२०८२ बैशाख ५ गते, शुक्रबार १४:१३




पोखरा । कास्कीमा ३ सय १९ जनामा डेंगू संक्रमण देखिएको छ । सन् २०२४ को जनवरीदेखि हालसम्म (अगस्ट ५ तारिख) सम्म कास्कीमा उक्त सङ्ख्यामा डेंगू संक्रमण देखा परेको स्वास्थ्य कार्यालय कास्कीका भेक्टर कन्ट्रोल अधिकृत यामनाथ बरालले बताउनुभयो ।

उहाँका अनुसार जनवरी महिनामा २६, फेब्रुअरीमा ६, मार्चमा २, अप्रिलमा ८, मेमा १७, जुनमा ३५ , जुलाईमा १ सय ५० र अगस्टको ५ तारिकसम्ममा ७५ जनामा डेंगू संक्रमण देखा परेको छ । पछिल्लो एक महिनादेखि कास्कीमा डेंगू संक्रमण बढ्दो रुपमा रहेकोले यसको उच्च सावधानी अपनाउनुपर्ने भेक्टर कन्ट्रोल अधिकृत बरालले जनाउनुभयो ।

कार्यालयले दिएको तथ्याङ्क अनुसार सबै भन्दा बढी पोखरा महानगरपालिकामा डेंगू संक्रमण देखा परेको छ । पोखरामा १ सय ७४ जनामा यस सङ्क्रमण देखा परेको छ भने अन्नपूर्ण र रुपा गाउँपालिकामा समान ३/३ जनामा डेंगू संक्रमण देखा परेको बरालले बताउनुभयो ।

सङ्क्रमणलाई समयमै रोकथाम गर्न नसके बढी रक्तश्राव भएर मानिसको ज्यान समेत जाने चिकित्सकहरूले बताउँदै आउनु भएको छ । उक्त सङ्क्रमण हुँदा वान्ता हुने, शरीर कमजोर हुने, खानामा रुचि नहुने, शरीरमा साना साना राता दाना हुने जस्ता लक्षण देखिना साथ नजिकको अस्पतालमा उपचार गर्न उहाँले आग्रह गर्नुभयो । लामखुट्टेबाट हुने डेंगू रोग नियन्त्रण तथा रोकथामका लागि समुदायमा अभियान आवश्यक भएको कार्यालयले जनाएको छ ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्