काठमाडौँ – उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले आफू सरकारमा सहभागी भएको सय दिनको अवधिमा देशलाई नराम्रो हुने केही काम नगरेको बताएका छन् ।
आफूले भ्रष्टाचारलगायत विभिन्न प्रकारका फाइल खोल्न चाहे पनि सत्ता पक्षबाट असहयोग भएको संकेत गर्दै उनले आफू सरकारमा भए पनि सत्ता अरुले नै चलाएको गुनासो गरेका छन्।
उनले भनेका छन्, ‘एउटा सरकार हुन्छ, अर्को सत्ता हुन्छ। सत्ता लामो समयसम्म कब्जा गरेर बसेको हुन्छ। सरकार फेरिँदा पनि सत्ता फेरिँदैन । नेपालमा सरकारमा त हामी छौं । सत्तामा त के–के छ, के–के छ? त्यो सत्तालाई तोड्न अलिकति गाह्रोचाहिँ हुन्छ।’
उनले बेथितिका कैयौं फाइल खोल्नेवित्तिकै साइन गर्नेगरी तयार होलान् भन्ने लागे पनि त्यस्तो नभएको बताए। उनले भने, ‘सय दिनको अवधिमा आफूले देशलाई नराम्रो हुने केही काम गरेकाे छैन, नेपाली जनताको कसम खाएर शपथ लिएर बसेको सय दिनमा मैले यो देशलाई नराम्रो हुने, यहाँका जनतालाई नराम्रो हुने एउटा पनि काम गरिनँ।’
गृहमन्त्री लामिछानेले गृह मन्त्रालयमा हेल्प डेस्क स्थापना गरेर दैनिक सयौं मानिसलाई सेवा दिइरहेको जानकारी दिँदै अन्य संयन्त्रबाट पनि चुस्तदुरुस्त सेवा दिइरहेको दाबी गरे।
उनले गृहमन्त्री बनेको सय दिन पुगेको अवसरमा सञ्चारकर्मीसँग शुक्रबार सरकार फेरिँदा पनि सत्ता नफेरिएको टिप्पणी गरेका हुन् । उनले आफू सरकारमा भए पनि सत्ता अरुले नै चलाएको गुनासो गरेका छन् ।
आफ्ना कुराहरु राखिसकेपछि उनी पत्रकारका प्रश्नहरुको कुनै जवाफ नदिई कार्यक्रमस्थलबाट बाहिरिएका थिए।