निकोलस मादुरो
१४ साउन, काठमाडौं । विवादित मतदानका बीच भेनेजुएलाको राष्ट्रपतिमा निकोलस मादुरो निर्वाचित घोषणा भएका छन् ।
नेशनल इलेक्टोरल काउन्सिल (सीएनई) का प्रमुख एल्विस अमोरोसोका अनुसार हालसम्म भएको ८० प्रतिशत मतगणनामा मादुरोको पक्षमा ५१ प्रतिशत मत परेको छ । जबकि उनका निकटतम् प्रतिद्वन्द्वीले ४४ प्रतिशत मत प्राप्त गरेका छन् । सीएनई प्रमुख अमोरोसो राष्ट्रपति मादुरो निकट मानिन्छन् ।
भेनेजुएलाका विपक्षीहरूले सीएनईको घोषणालाई धोखाधडीको रूपमा व्याख्या गर्दै परिणाम खारेज गर्न माग गरेका छन् । उनीहरूले परिणामलाई चुनौती दिने चेतावनीसमेत दिएका छन् ।
विपक्षीले अर्का उम्मेदवार एडमुन्डो गोन्जालेजले ७० प्रतिशत मत प्राप्त गरेको दाबी गरेको छ । यसकारण गोन्जालेजलाई राष्ट्रपति निर्वाचित भएको घोषणा गर्नुपर्ने उसको दाबी छ ।
११ वर्ष सत्तामा रहेका राष्ट्रपति मादुरोलाई हटाउने प्रयासमा विपक्षी दलहरू गोन्जालेजको पक्षमा एकजुट भएका छन् ।
चुनावअघि गरिएको जनमत सर्वेक्षणले गोन्जालेजले राष्ट्रपति निर्वाचन जित्ने प्रक्षेपण सार्वजनिक भएको थियो ।
मादुरो सत्तामा आएपछि ७८ लाख व्यक्तिले देश छोडेको बीबीसीले उल्लेख गरेको छ । मादुरो प्रशासनले मुलुकमा आर्थिक तथा राजनीतिक संकट निम्त्याएको बताइएको छ । चुनावको मत सर्वेक्षणको बेला एक तिहाइ जनसङ्ख्याले बसाइँ सर्ने प्रतिक्रिया दिएका थिए । मादुरो पुनः राष्ट्रपतिमा स्वीकृति भएमा पलायन थप बढ्न सक्ने आकलन गरिएको छ ।
यतिबेला अमेरिकी राष्ट्रपतिको निर्वाचनमा समेत बसाइँसराइ, अध्यागमन प्रमुख मुद्दा बनेको छ । अब अमेरिकाले लिने नयाँ नीतिले पनि भेनेजुएलाको पलायनमा प्रत्यक्ष प्रभाव पार्नेछ ।
भेनेजुएलाले कससँग व्यापार गर्छ त्यो पनि महत्वपूर्ण छ । किनभने यो संसारको ठूलो तेल भण्डार भएको मुलुकमध्ये एक हो । मादुरोले अमेरिकासँग सम्बन्ध चिस्याएका छन् ।
मादुरोले आफ्नो देशको आर्थिक समस्याको लागि अमेरिकालाई दोष लगाएका छन् । उनले अमेरिकासँग चिसो सम्बन्ध भएका चीन, इरान र रसियासँग घनिष्ठ सम्बन्ध बनाएका छन् ।
सरकार परिवर्तन हुँदा भेनेजुएला यी देशहरूबाट टाढिने अपेक्षा थियो । तर मादुरा नै सत्तामा आए यी देशहरूसँगको सम्बन्धलाई थप निकट बनाउने बुझिएको छ ।
यो निर्वाचनले भेनेजुएलाका नागरिकहरूले २५ वर्षदेखिको समाजवादी पीएसयूभी पार्टीको शासनबाट मुक्त हुने अपेक्षा गरेका थिए । यो पार्टीबाट सुरुमा ह्युगो चाभेज र
त्यसपछि ११ वर्षदेखि निकोलास मादुरोले शासन गरिरहेका छन् । चाभेजको सन् २०१३ मा क्यान्सरका कारण मृत्यु भएको थियो ।
नागरिक र विपक्षी पार्टीहरू चुनावमा धाँधली हुने र निर्वाचन परिणाममा बलजफ्ती हुनसक्ने आकलनमा भने थिए । मादुरो प्रशासनले सत्ता हातमा लिन जे पनि गर्न सक्छ भन्ने विपक्षीहरूलाई पहिले नै लागेको थियो ।
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन सरकारी बफादारहरूको वर्चस्व रहेको राष्ट्रिय निर्वाचन परिषदको नतिजामा शंका व्यक्त गरेका छन् । उनले भनेका छन्, ‘घोषित नतिजाले भेनेजुएलाका जनताको इच्छा वा मतलाई प्रतिबिम्बित गर्दैन भन्नेमा हाम्रो गम्भीर चासो छ ।’
चिलीका राष्ट्रपति गेब्रियल बोरिकले पनि परिणाम विश्वास गर्न गाह्रो भएको प्रतिक्रिया दिएका छन् । उरुग्वेका राष्ट्रपति लुइस ल्याकली पाओले मादुरो सरकारले नतिजा जे भए पनि जित्ने बताएका छन् ।
गोन्जालेजको नेतृत्वमा रहेको विपक्षी गठबन्धनका प्रवक्ताले सरकारको दमनले आफूहरू धेरै मतदान केन्द्र छोड्न बाध्य भएको बताएका छन् ।
भेनेजुएलाको निर्वाचन परिणामबारे आलोचना र विवाद भएको यो पहिलो पटक होइन । सन् २०१८ मा पनि मादुरो निर्वाचिन हुँदा व्यापार विरोध भएको थियो ।
भेनेजुयलाको मतदान विद्युतीय हुन्छ । मतदाताहरूले आफ्नो मनपर्ने उम्मेदवारलाई भोटिङ मेसिनमा भोट दिन्छन् । तर मेसिनले कागजी रसिद पनि छाप्छ र त्यसलाई मतपेटिकामा राखिन्छ । त्यसपछि परिणाम सीएनई मुख्यालय पठाइन्छ ।
कानुनअनुसार प्रत्येक दललाई रसिद गणना गर्न आफ्ना प्रतिनिधि पठाउने छुट छ । तर यो निर्वाचनमा सबै दलले त्यो अवसर पाएनन् ।
विपक्षी दलहरू आफूहरूले गणना गरेको रसिदको एक तिहाइ नतिजा पनि सीएनईले घोषणा नगरेको बताएका छन् ।