काठमाडौँ । आयरल्यान्ड ‘ए’ विरुद्धको एकदिवसीय शृङ्खलाको तेस्रो तथा अन्तिम खेलमा नेपाल ‘ए’ले जितका लागि दुई सय ८५ रनको लक्ष्य पाएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको आयरल्यान्ड ‘ए’ले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर दुई सय ८४ रनको योगफल बनायो ।
आयरल्यान्ड ‘ए’का स्टीफन डोहनीले शतकीय पारी खेले । उनले एक सय २९ बलमा आठ चौका र दुई छक्काको सहयोगमा एक सय सात रनको योगदान दिए । त्यस्तै पिटर मुरले २४ बलमा दुई चौका र पाँच छक्काको सहयोगमा ४४ रन बनाए भने म्याथ्यु हम्फ्रेजले २३, मोर्गन टोप्पिङले २१ र फिन ह्यान्डले २० रन जोडे । बलिङतर्फ नेपाल ‘ए’का रिजन ढकाल र रञ्जित कुमारले समान तीन÷तीन विकेट लिए भने विकास आग्री र साहब आलमले समान एक÷एक विकेट लिए ।
यसअघि भएको दुवै खेलमा नेपाल ‘ए’ पराजित भएको थियो । नेपाल ‘ए’ आयरल्यान्ड ‘ए’सँग पहिलो खेलमा २१ र दोस्रो खेलमा एक सय १४ रनले पराजित भएको थियो । आयरल्यान्ड ‘ए’ भने आजको खेल जित्दै शृङ्खला ‘क्लिन स्विप’ गर्न चाहन्छ ।