चन्द्रसूर्य समाचारदाता/
वीरगंज, १७ साउन/
वीरगंज महानगर भित्र प्रहरीकै संरक्षणमा अवैध घरेलु मदिरा बिक्री एवं बेच बिखन भैरहेको समाचार प्रकाशमा आएको छ।
वीरगंज श्रीपुर स्थित कृषि औजार कारखाना पछाडि मुन्ना भन्ने व्यक्तिले प्रहरी प्रशासन र स्थानीय निकायलाई प्रभावमा पारेपछि विगत लामो समयदेखि निर्वाध रुपमा विषाक्त र मापदण्ड विपरीतका प्रतिबधित घरेलु मदिरा उत्पादन गर्दै आएको स्थानीयहरू बताउँछन्।
पर्सा प्रहरी, वडा प्रहरी कार्यालय श्रीपुर, प्रहरी चौकी रानीघाट लगायतमा स्थानीयहरुले पटक पटक अवैध मदिरा उत्पादन बारे जानकारी गराएपनि प्रहरीको बेवास्ताले धेरै शंका आशंकाहरू उब्जिएका छन्।
जनताको स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पार्ने घरेलु मदिरा उत्पादन र बेच बिखनका कारण घुमुवाको रुपमा खटेका प्रहरी हवलदार यादवले कृषि औजार खारखाना पछाडि रहेको एक रक्सी र झाबराहाका भठ्ठी सञ्चालकलाई धम्काएर मासिक २५ हजार रुपैया लिने गरेको समाचार स्रोतको दाबी रहेको छ ।
जनताको स्वास्थ्यमा प्रत्यक्ष असर गर्ने यस्ता खाले अवैध घरेलु मदिराको उत्पादन र बेचबिखनले समाजमा आपराधिक घटनामा पनि बृद्धि हुने, घरेलु हिंसा लगायत पनि बढ़ने संभावनाका बीच पर्सा प्रहरीको मौनता आफैंमा आश्चर्य लाग्दो छ।