काठमाडौँ । सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न गठित संसदीय विशेष समितिले दुई महिनाको अवधिमा गरेका अध्ययन र छानबिन प्रक्रिया टुङ्गाएर प्रतिवेदन लेखन प्रक्रिया अगाडि बढाएको छ ।
समिति सभापति सूर्यबहादुर थापाले समितिले हालसम्म सरोकार भएका विभिन्न निकायसँग ३३ पटक छलफल गरेको जानकारी दिनुहुँदै प्रतिवेदनलाई अन्तिम रूप दिने कार्य अगाडि बढाएको बताउनुभयो ।
छलफलका क्रममा सहकारीको सिद्धान्त, मूल्यमान्यता पालना नगर्दा अधिकांश संस्थामा समस्या देखिएको र केही सहकारी संस्थामा भने सङ्गठित रूपमै ठगी भएको देखिएको उहाँले बताउनुभयो ।
सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना प्रकरणबारे पनि समितिले छानबिन गरिरहेको र उक्त संस्थाका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई मलेसियाबाट नेपाल फर्किएको विवरण भेटिएको तर नेपालबाट बाहिरिएको विवरण भने नभेटिएको सभापति थापाले बताउनुभयो ।
यसैबीच समितिले आज संसदीय मामिला पत्रकार समाज, नेपाल आर्थिक पत्रकार समाज (सेजन), सहकारी पत्रकार समाज (सिजेएन) र आर्थिक पत्रकार सङ्घ (नाफिज) सँग छानबिन र अध्ययन प्रक्रियालाई कसरी अगाडि बढाउने भन्नेबारे सुझाव लिएको छ ।