्थित बसपार्क क्षेत्रबाट अन्दाजी दुई लाख ५० हजार मूल्य बराबरको कपडा बरामद गरेको डिएसपी पोखरेलले बताउनु भयो । सो सामान पनि भारतबाट भन्सार छलेर नेपाल भित्र्याइएको थियो ।

बरामद गरिएका सामानमा कुर्ता सुरुवाल, लेडिज पेन्ट, लेहेङ्गा, गन्जीलगायत छन् । बरामद गरिएको सामान आवश्यक कारबाहीका लागि मेची भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्