काठमाण्डाै/अनुचित लेनदेन अर्थात् मिटरब्याज सम्बन्धी जाँचबुझ आयोगको म्याद थप्ने तयारी भएको छ । यसअघि तोकिएको तीन महिनाको अवधिमा आयोगले काम नभ्याएपछि सरकारले फेरि अर्को तीन महिना म्याद थप्ने तयारी गरेको हो ।
सरकारले गएको वैशाख ४ गते विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको अध्यक्षतामा आयोग गठन गरेको थियो । अहिलेसम्म देशभरबाट झण्डै २४ हजार मिटरब्याज पीडितले उजुरी दिएका छन् । तीमध्ये एक हजार तीन सय ८५ वटा उजुरीमा मेलमिलाप भएको आयोगले जनाएको छ ।
आयोगका अनुसार पीडितहरूले अहिलेसम्म साहुको नाममा पुगेका ३० कित्ता जग्गा समेत फिर्ता पाइसकेका छन् । मेलमिलापलाई नै प्राथमिकता दिएको र मिलाप हुन नसकेका गम्भीर प्रकृतिका घटनाका विषयमा मात्रै कारबाहीका लागि सिफारिस गरिने आयोगले जनाएको छ ।
यसैबीच मिटरब्याजसम्बन्धी अध्यादेश निष्क्रिय भएपछि पीडितहरुले फेरि काठमाण्डौमा प्रदर्शन थालेका छन् । मधेस प्रदेशका विभिन्न जिल्लाबाट आएका पीडितहरुले सङ्गठित भएर काठमाण्डौमा धर्ना दिन थालेका हुन् । अहिले अध्यादेश निष्क्रिय भए पनि मिटरब्याज पीडितलाई न्याय दिने सरकारले बताएको छ ।