विराटनगर । नेकपा माओवादी (केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पार्टीलाई अझ एकताबद्ध र सुदृढ बनाइने बताउनुभएको छ ।
पार्टीको विराटनगरमा आज बसेको कोशी प्रदेश समितिको सातौँ पूर्ण बैठकपछि सञ्चार कर्मीहरूसँग कुरा गर्नुहुँदै उहाँले पार्टीको एजेन्डालाई अझ सशक्त रुपमा जनताको बीचमा लगिने बताउनुभयो ।
उहाँले पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउने विषयमा पार्टीका नेता कार्यकर्ता एकमत रहेको बताउनुभयो । अध्यक्ष प्रचण्डले जनताको मुद्दा सम्बोधनका लागि सदनमा समेत पार्टीले सशक्त भूमिका निर्वाह गर्ने बताउनुभयो ।
अध्यक्ष दाहालले अहिलेको राजनीतिक घटनाक्रमले पार्टीलाई सुदृढ र विस्तार गर्न थप अवसर प्रदान गरेको बताउनुभयो ।
आज बसेको प्रदेश समितिको बैठकमा सङ्गठन सुदृढ र विस्तार गर्ने विषयमा सबैको एकमत रहेको उहाँको भनाई थियो ।