२०८१ चैत्र २९ गते, शुक्रबार १८:४२

बौद्धिकताको ट्याग पहिरिएको पुरुषले आफ्नो काँधमा वर्षाैंदेखि बोकिआएको जिम्मेवारीको भारी नबिसाउन्जेल मर्नु पनि हुँदैन हो ? पीडामा पिल्सिएर, अपमान, दिग्दारी सबै सबै सहेर जिन्दगीलाई घिसारिरह्यो भने मात्र ऊ मर्द, बौद्धिक र समझदार नत्र भने काँतर, नामर्द र मूर्ख हुने हो त ?

यसले मलाई सोच्न बाध्य गरायो पुरुषको पक्षमा र महिलाको विपक्षमा छ भनेर बुझ्दै आएको पितृसत्ता पुरुषको निम्ति घातक हुने रहेछ त ? आखिर किन पितृसत्ताले निर्माण गरिदिएको मानकलाई पछ्याएर पुरुषहरू दासत्वको जीवनयापन गरिरहेका छन् ? के उनीहरू साँच्चै अनभिज्ञ हुन् त, उनीहरूको दुःखको जड, गधाको जस्तो जिन्दगी भोग्नुपर्ने नियतिको निर्माण यही पितृसत्तात्मक सोचको उपज हो भन्ने कुरामा ?

जति जति मेरा पुरुष मित्रहरूको जीवनलाई नजिकैबाट नियाल्छु म त्यति नै उनीहरूको जीवन जटिल र कष्टकर पाउँछु । हो पुरुषलाई पहाडसँग तुलना गरिन्छ । उसलाई आकाशसँग तुलना गरिन्छ तर आफ्नो कठिनाइसँगको अनवरत संघर्षले ती पहाडमा गएका पहिरोलाई भने नजरअन्दाज गरिन्छ । ऊ पहाड जस्तै उँचो भएको मात्र हेर्न चाहने हाम्रो प्रवृत्तिले गर्दा उसको मनमा आएको दुःख, पीडाको पहिरोलाई हामी देख्नै सक्तैनौं, देख्न चाहँदैनौं । आफ्नो सौर्य मात्र देखाउनुपर्छ भनेर हुर्कंदै गर्दा, जीवनभरि आफ्नो व्यवहारमा प्रदर्शन गरिरहन्छ । किनकि उसले आफ्नो बुबा, काका, मामाहरूबाट त्यही सिकेको छ, जो सौर्यको प्रदर्शन गर्न चुक्छ, ऊ कसरी सजायको भागीदार हुन्छ । त्यसको साक्षी ऊ स्वयम् छ ।

डेबोरा तनेन भन्छिन्— पुरुषले भाषा सिक्नुको उद्देश्य नै उसको पुरुषत्व देखाउने चाहनासँग गाँसिएको छ । पुरुषले आफ्नो स्वनिर्भरता देखाउन, आफू केन्द्रमा रहन, आफ्नो ज्ञानको प्रदर्शन गर्न र आफ्ना वाक्कला देखाउनको निम्ति मात्र कुराकानीमा सहभागिता जनाउँछन् । उनीहरू आफ्नो सफलता प्रदर्शन गर्नुपर्ने कुरामा अत्यन्तै सचेत हुन्छन् । यस्तो अवस्थामा, यस्तो वातावरणमा बाँचिरहेको पुरुषको जीवन कति अस्वाभाविक र जटिल हुन्छ, हामी सजिलै कल्पना गर्न सक्छौं । जब सौर्य हरपल कायम राख्न ऊ असफल हुन्छ, उसको आत्मविश्वास डगमगाउन थाल्छ, ऊ विचलित हुन थाल्छ । अनि यस्तो बेलामा उसले कस्तो कदम चाल्छ, यो मनन् गर्ने कुरा हो ।

पुरुषको जीवनमा मायाको, कोमलताको प्रवेश निषेध गराएर पितृसत्ताले ऊमाथि सदासर्वदा अत्याचार गरेको हुन्छ । हुर्कंदै गरेको कलिलो बालकको मस्तिष्कमा रुनुहुन्न, रोयो भने कमजोर भइन्छ भन्ने विचार भरिदिइन्छ । विद्यालयको प्राङ्गणमा होस् वा घरको आँगनमा खेल्दा चोट लिएर आएको छोरालाई प्रेमले सुम्सुम्याउनुको साटो, उसको भरिएका आँखाको उपहास गर्दै के छोरी जस्तो रोएको भनेर उसलाई आँखाभित्रै आँशु लुकाउन सिकाइन्छ ।

वास्तवमा भन्ने हो भने पितृसत्ताले ग्रसित मानसिकताले हामी एउटा बालकबाट उसको बालापन समेत खोसिरहेका छौं । रिसर्चर चुका अनुसार एउटा बालकले सामाजिक दबाबमा परेर कोमलतालाई, कमजोरीलाई एउटा वयस्कले झैं लुकाउन सिक्छ । यसरी बालकको बालापन ऊबाट खोसिन्छ । आफूलाई केटी जस्तो भन्ने विशेषणबाट जोगाउन ऊ बाल्य अवस्थाबाटै सचेत रहने गर्छ । त्यसैले चुको अनुसार बालकहरू जहिल्यै पनि साइलेन्ट क्राइसिसमा हुन्छन् । यस्तो मानसिक दबाबमा हुर्किएको त्यो बालक वयस्क भएपछि भने ऊ प्रेमिल होस्, हाम्रो पीडा बुझोस् भनेर अपेक्षा गरिन्छ । के त्यो न्यायसंगत हुन्छ र ? सगरमाथामा धान फलाउन सकिन्छ र ? बालकलाई यसरी हुर्काउने अनि ऊ कठोर भयो, माया नै देखाउँदैन भन्ने कति दोचारे नि हामी ?

पुरुषलाई हामी माया गर्न सिकाउँदैनौं । बरु आफ्नो भावना अभिव्यक्त गरेमा कमजोर भइन्छ भनेर सिकाउँछौं । सौर्य प्रदर्शन गर्न सिकाउँछौं अनि पीडा लुकाउन तालिम दिन्छौं । फेरि कसैले जब आफ्ना पीडा, कष्ट, पीर लुकाउनकै निम्ति आफ्नो जीवन नै समाप्त गर्नेसम्मको निर्णयमा पुग्छ अनि प्रश्न गर्छाैं किन उसले आफ्नो पीडा लुकायो ? किन आफ्ना मित्र र प्रियजनसँग अभिव्यक्त गरेन ? किन बाँडेन आफ्नो व्यथा ? के उसलाई थाहा छैन र, यदि उसले आफ्नो दुःख, आफ्नो घाउ देखाएको भए यही समाजले उसलाई हुतिहारा, नामर्द र कमजोर भनेर दुत्काथ्र्यो भनेर ? त्यसैले त पुरुषहरूले समाजले भिडाइदिएको बौद्धिकताको, सफलताको, प्रतिष्ठाको बिल्लालाई आफ्नो हृदयको घाउ छोप्ने कवच बनाएर छोपिरहे, लुकाइरहे, पीडा ठ्याक्कै त्यसरी नै जसरी प्रत्येक हुर्कंदै गरेको बालकलाई हामी वयस्कले सिकाउँदै आएका छौं ।

मलाई लाग्छ यही हुर्काइले; बलियो भइरहनुपर्छ, सफल मात्र हुनुपर्छ, विजय मात्र हुनुपर्छ, खरो मात्र हुनुपर्छ भनेर सिकायोे पुरुषलाई । अनि कसरी सक्थे तिनले सफलताको निम्ति बजेको तालीको आवाजलाई छिचोलेर आफ्नो पीडामा डाँको छोड्न । त्यसैले त होला नि हृदयको जलन, त्यो औडाहा खप्न नसकेरे छटपटीमा बित्छ तिनका जीवनका अमूल्य पल । म सोचिरहन्छु पुरुष किन आफ्नो दुःख बाँड्न रुचाउँदैनन् ? फेरि उत्तर त म आफैंसँग छँदैछ त । यही समाजले होइन त पुरुषलाई माया, सहानुभूति ग्रहण गर्ने कुरा हुँदै होइन भनेर सिकाएको ? यो त तिरस्कार गर्ने कुरा हो भनेर सिकाएको पनि यही समाजले होइन र ? अझ महिलाभित्रको माया र सहानुभूति त झन् दुत्कार्नुपर्छ, परपर पन्छाउनुपर्छ नत्र त्यो कलंक हुन्छ भनेर सिकाउने यही समाज हो । अनि यस्तो हुर्काइ र सिकाइले किन दिन्थ्यो त पुरुषलाई आफ्नो पीडा अभिव्यक्त गर्न ! त्यसैले त हामी केवल पुरुषको अहम्लाई मात्र देख्छौं । हामी भ्रममा पर्छौं ऊ सफलताको मातले मात्तिएको छ । ऊभित्र अहमताको अग्लो शिखर चुलिएको छ । ऊ त्यही पहाड झैं कठोर छ । अहिले आएर बुझ्दैछु म, दोष त हाम्रो दृष्टिमा रहेछ, हामीले नै त्यो पहाडमा गएको पहिरोलाई देख्न नसकेका रहेछौं । समाजले पुरुषलाई पहाड जस्तो इगो ठड्याउन पोख्त बनाउँछ तर त्यसलाई जोगाउन, त्यहाँ मायाको हरियाली चाहिन्छ भनेर खोइ सिकाउँछ त ?

वास्तवमा भन्ने हो भने पुरुष मायाको खेलको नियमसँग नै पूर्ण रूपमा अनभिज्ञ हुन्छ । माया त टेनिस बल जस्तै हो नि खेलाडीले जति जोडले हान्छ अर्काे तर्फबाट पनि त्यति नै जोडले वापस आउँछ । खेलमा पार्टनरले फ्याँकेको बलको गति र लय पक्रिन भेउ नपाउने खेलाडी सीधै आउट नत्र भने पनि उसले ज्यादै कम पोइन्ट मात्र ल्याउँछ ।

तर एकातिर हामी बाल अवस्थाबाट नै यो खेलको नियमबाट त मात्र होइन यो खेलबाटै पुरुषलाई अनभिज्ञ राख्छौं अनि वयस्क भएपछि उसैसँग गुनासो गर्छाैं– माया देखाउन जानेन । माया लिन पनि जान्दैन, दिन पनि जान्दैन, कति निष्ठुर छ, कति निर्दयी छ । चाहे छोरा, दाजु/भाइ, पति, बुबा जुनसुकै भूमिका निर्वाह गर्दा पनि पुरुषले प्रेम निःसृत गर्न जानेन भन्ने गुनासो नै हाम्रो कुराकानीको खास शीर्षक हुने गर्छ । उसको प्रेम अभिव्यक्त गर्न नसक्ने बानीको हामी आलोचना गर्छाैं र कतिपय अवस्थामा उसलाई घृणा गर्न समेत पछि पर्दैनौं ।
यति गर्दागर्दै हामी के बिर्सन्छौं भने हामीले हुर्कंदै गरेको बालकलाई नै सिकाउनुपर्छ नि मायाको वेग पनि पानीको वेग जस्तै हुनुपर्छ अनि मात्र जीवन चलाउन आवश्यक पर्ने ऊर्जा त्यसबाट प्राप्त गर्न सकिन्छ । सिञ्चन सकिन्छ जिन्दगीको खेतबारी । नत्र त हेर पुरुष, तिम्रो प्रेमको अभावमा तिम्रो प्रियजनको हृदय पनि खडेरी परेको जमिन झैं चिरिन्छ । अनि त्यो खडेरी परेको हृदयमा कहाँ फेरि फुल्न सक्छन् त तिम्रो निम्ति प्रेमका फूलहरू ? जहाँ माया हुँदैन, कोमलता हुँदैन, कठोरता र तिरस्कार मात्र हुन्छ, त्यो जीवनमा शीतलताको खडेरी त पर्ने नै भो नि !

हामीले हुर्कंदै गरेको बालकलाई, हुर्कंदै गरेका हाम्रा भाइ–छोराहरूलाई सिकाउनै पर्ने भएको छ– उपलब्धि मात्र सबथोक होइन । सफलता मात्र सम्पूर्णता होइन, यो त केवल जीवनको एउटा सानो पाटो मात्र हो । बारबरा क्यान्ट्रोविज र क्लाउडिया करब भन्छन्, एउटा बालकलाई हुर्काउँदा यो बुझ्न जरूरी छ कि उसलाई आफ्नो मातापिताको मायाको हरदम चाहना हुन्छ । एउटा बालकले आफ्ना मातापिताले आफूलाई ध्यान दिउन् भन्ने तीव्र चाहना राखेको हुन्छ तर त्यो चाहना अभिव्यक्त गर्ने क्षमता/कलाको उसमा कमी हुन्छ । यदि हामीले उसको यस आवश्यकतालाई बुझ्न सकेनौं भने उसबाट धुम्रपान गर्नेदेखि आत्महत्या हुनेसम्मको जोखिम हुन्छ ।

वास्तवमा भन्ने हो भने पुरुषहरू समाजले, परिवारले गरेको भावनात्मक उपेक्षाका कारणले गर्दा मानसिक र शारीरिक क्षति व्यहोरिरहेका हुन्छन् । डब्लू.एच. कोलेनको अनुसार, डोमिनेन्स, टलफनेस र भावनालाई दबाएर राख्ने दबाब, साथै आफ्नो पुरुषत्वको प्रदर्शन गर्नुपर्ने दबाबका कारण, पुरुषले मानसिक स्वास्थ्य समस्याहरू भोग्नुपर्छ । उनीहरू डिप्रेसन र चिन्ताको शिकार हुने मात्र होइन, आत्महत्या गर्ने अवस्थामा समेत पुग्छन् । जोखिम मोल्ने चुनौतीको कारण सबैभन्दा बढी एक्सिडेन्टको कारण, हत्याहिंसाको कारण, जेल जाने र ज्यान गुमाउने पुरुष नै हुन्छन् । यो यथार्थले पुष्टि गर्छ कि पुरुषहरू असाध्यै जोखिममा छन् ।

तर यो वास्तविकतासँग अनभिज्ञ हाम्रो समाज केवल पुरुषको उपलब्धि, उसले हासिल गरेको सफलताको मेडल गन्नमै व्यस्त छ, मस्त छ । अर्काेतिर सफलताको शिखरमा चढ्दै गर्दा ऊबाट छुटेका उसका सम्बन्धहरूको बारेमा, ऊबाट हुन गएका कमजोरीहरूको बारेमा चर्काे आलोचना गर्न पनि तल्लीन छ उत्तिकै ।

तर भारती गौतमले भने झैं कला साहित्यमा लाग्ने मानिस त एकप्रकारले भन्ने हो भने साधक हुन् । तीबाट सामान्य मानिसको जस्तो व्यवहारको अपेक्षा गर्नु भनेको ऊमाथि अन्याय गर्नु हो नि ! हामीलाई उसको उज्यालो पक्ष मन पर्छ भने उसको अँध्यारो पक्षलाई आत्मसात् गर्नु त हाम्रो कर्तव्य पो हो त ! हामीले बुझ्नुपर्छ नि सूर्यले पनि त पृथ्वीको दुवैतर्फ एकसाथ प्रकाश पार्न सक्दैन । एकातिर उज्यालो हुँदै गर्दा प्रकाश छर्दै गर्दा, अर्काे पाटो अँध्यारो हुनु स्वाभाविक हो । तर हामी यो कुरा बुझ्ने चेष्टा गर्दैनौं । उसले समाज, साथीभाइ र साहित्यको निम्ति गरेको गुनलाई चटक्कै बिर्सिएर केवल उसका कमजोरीमा आफूलाई केन्द्रित गर्दछौं । मानौं ऊप्रति असन्तुष्टि व्यक्त गर्न होडबाजीमा हुन्छौं हामी ।

शायद उसको कमजोरी पहिल्याएर आफ्नो इगोलाई सन्तुष्ट पार्न पो खोजेका हौं कि ? नत्र त किन बन्न सक्दैनौं हामी घिउकुमारीको चोप जस्तै शीतल जब ऊ जलनमा हुन्छ ? पुरुषले समाजलाई योगदान दिन छोडेकै क्षणदेखि उसलाई किन बेवास्ता गर्न थाल्छ ? सिमोन हिवेभोले भने झैं एउटा व्यक्तिलाई समाजले त्यसबेलासम्म वास्ता गर्छ जबसम्म ऊ समाजको निम्ति फाइदाजनक हुन्छ ।

त्यसो भए के समाजमा, परिवारमा सेवा पुर्‍याइन्जेल मात्र हो त पुरुषले प्रशंसा र सहानुभूति पाउने ? इज्जत, प्रतिष्ठा पाउन उसले खुन र पसिना बगाइरहनुपर्ने हो ? पुरुषले हार्न नपाउनु कहिल्यै ? जन्मनसाथ साइनो र सम्बन्धको माखेसाङ्लोमा बाँधेर उसलाई हामी आफ्नै सम्पत्ति ठान्छौं, हाम्रो आवश्यकता, इच्छा, चाहना पूरा गरिदिने मेसिन ठान्छौं त्यसैले त ऊ मर्दा पनि हाम्रै इच्छा अनुसार मरोस् भन्ने चाहन्छौं ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्