चितवन । चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालस्थित नारायणगढ–मुग्लिन सडकमा आएको लेदोसहितको पहिरोका कारण यात्रुसहित त्रिशूलीमा बेपत्ता दुई वटा बसको खोजी कार्य आजका लागि स्थगित भएको छ ।
बिहानैबाट त्रिशूलीमा खसेका बस खोजिए पनि साँझसम्म नभेटिएकाले आजलाई खोजी कार्य स्थगित गरिएको हो ।
खोजी कार्यमा गाडीको पर्दा र अन्दाजी १० वर्षको बच्चाको सुरुवाल भेटिएको प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले जानकारी दिनुभयो ।
“हुक लगाएर खोज्ने क्रममा एन्जल डिलक्स बसमा लगाइएको पर्दा र एउटा अन्दाजी १० वर्षको ट्राउजर निकालिएको छ ।” प्रजिअले भन्नुभयो ।
अब भोलि बिहानबाट मात्रै बेपत्ता बस र यात्रु खोज्न सुरु गरिनेछ । उहाँले आज दिनभर खोजतलास गर्दा पनि बस फेला पार्न नसकिएको बताउनुभयो ।“नदीमा पानीको बहाव घटेको छैन । रातिको समयमा भएकाले जोखिम पनि हुने भयो”, उहाँले भन्नुभयो, “घटनास्थलबाट ३÷४ किलोमिटर तलसम्म खोज्दा पनि भेटिएन ।’’ उहाँले नदीमा पानीको बहाब उच्च र धमिलो भएका कारण खोजी कार्यमा समस्या भएको बताउनुभयो ।
न्यौपानेका अनुसार त्रिशूलीमा हराएका बस खोज्न सशस्त्रका ४ वटा, नेपाल प्रहरीको एउटा गरी ५ मोटरबोट, गोताखोर टोली लगायत प्रयोग गरिएको थियो ।
भरतपुर महानगरपालिका–२९ सिमलतालमा आज बिहान करिब ३:०० बजे वीरगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बस र काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको बसलाई लेदोसहितको पहिरोले त्रिशूलीमा बगाएको थियो ।