२०८२ बैशाख ५ गते, शुक्रबार १३:५४




अबुजा। नाइजेरियामा बिहीबार आर्थिक कठिनाइको विरोध प्रदर्शनका क्रममा कम्तीमा १३ जनाको मृत्यु भएको अधिकार समूह एम्नेस्टी इन्टरनेसनलले बताएको छ । एम्नेस्टीले सुरक्षा बलहरूमाथि शान्तिपूर्ण प्रदर्शनकारीहरूको हत्या गरेको आरोप लगाएको छ ।

सरकारी नीति र जीवनयापनको उच्च लागतविरुद्ध प्रदर्शन गर्न नाइजेरियाभरका सहरहरूमा हजारौँ प्रदर्शनकारीहरू सडकमा उत्रिएको एक दिनपछि मृत्यु हुनेको सङ्ख्यामा विरोधासपूर्ण विवरण आएका छन् । 

शुक्रबार एक्समा विज्ञप्ति जारी गर्दै एम्नेस्टी इन्टरनेसनलले सुरक्षा बलबाट राजधानी नजिकैको सुलेजामा छ, उत्तरपूर्वी सहर मैदुगुरीमा चार र उत्तरपश्चिमको कादुनामा तीन जना मारिएको बताएको छ । 

प्रहरीले मैदुगुरीमा भएको विस्फोटमा चार जनाको मृत्यु भएको बताएको छ । बिहीबार राष्ट्रिय प्रहरी प्रमुखले अधिकारीहरूले शान्तिपूर्ण प्रदर्शनकारीहरूमाथि आक्रमण गरेको भन्ने दाबीलाई अस्वीकार गर्नुभयो । 

कम्तीमा पाँच राज्यमा शुक्रबार प्रहरीको व्यापक उपस्थितिमा कर्फ्यु लगाइएको थियो । यसका साथै राजधानी अबुजामा सुरक्षा बलहरूले प्रदर्शनको दोस्रो दिनका लागि निस्किएको प्रदर्शनकारीहरूको साना समूहहरूमा अश्रु ग्यास प्रहार गरेका थिए । 

राष्ट्रपति बोला अहमद टिनुबुले इन्धन अनुदान अन्त्य गर्दै एक वर्षअघि मुद्रालाई उदार बनाएपछि अफ्रिकाको सबैभन्दा धेरै जनसङ्ख्या भएको नाइजेरिया उच्च मुद्रास्फीति र मन्दीसँग सङ्घर्ष गरिरहेको छ । सरकारले भने यसबाट लामो अवधिमा अर्थतन्त्रमा सुधार हुने बताएको छ । 
नाइजेरियाले उच्च लागतको सामना गरिरहेको छ । खाद्य मुद्रास्फीति ४० प्रतिशत पुगेको छ भने इन्धनको मूल्य एक वर्षअघिको तुलनामा तीन गुणा भएको छ । यद्यपि धेरै मानिस विरोध प्रदर्शनको वरपर असुरक्षालाई लिएर सावधान थिए ।

नाइजेरियाका नेता, नागरिक समाज समूहहरूको गठबन्धनले अधिकारीहरूको चेतावनीका बाबजुद आगामी दिनमा जुलुसहरू जारी राख्ने वाचा गरेका छन् ।एएफपी

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्