Wednesday, November 27, 2024
घरक्राइम चेकवीरगंजको सार्वजनिक जग्गा कौडीको भाउमा भाडामाः २७ लाख ६० हजार तिरेर मासिक...

वीरगंजको सार्वजनिक जग्गा कौडीको भाउमा भाडामाः २७ लाख ६० हजार तिरेर मासिक ५४ सय भाडा असुल्दै महानगर

वीरगंज/वीरगंज महानगरपालिकाले वडा नं. १२, ब्रम्हचौकमा रहेको एक सार्वजनिक जग्गालाई कौडीको मूल्यमा रक्सी पसल सञ्चालन गर्न दिएपछि स्थानीयवासीले विरोध गर्न थालेका छन् ।

नगर विकासको स्वामित्वमा रहेको सार्वजनिक कल्भर्टको करोडौँ मूल्य पर्ने ३६० वर्गफिट (१३ धुर) जमिन, जहाँ वर्षौ पुरानो पिपलको बोट थियो र स्थानीयहरूले पूजा पाठ समेत गर्ने गर्थे सो स्थानमा रक्सी पसल संचालन गर्न महानगरले स्थानीय दिवेन्द्र (दिपेन्द्र) गुप्ता नाम गरेको व्यक्तिलाई भाडामा दिएपछि ब्रह्रचोकका स्थानीयवासी आक्रोशित बनेका छन् ।

ब्रह्रचोकका स्थानीयवासीले जल चढाउने र पूजापाठ गर्दै आएको पिपलको रुखलाई हटाएर उक्त स्थानमा गुप्ता सेकुवा कर्नर सञ्चालन गर्नलाई भाडामा उपयोग गर्न वीरगंज महानगरपालिकाले २०७९ पुष १२ गते दिवेन्द्र गुप्ताको नाउँमा मासिक ५ हजार ४ सय भाडा महानगरपालिकालाई बुझाउने शर्तमा दिएको जानकारी प्राप्त हुन आएको छ ।

महानगर प्रमुख राजेशमान सिंहले सार्वजनिक जमिनमा रहेका अतिक्रमण हटाएको प्रचारबाजी गर्दै हिंडेपनि भित्री रुपमा महानगरपालिकाको स्वामित्वमा नभएको सार्वजनिक जमिन समेत रक्सी पसल संचालनकालागि व्यक्तिलाई कौडीको मूल्यमा भाडामा दिने नीतिले मेयर सिंहमाथि समेत प्रश्नचिन्ह खड़ा भएको छ।

नेपाल सरकारले सार्वजनिक जग्गा प्रयोग सम्वन्धमा छुट्टै कार्यविधि र मापदण्ड बनाएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयले सार्वजनिक प्रकृतिको जग्गा प्रयोग गर्न उपलब्ध गराउने सम्बन्धि मापदण्ड २०७७ को दफा ३ मा सार्वजनिक जग्गा सरकारी विद्यालय, अस्पताल, स्वास्थ्य केन्द्र, सरकारी कार्यालय वा काम काजको लागी मात्र प्रयोग गर्न सकिने व्यवस्था गरेको छ ।

मापदण्डले स्थानीय तह भित्र रहेका सार्वजनिक जग्गाको संरक्षण र संवर्द्धनको जिम्मेवारी मात्र स्थानीय तहलाई तोकेको छ । वडा कार्यालय भित्र रहेको सार्वजनिक जग्गाको संरक्षण गर्ने पहिलो दायित्व वडा कार्यालयको हुनेछ भनिएको छ तर वीरगंज महानगरपालिकाले वडा कार्यालयसँग कुनै समन्वय नै नगरि सार्वजनिक जग्गामा रक्सी व्यवसाय गर्न भाडामा दिएको बताइन्छ ।

सार्वजनिक सम्पति स्थानीयवासीको अधिकतम हितमा प्रयोग गर्ने उद्देश्यले त्यसको संरक्षण र प्रवर्द्धन गरिनु पर्नेमा वडावासीसँग कुनै सरोकार नराखी एउटा व्यक्तिलाई रक्सी व्यवसाय संचालनको लागि भाडामा दिनु दु:खद कुरा भएको वडावासीहरू बताउँछन् ।

व्यक्तिगत जग्गामा नक्सापास नगरी बनाइएको घर डोजर लगाएर भत्काउने तर महानगरका जन प्रतिनिधि एवं कर्मचारीलाई रिझाएर भाडा लिन सफल सो जग्गामा कुनै नक्सा पास नै नगरी रक्सी पसल सञ्चालनकोलागि पक्की निर्माण भइरहेको छ ।
ब्रम्हचोकमा बाइपासरोडसँग जोडिएको उक्त जग्गा मासिक पाँच हजार चार सयमा भाडामा दिनुको सट्टा सो स्थानमा वडा नं. १२ को कार्यालयको भवन निर्माण गर्ने हो भने हाल वडा नं. १२ कार्यालयले मासिक रुपमा तिर्दै आएको अफिस भाडा ३५ हजार र स्वास्थ्य चौकीले तिर्दै आएको भाडा ११ हजार गरि मासिक ४६ हजारको दरले पाँच वर्षमा २७ लाख ६० हजार रुपैयाँ बचत हुने थियो तर महानगरपालिकाले व्यक्ति रिझाउन महानगरलाई आर्थिक भारमा पारेको देखिन्छ ।

हामीलाई प्राप्त खबर अनुसार वीरगंज महानगर शिक्षा समितिका सदस्य मदन गुप्ताका भतीजा राजु गुप्ताले महानगरमा सुपरभाइजरको नियुक्त लिएर तलब महानगरबाट तलब बुझ्ने तर ड्युटी भने अन्य कारखानामा गर्ने गरेको छ । यस सम्बन्धमा थप समाचारकोलागि प्रतिक्षा गर्नुहोला ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -