चन्द्रसूर्य समाचारदाता/
वीरगंज, ०१ चैत्र/
सशस्त्र प्रहरी बल नेपालले पर्सा जिल्लाको विभिन्न स्थानबाट एक करोड १४ लाख मूल्य बराबरको सामान बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा. पर्साले फाल्गुण महिनामा अबैध चोरी निकासी पैठारी नियन्त्रण, अवैध वन पैदावार, लागु औषध तथा हातहतियार बरामद बारे सार्वजनिक गरिएको विवरणमार्फत जानकारी गरएको छ ।
सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा पर्सा तथा मातहत ईकाईबाट फाल्गुण महिनामा ७२ लाख ४३ हजार दुई सय ७४ रुपैयाँ मूल्य बराबरको चोरी निकासी पैठारीका लत्ता कपडा, ईलेक्ट्रोनिक्स सामानहरु, हाडवेयर, मोटर पार्टस र किराना सामानहरु नियन्त्रणमा लिई भन्सार कार्यालयमा बुझाईएको साथै यो महिनामा चार लाख ८३ हजार मूल्य बराबरको १२४ क्यू.फिट. अबैध काठ समेत बरामद गरी बन कार्यालयमा बुझाईएको गणका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक निर्मल कुमार थापाले चन्द्रसूर्यलाई जानकारी गराउनु भयो ।
यसैगरी गाँजा १५.३५० के.जी, चरेश ४.८७० के.जी, नाईट्रोभेट १३५ एम्पुल, कोडिवेल २ बोतल बरामद गरिएको र विभिन्न ग्रैह्र कानुनी कार्य तथा आपराधिक गतिविधिमा संलग्न ७ जना व्यक्तिहरुलाई नियन्त्रमा लिई सम्बन्धित निकायमा बुझाईएको सशस्त्र प्रहरी नायब उपरीक्षक थापाले बताए ।
त्यस्तै बिल बिजक भन्दा फरक माल सामान रहेको भन्ने विशेष सूचनाको आधारमा २ वटा सवारी साधन(ट्रक १ र ट्याक्टर १) सहित ३७ लाख नौ हजार आठ सय ७३ रुपैयाँ मूल्य बराबरको सामानहरु नियन्त्रणमा लिई राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाईएको गण १३, पर्साले जनाएको छ ।
गत फाल्गुण महिनामा स.प्र. बल नेपाल नं. १३ गण हे.क्वा. मातहत बि.ओ.पि. भिष्वाले कटुवा पेस्तोल थान- १ र उक्त पेस्तोलमा प्रयोग हुने 7.62 मि.मि. राउण्ड थान-१ बरामद गरी ईलाका प्रहरी कार्यालय पोखरियामा बुझाईएको सो विवरणमा उल्लेख छ ।
सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हे.क्वा. पर्साले जम्मा मूल्य एक करोड १४ लाख ३६ हजार ४७ रुपैयाँ बराबरको चोरी निकासी पैठारी, अबैध बन पैदावार र बिल बिजक भन्दा फरक माल सामान रहेको सवारी साधन हरुलाई नियन्त्रणमा लिई सम्वन्धित निकायमा बुझाईएको छ ।