जनकपुरधाम/महोत्तरीको जलेश्वर नगरपालिकाका मेयर, उपमेयरसहित १२ जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
पिसिसी ढलानमा अनियमितता गरेको भन्दै अख्तियारले बिहीबार विशेष अदालत काठमाडौंमा ५ लाख ८४ हजार ६३७ रुपैयाँ विगो र कैद दावी गर्दै मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए।
आर्थिक वर्ष २०७९/८० मा नगरपालिकाबाट सञ्चालित जलेश्वर १ महोत्तरी बरुणसर पोखरी नजिक रहेको बजार क्षेत्रभित्र पिपिसी ढलान कार्यमा नगर प्रमुख सुरेश साह सोनार, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मित्रलाल ढकाल र अधिकृत छैटाैं धीरेन्द्र झाले योजनाको वास्तविक भए गरेको कार्यभन्दा बढी कार्य गरेको भनी झुट्टा नापी किताब, कार्य सम्पन्न प्रतिवेदन, उपभोक्ताको भुक्तानी बिल र अनुगमन प्रतिवेदन चेकजाँच नगरी भुक्तानीको लागि टिप्पणी पेश तथा सदर गरी सोही आधारमा ५ लाख ८४ हजार ६३७ रुपैयाँ बढी भुक्तानी गरेको देखिएको भन्दै उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८(१)(ङ) बमोजिमको कसुर भएकोले सोही ऐनको दफा ८(१) बमोजिम कैद र बिगोबमोजिम जरिवाना गरी बिगोसमेत असुल उपर हुन मागदाबी लिइएको छ।
यस्तै, वरिष्ठ इन्जिनियर पवन कुमार झा, इन्जिनियर राकेश कुमार चौधरी र सवइन्जिनियर दीपेशकुमार साहले पिपिसी ढलान योजनाको वास्तविक भए गरेको कार्यभन्दा बढी कार्य गरेको भनी झुट्टा नापी किताब, कार्य सम्पन्न प्रतिवेदन र उपभोक्ताको भुक्तानी विल तयार एवं भुक्तानी गर्न सिफारिस गरेको अख्तियारको ठहर छ ।
यस्तै, नगर उपप्रमुख रौशन खातुन, कार्यपालिका सदस्य सोगरा खातुन र जलेश्वर १ का वडाअध्यक्ष अनिल कुमार झाले योजना अनुगमन प्रतिवेदनमार्फत् बरुणसर पोखरी नजिक रहेको बजार क्षेत्रभित्र पीपीसी ढलान योजनाको कार्य सन्तोष जनक भएको उल्लेख गरी गलत प्रतिवेदन दिई उपभोक्ता समितिलाई भुक्तानी गर्न सिफारिस गरेको र उपभोक्ता समितिका अध्यक्ष राकेश कुमार साह, सचिव सिकेन्द्र चौधरी र कोषाध्यक्ष संतोषी देवीले पिपिसी ढलान योजनाको वास्तविक भए गरेको कार्यभन्दा बढी कार्य गरेको भनी मूल्यांकन गराई झुट्टा नापी किताब, कार्य सम्पन्न प्रतिवेदन र उपभोक्ता भुक्तानी विल तयार गराई सोही आधारमा बढी भुक्तानी लिएको अख्तियारले जनाएको छ।