काठमाडौं । पक्राउ पूर्जी जारी भएका धनुषाको वटेश्वर गाउँपालिकाका अध्यक्षका उम्मेदवार श्यामसुन्दर महतो दैनिक घरदैलो गरिरहँदा पनि प्रहरीले उनलाई पक्राउ नगरी संरक्षण गर्दैआएको छ ।
एमालेले बैंकिङ कसुरका फरार अभियुक्त महतोलाई बटेश्वर गाउँपालिकाको अध्यक्षमा उम्मेदवार बनाएको छ । कानुनी राज्यलाई चुनौती दिंदै फरार अभियुक्त महतो चुनावी सभा गरिरहँदा पनि प्रहरी मुकदर्शक बनिरहेको छ ।
महतो बुधबार, बिहीबार र शुक्रबार पनि घरदैलो गरिरहेका छन् । तर प्रहरीले उनलाई पक्राउ गर्न चासो नै देखाएको छैन । शुक्रबार एमालेको चुनावी सभामा अध्यक्षका उम्मेदवार महतो रघुवीर महासेठसँगै कुम जोडेर बसेका थिए । प्रहरीले नै उनलाई सुरक्षा दिएर कार्यक्रम गरिरहेको थियो । फरार अभियुक्त मन्चमा हुँदा पनि पक्राउ गर्न प्रहरीले बेवास्ता गरेको थियो ।
एमालेबाट बटेश्वर गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दिएका महतोबिरुद्ध उच्च अदालत पाटनबाट २०७६ साउन १५ पक्राउ पूर्जी जारी भएको छ । महानगरीय प्रहरी बृत्त सिंहदवारले उच्च अदालत पाटनसँग अनुमति लिई महतोका बिरुद्ध पक्राउ गर्नका लागि ३ बर्षअघि नै पुर्जी जारी गरेको हो । पक्राउ पूर्जी जारी भएका महतो ३ बर्षदेखि प्रहरीको नजरमा फरार अभियुक्त हुन् ।
उच्च अदालत पाटनको बाणिज्य इजलासमा लालबबहादुर क्षेत्रीको जाहेरीले वादी नेपाल र प्रतिवादी श्यामसुन्दर महतो भएको बैंकिङ कसुर मुद्दाको अनुसन्धानको सिलसिलामा उनलाई तत्कालै नियन्त्रणमा लिई अनुसन्धान गर्नुपर्ने र तत्काल उनलाई पक्राउ नगरे मुद्दासँग सम्बद्ध प्रमाणहरु लोप र नास गराई भागीजाने संभावना देखिएकाले उनलाई पक्राउ गर्न माग गरिएको थियो । तर उनलाई २ बर्षसम्म पनि पक्राउ गरिएको छैन ।
३ बर्षअघि पक्राउ पूर्जी जारी भएका महतो वटेश्वरका वडा वडामा चुनावी घरदैलो गरिरहेका छन् । घरदैलो गरिरहेका महतोलाई प्रहरीले पक्राउ नगरी छुट दिएको छ ।
महानगरीय प्रहरी बृत्त सिंहदरवारले इलाका प्रहरी कार्यालय ढल्केवर महोत्तरीलाई पठाएको पत्रमा उल्लेख छ–लालबहादुुर क्षेत्रीले श्यामसुन्दर महतोको बिरुद्ध बैंकिङ कसुर मुद्दामा आवश्यक कारबाही गरिपाउँ भनी तालुक महानगरीय प्रहरी परिसरमा दिएको जाहेरी दरखास्त तालुक महानगरीय प्रहरी परिसरको चलानी नम्बर १६, मिति २०७६ साउन ७ गतेको पत्रसाथ यस कार्यालयमा प्र्राप्त हुन आएकाले प्रतिवादी धनुषा जनकपुर नगरपालिका १ घर भएका ३५ बर्षीय श्यामसुन्दर महतोलाई पक्राउ गर्नका निमित्त २०७६ साउन १३ गते उच्च अदालत पाटनबाट पक्राउ अनुमति प्राप्त भइआएकाले महतो तहाँ कार्यालयको वडा एरिया अन्तर्गत बस्ने गरेको भन्ने बुझिन आएको हुँदा खोजतलास गरी फेलापरेमा पक्राउ गरी पक्राउ पुर्जी दिई स्वास्थ्य परीक्षण समेत गराई उपस्थित गराइदिन अनुरोध गरेको छ ।
अदालतमा हाजिर भई कानुन पालना गर्नुपर्ने महतोले उल्टै पत्रकारलाई देखाइदिने धम्की दिएका छन् । पक्राउ पूर्जी जारी भएका महतोले बैंकिङ कसुर गरी फरार अभियुक्त भएको समाचार लेख्ने पत्रकारलाई नै उल्टै सामाजिक संजालमा धम्क्याउने काम गरेका हुन् ।
महतो ३ बर्षदेखि फरार छन् । पक्राउ पूर्जी जारी भइसकेको छ । तर उनी अदालतमा उपस्थित पनि भएका छैनन् । चुनावमा अध्यक्षका उम्मेदवारका रुपमा मत माग्दै हिंडदा पनि प्रहरीले उनलाई पक्राउ नगरी कानुनी राज्यको उपहास गर्ने कार्य भइरहेको छ । फरार अभियुक्त महतोलाई पक्राउ नगरिएकोबारेमा धनुषाका एसपी बसन्त रजौरेले भने–‘मैले कसैले भनेर पक्राउ गर्ने कुरा भएन, अदालतमा बुझ्नुपर्छ । काठमाडौंको मुद्दा हो, धनुषाको होइन । पक्राउ पूर्जी २०७६ सालको हो, हाजिर भएको छैन कि छैन, बुझेर के रहेछ, आवश्यक कदम चाल्नुपर्छ ।’