गोरखा । धार्चे गाउँपालिकामा आइतबार बिहान गएको पहिरोमा परी बेपत्ता भएका ५ जना मध्ये ४ जनाको शव फेला परेको छ । बेपत्ताहरूको शव विभिन्न स्थानमा फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
श्रेष्ठका अनुसार आइतबार दिउँसो गण्डकी गाउँपालिका–८ को बर्खेघाटमा बेवारिसे अवस्थामा फेला परेको महिलाको शव समेत सोही घटनाको भएको आज पुष्टि भएको हो ।
बेपत्ता भएका मध्ये ३५ बर्षिया कान्छी मायाँ गुरुङ शव गण्डकी गाउँपालिका–८ को बर्खेघाटको त्रिशूली नदी किनारमा फेला परेको थियो । कान्छी मायाको शव आज बिहान उनका दाजुले पहिचान गरेका थिए ।
आज दिउसो १२ः४५ बजे बेपत्ता भएका मध्येका ७० वर्षका सुलाल कान्छा गुरुङको वश घर नजिकै २० मिटर तल फेला पुरिएको अवस्थामा फेला परेको थियो भने दिउसो २ बजे ३७ वर्षका जितबहादुर गुरुङ शव घर भन्दा २५ मिटर तल फेला परेको सूचना अधिकारी श्रेष्ठले जानकारी दिनुभयो ।
प्रहरीले दिएको जानकारी अनुसार बेपत्ता मध्ये अर्का बर्ष ३३ को रमेश गुरुङ शव समेत घरदेखि ३० मिटर तलको दुरीमा दिउसो ३ः०० बजे फेला परेको छ ।
बेपत्ता भएका मध्ये १ जनाको खोजी जारी रहेको छ । सोही पहिरोमा परेर घाइते भएकाहरू दिलीप गुरुङको अहिले राष्ट्रिय ट्रमा सेन्टर काठमाडौँमा उपचार भइरहेको छ । अर्का घाइते छाम बहादुर गुरुङ उपचार पछि घर फर्केका छन् ।