पोखरा । नेपाली नयाँ वर्षको अवसरमा पोखरामा पुरुषतर्फको हाफ म्याराथन(२१ किलोमिटर) दौड प्रतियोगिता हुने भएको छ । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा आउँदो १ वैशाखमा उक्त प्रतियोगिता हुने भएको मङ्गलवार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।
कास्की जिल्ला एथ्लेटिक्स सङ्घको प्राविधिक सहयोगमा दोस्रो संस्करणको लेखनाथ हाफ म्याराथन सहित १० किलोमिटरको महिला÷पुरुष राष्ट्रिय खुल्ला सडक दौड, विद्यालय स्तरीय ५ किलोमिटर छात्र÷छात्रा र भेट्रान्सतर्फ ५ किलोमिटर सडक दौड प्रतियोगिता हुने खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्काले बताउनु भयो । चार वटा विधामा गरेर करिब एक हजार धावक सहभागी हुने उहाँले दाबी गर्नु भयो । हाफ म्याराथनको विजेताले ६० हजार दोस्रो हुनेले ३० हजार, तेस्रो हुनेले २० हजार र सान्त्वना १० हजार तथा पाँचौँ हुनेले ५ हजार रुपैयाँको साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्ने भएको छ ।
१० किलोमिटरको महिला÷पुरुष राष्ट्रिय खुला दौडको विजेताले ३० हजार र उपविजेताले २० हजार रुपैयाँ पाउने छन् । तृतीय, सान्त्वना र पाँचौँ हुनेले क्रमशः १० हजार, ५ हजार र २ हजार ५ सय रुपैयाँको साथमा मेडल र प्रमाणपत्रबाट पुरस्कृत हुनेछन् । ५ किलोमिटर विद्यालय छात्रछात्रा दौडको विजेताले १५ हजार रुपैयाँ, उपविजेताले १० हजार, तृतीयले ५ हजार, सान्त्वनाले ३ हजार र पाँचौँले २ हजार रुपैयाँको साथमा मेडल र प्रमाणपत्र पाउने छन् । भेट्रान्सतर्फको विजेताले १० हजार, उपविजेताले ७ हजार, तृतीयले ५ हजार रुपैयाँ पाउने सदस्य सचिव खड्काले जानकारी दिए । दौड पुरा गर्ने सम्पूर्ण विधाका शीर्ष २० खेलाडीलाई मेडल प्रदान गरिने खेलकुद विकास समितिका उपाध्यक्ष एवं प्रतियोगिता संयोजक राजेन्द्र जिसीले बताउनु भयो ।
दौडमा सहभागी हुन पोखरा महानगरपालिकाको शिक्षा महाशाखा वा आदर्श क्लब, भण्डार ढिकको कार्यालयमा वा खेलकुद विकास समितिको फेसबुक पेजमार्फत गुगल फारम भरेर २९ चैतसम्म नाम दर्ता गर्न सकिने छ । भण्डार ढिकबाट सुरु हुने हाफ म्याराथन उत्तरसिंह चोक, सात मुहाने बजार, राजाकोचौतारा, झउरीचोकबाट फर्केर सात मुहाने बजार, रामबजार, लेखनाथ उद्योग वाणिज्य सङ्घको भवन हुँदै भण्डारढिक खेल मैदानमा आएर टुङ्गिने छ ।
खेलकुद विकास समितिका अध्यक्ष दीपक गोदारले प्रतियोगिताले आन्तरिक तथा बाह्य पर्यटकको आवागमनमा वृद्धि गर्ने विश्वास व्यक्त गर्नु भयो । पोखरा–२९ का वडाध्यक्ष श्रीप्रसाद गुरुङले लेखनाथमा राष्ट्रिय स्तरका अन्य प्रतियोगिता निरन्तर गर्न आवश्यक रहेको बताउनु भयो ।