मुगु । गाउँ बस्तीमा परापूर्व काल देखि सञ्चालन हुँदै आएको पुर्ख्यौली आरन व्यवसाय अहिले सङ्कटमा पर्न थालेको छ । समयको परिवर्तन सँगै आरन व्यवसाय सङ्कटमा पर्न थालेको हो । पुराना जमानाका ब्यबसायीहरूको उमेर ढल्किँदै गएपछि बुढ्यौलीमा यो व्यवसाय गर्न कठिन हुने र पछिल्ला सन्ततिलाई यस व्यवसायप्रति खासै आकर्षित नभए पछि दिन प्रतिदिन यो व्यवसाय सङ्कटमा पर्दै गएको हो । बस्ती स्तरमा केही बुढापाका उमेरका व्यक्तिहरूले फाटफुट रूपमा आरन चलाएको देखिन्छ । भने यस व्यवसाय सञ्चालन गर्ने युवा भने कतै भेटिँदैनन् ।

विशेष गरि दलित समुदायका मानिसहरूले पुर्खा देखि अँगालेको यस पेसा प्रति समय सापेक्ष खासै फाइदा नदेखिए पछि दिन प्रति दिन यो पेसा सङ्कटमा पर्ने अवस्थामा देखिएको हो । पुरानो चलन अनुसार आरन बाट कृषि ओैजारहरू हँसिया,कुटो, कोदालो, बन्चरो,बासो, चुलेसी, कुमा, हतौडा, घट्टको बियो, लौरेसी जस्ता फलामे ओैजार नयाँ बनाउने र पुराना बुच्चा धारिला बस्तुहरूमा धार लाउने गरिन्छ । यसबाट खासै तोकिएको मोल मोलाई नहुने भएकोले थोरै मानु मुठो अन्न ज्याला स्वरूप कोदो, मार्से, चिनो,काउनी,सिमी लिने र त्यसले मात्र घर खर्च समेत धान्न पछिल्लो समयमा मुस्किल भएको मुगुम कार्मारोङ गाउँपालिका माग्राी गाउँका सोनाम फोन्जोक कामीले बताए ।
पछिल्ला बर्सहरूमा बजारको हरेक बस्तुहरूको दर भाउ बढे पनि किसान हरूले उत्पादन गरेको स्थानीय रैथाने अन्नको मूल्य खासै बढेन । भएको अन्न बालीको पनि बजारमा खासै माग पनि नहुने र बिहानै देखि बेलुका सम्म आरनमा काम गर्दा फलाम चुट्नु पर्दा धेरै गारो हुने भएकाले बुढेस कालमा दुख धेरै आम्दानी नगद शून्य र अन्नको मात्र कारोबार हुने भएकोले अहिले आफ्नो ७ जनाको परिवार पाल्नै मुस्किल हुने गरेको बिकले दुख पोख्नु भयो ।

उमेरले ६५ बर्ष पुग्नु भएका बिक आरन ब्यसाय सुरु गरेको ४० बर्ष भएको र हाल सम्म मुगुको कार्मारोङ गाउँपालिकाले वर्षको एक पटक आँफर (आरन सामागी् ) दिने बाहेक नजिकैको वडा र कुनै संघ संस्थाले आफु लाई नहेरेको गुनासो गरे । घरमा खाने पिने त सामान्यतया अन्नले चलाउला तर तेल ,तोरी, नुन, बालबच्चाको पढाई, ओषधी उपचार लुगाफाटा कसरी व्यवस्था गर्ने र ? प्रश्न गरे । एका बिहानै देखि आरनमा बसेर दिनभर गाउँलेको काम गर्नु पर्छ । तर पैसा हातमा हुँदैन । अन्न दिने भनेर सामान लगेर हिँड्छन् , बिकले भने । लामा समुदायका बिक जस्तै कर्णाली अञ्चलका साबिकका मुगु लगायत हुम्ला, डोल्पा,कालिकोट र जुम्लाका आरन ब्यबसायी हरूको समस्या पनि उस्तै छ । नत सरकारले यिनीहरूको व्यवस्थापन गर्न सकेको छ । नत संरक्षण नै ।

समय सापेक्ष आरन ब्यबसायीहरूको लगत सङ्कलन गरि उनीहरूलाई आधुनिक तालिम , नगद ज्याला निर्धारणका साथै आधुनिक ओैजारहरू उपलब्ध गराएको खण्डमा सङ्कटमा परेको आरन व्यवसाय पुन फस्टाउनको लागि टेवा मिल्ने अपेक्षा गरिएको छ ।