Wednesday, November 27, 2024
घरसमाचारअर्थवाणी‘रअ’को रवाफमा एनसेलमा भारतीय नागरिकको मनपरी

‘रअ’को रवाफमा एनसेलमा भारतीय नागरिकको मनपरी

काठमाडौं । बहुर्राष्ट्रिय कम्पनी एनसेल अजिएटाको लाभकर विवाद अझै टुंगिएको छैन । स्मार्ट टेलिकमलाई दूरसंचार प्राधिकरणले आफ्नो अधिनमा लिएपछि स्मार्ट एनसेलमा गाभिने संभावना पनि न्यून हुँदै गइरहेको छ ।

एनसेलका २० प्रतिशत लगानीकर्ता सतिसलाल र सचिनलाल आचार्यको स्मार्टमा लगानी रहेको हुँदा स्मार्टका प्राविधिकहरु एनसेलमा ल्याउने तयारी भइरहेको छ । नयाँ सीईओको नियुक्तिसँगै एनसेलको उच्च तहमा कार्यरत भारतीय नागरिक युवराज श्रीवास्तवका कर्तुतहरु बाहिर आइरहेका छन् ।

श्रीवास्तवका गैरकानूनी कामलाई संरक्षण गर्ने उद्योग विभाग, श्रम विभाग तथा अध्यागमन विभागका कर्मचारीहरुमाथि अनुसन्धान गर्नुपर्ने माग गर्दै विभिन्न निकायमा उजुरी परेका छन् । उनी ७ वर्षदेखि नेपालको श्रम कानुनको छिद्र खोज्दै अनेक प्रपन्च रचेर एनसेलमा हालीमुहाली गर्दैआएका छन् ।

बैदेशिक लगानी भएका नेपाली कम्पनीमा बिदेशी कामदारले नेपाली कामदारलाई सिप हस्तान्तरण गर्ने व्यवस्था भए पनि एनसेलमा अहिलेसम्म त्यो देखिएको छैन । यतिसम्म कि विदेशी नागरिकहरुले एनसेलमा गैरकानूननी भिसामा बसेर काम गरिरहेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, अध्यागमन विभाग लगायतका निकायमा दर्ता भएको उजुरीमा उल्लेख छ–‘एनसेलमा एउटै विदेशी नागरिक ३ बर्ष भन्दा बढी उच्च पदमा बसेर भ्रस्टाचार गर्ने, सरकारी निकायमा प्रमुखहरुलाई आफ्नो प्रभावमा पार्ने, घुस लेनदेनका लागि तेस्रो पक्ष नियुक्त गर्ने र कम्पनीमा कार्यरत आफू भन्दा तल्लो तहका नेपाली कर्मचारीहरुलाई तनाव दिने गर्दै आएका छन् ।

बिदेशी लगानी भएको एनसेलमा कति वर्षदेखि बिदेशी कर्मचारीले काम गरिरहेका छन्, त्यसको डाटा समेत खुलाइएको छैन । विदेशी र नेपाली कर्मचारीबीचको तलब भत्ता सुविधा फरक–फरक गरी श्रम शोषण भएको छ । केही विदेशी कर्मचारीहरुले एनसेलमा संबिधान र श्रम ऐन बिपरीत काम गरिरहेका छन् । आफै गैरकानूनी भिसामा बसेका उनीहरुले एनसेलमा दोहोरो हिसाब प्रणाली राखी राजस्व र कर छली गरिरहेका छन् ।’

एनसेलले श्रम ऐनबिपरीत विदेशी कर्मचारीहरुलाई ७ वर्षसम्म काम गराइरहेको छ । कम्पनीले कार्य अनुमति (वर्कपरमिट) बिना विदेशी कर्मचारीहरुबाट काम लिंदै आएको छ । कार्य अनुमति प्राप्त नभएको समयको पारिश्रमिक कार्य अनुमति आएपछि विदेशी कर्मचारीलाई प्रदान गरेको बैंक स्टेटमेन्ट हेर्ने हो भने पनि पुष्टि हुन्छ । यसमा उद्योग विभागकै उच्च कर्मचारीहरुको मिलेमतो रहेको र उनीहरुले एनसेलबाट मोटो रकम असुलिरहेका छन् ।

एनसेलको मानव संशाधान विभाग, प्रशासन र सुरक्षा विभागको प्रमुख हुन् भारतीय नागरिक युवराज श्रीवास्तव । जो सात बर्षदेखि एनसेलमा हैकम जमाएर बसिरहहेका छन् । नेपालमा रहेको कम्पनीमा यी विभागहरुको प्रमुखमा नेपाली नागरिक हुनुपर्ने प्रावधान भए पनि श्रीवास्तवले एनसेल अजियटालाई भ्रममा राखेर गैरकानूनी रुपमा तीन विभागको जिम्मा लिन सफल भएका छन् । जवकि यी सबै विभाग नेपालको राज्यप्रणालीसँग जोडिएका छन् ।

श्रीवास्तावकै कारण एनसेलमा काम गर्ने नेपाली नागरिकले नेपालकै सरकारी निकायसँग समन्वय गर्न पाएका छैनन् । जसले सरकारी निकायसँग एनसेलले राम्रोसँग तालमेल गर्न सकेको छैन । नेपालमा रहेको कुनै पनि ठूलो कम्पनीमा वर्किङ भिसामा लामो समयसम्म काम गर्न अनुमति छैन । विदेशी नागरिकले नेपालमा काम गर्दा तीन वर्ष भन्दा बढी काम गर्नुपरेमा उद्योग र श्रम विभागबाट स्वीकृति लिनुपर्ने हुन्छ ।

श्रम ऐन २०७५ को दफा २७ को उपदफा २ मा विदेशी नागरिकको समयाबधिको बारेमा उल्लेख गरिएको छ । त्यहाँ भनिएको छ–‘रोजगार सम्झौतामा समयाबधि उल्लेख भएकोमा सोही बमोजिम र नभएमा त्यस्तो रोजगार सम्झौता तीन वर्षसम्म कायम रहनेछ ।’ तर, एनसेलको तीन वटा महत्वपूर्ण विभाग कब्जा गरेर बसेका भारतीय नागरिक श्रीवास्तवलाई भने यो नियम लागू भएको छैन ।

एनसेलमा कार्यरत युवराज श्रीवास्तव पाँच वर्षभन्दा अघिदेखि आफै अवैध रुपमा काम गर्दै आइरहेका छन् । आफै एचआरको प्रमुख भएर उनले एनसेलमा पर्यटक भिसामा आई बिजनेश भिसाको आवेदन दिई काम गर्दैआएका विदेशीलाई केही समय काम गराई पुनः विदेश फर्काउँदै आइरहेका छन् । त्यसका लागि उनले अध्यागमन विभागमा पनि मोटो रकम खर्च गरी सेटिङ मिलाउँदै आएका छन् । प्रकुप्मेन्टका हेड रहेका इजिप्टका नागरिक ह्यानी पनि श्रीवास्तवले नै उद्योग विभाग र अध्यागमनमा सेटिङमा मिलाइदिएका कारण विगत पाँच वर्ष भन्दा बढी एनसेलमा काम गर्दै आइरहेका छन् । उनी सुरुमा पर्यटन भिसामा आएका थिए ।

त्यसैगरी श्रीवास्तवकै सेटिङमा भिसा सकिएका इजिप्टकै नागरिक एडिल टेक्निकल चिफका रुपमा काम गरिरहेका छन् । कम्पनीमा धेरै नेपालीहरु एक्सपर्ट हुँदा हुँदै पनि प्रकुप्मेन्ट, एचआर र सेल्सको प्रमुखमा विदेशी नागरिकलाई हावी गराउनु राम्रो मानिंदैन । कम्पनीमा सी लेबल भन्दा मुनी नेपाली हुनुपर्नेमा भारतीयलाई राखिएको छ । एनसेलमा वर्क परमिट हेर्ने श्रीवास्तवले आफै अवैध काम गर्दै आइरहेका छन् ।

पर्यटक भिसामा आएकालाई विजनेश भिसाको आवेदन दिन लगाई विदेशीलाई काम लगाउनु नै नेपालको नियम कानून मान्दिन भन्नु हो, जे पनि गर्न सक्छु भन्नु हो । जुन भारतीय नागरिक युवराज श्रीवास्तवले गर्दैै आइरहेका छन् । उनले कहिले आफूलाई ‘भारतीय गुप्तचर संस्था ‘रअ’ को नेपाल हेर्ने हुँ, म जति वर्ष पनि काम गर्न मिल्छ’ भन्दै एनसेलका उच्च तहका विदेशी र नेपाली नागरिकहरुलाई धम्की दिंदै काम गर्दै आइरहेको उजुरीमा उल्लेख छ । तर भारतीय दूताबासमा बुझ्दा उनी ‘रअ’ सँग जोडिएका कुनै पनि काममा संलग्न नभएको ‘रअ’को कर्मचारी समेत नरहेको जानकारी नेपालफेसलाई प्राप्त भएको छ ।

पर्यटन भिसामा आउनेले बिजनेश भिसा नै पाउँदैन । अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीले बिजनेश भिसा उद्योग विभागले दिने भएकाले अध्यागमनबाट स्वीकृति लिनुपर्ने बताए । वर्कपरमिट नलिई कुनै पनि विदेशी नागरिकले नेपालमा काम गर्न नपाउने महानिर्देशक अधिकारीको भनाइ छ । अधिकारीले यसो भने पनि उद्योग बिभाग र अध्यागमन विभागको सेटिङमा एनसेलमा दर्जनौं कर्मचारीहरु पर्यटक भिसामा आएर बिजनेश भिसा आवदेन दिई काम गर्दैआएका छन् । अध्यागमन विभागले वर्कपरमिटविना काम गर्ने विदेशीलाई कारबाही गर्ने उनले बताए ।

उद्योग विभागका महानिर्देशक बाबुराम गौतमले पर्यटक भिसामा नेपाल आउने र बिजनेश भिसाको सिफारिसका आधारमा वर्कपरमिट विना विदेशीहरुलाई काममा लगाइएकोबारेमा प्रतिक्रिया लिन पटक पटक नेपालफेसले प्रयास गर्दा पनि उनी सम्पर्कमा आएनन् ।

यसैगरी, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले २०७५ मा एनसेलका बिभिन्नन १६ वटा टावरमा आक्रमण गर्नुअघि युवराज श्रीवास्तवको कनेक्सन खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’सँग भएको खुलेपछि उनी आन्तरिक छानबिनमा परेका थिए । तर ‘रअ’को संरक्षण भएको भ्रम छरी उनी कारबाहीबाट जोगिएका थिए । साभार: नेपाल फेस

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -