– ईश्वरा भट्टराई
२०६३ सालमा भर्खरै एसएलसी दिने तयारीमा रहेकी लक्ष्मीको घरमा विवाहको कुरा आउँछ । पढ्नमा सधैं पहिलो हुने लक्ष्मी रुपमा पनि सुन्दर थिइन् । आकर्षक जिउडालकी खिरिलो जिउडाल, सरल स्वभाव, पढाइमा तेज । साथै एकपटक सुनेको आधारमा दिमागमा राख्न सक्ने मिठो स्वरकी उनी एसएलसीको तयारीमा लागेकी थिइन् । घरमा त्यही बेलामा विवाहको कुरा चल्छ । उनले पढ्ने, अहिले विवाह नगर्ने अडान लिंदै गर्दा एसएलसीको परीक्षा पनि सकिन्छ । अन्नत: उमेरमा आफूभन्दा १३ वर्ष जेठो, पैतृक सम्पत्ति सम्पन्न, पढेलेखेको धेरै नभएपनि जाँड, रक्सी, चुरोटजस्ता अम्मल नलिने तर बाबुको अथाह सम्पत्तिको धनी व्यवहार बुझेको केटा उमेरमा बढी भएर के भो त, माया गर्छ भन्दै यस्तो राम्रो र सम्पन्न शिक्षित परिवारको कान्छो छोरासँग परिवारको दबावमा लक्ष्मी चुपचाप राजी भइन् । अन्तत: उनको चाहना केवल चाहनामै सीमित गरिन् ।
केही समय १ वर्ष जति राम्रै गरे परिवारका सदस्यले । १ वर्ष घर र माइति अनि घुमघाममा सीमित रह्यो । पढाइको विश्राम, नयाँ परिवार अनि मायामा १ वर्ष कसरी बित्यो लक्ष्मीलाई पत्तै भएन । यसै बीचमा एसएलसीको नतिजा आयो । उनी कक्षाको फस्र्ट मात्रै नभइ जिल्लामै टप गरिन् । दुबै परिवार खुशी थियो । नतिजापछि लक्ष्मीले क्अष्भलअभ पढ्ने चाहना राखिन् । परिवारको कान्छो सदस्य भएको हुनाले परिवारका जेष्ठ सदस्य जेठानी जेठाजुहरुको रायलाई प्रथम मानियो । अब रोजगार जेठाजुको बेरोजगार पत्नि अर्थात उनका जेठानीहरुको रवाफ देखिन थाल्यो । देवर पनि बेरोजगार हुनुहुन्छ । तिमी पढेर के काम, अनी तिमी कलेज गएपछि घरको धन्दा कसले गर्छ ? ३ जेठानीहरुको आवाज गुञ्जिन थाल्यो । लक्ष्मीलाई अब विस्तारै उनी यस घरको बुहारी होइन, काम गर्ने नि:शुल्क खरिद गरि ल्याइएको वस्तु भन्ने लाग्न थाल्यो ।
एकातिर पढ्ने रहर, अर्कोतिर घरमा काम अनि परिवारको तनावमा लक्ष्मी कति छिट्टै आमा बन्ने भइन् थाहै भएन । यसै बीचमा एबोर्सन अर्थात् गर्भ पतन गरेर आफ्नो पढाइलाई निरन्तरता दिने विचार पनि मनमा नआएको होइन, तर पेटमा पल्दै गरेको शिशुको आवाजले विस्तारै उनी घरको चार दिवारमै सीमित रहन पुगिन् । दिनहुँ विहान ४ बजे उठेर सारा घरको धन्दा सकेर बेलुका सुत्दा रातको १२ बज्थ्यो । यो बीचमा प्रेग्नेन्सी अर्थात गर्भावस्थाको समस्या, वाकवाक लाग्नु, खानामा रुचि नहुनु, भमिट हुनु, रेगुलर चेकअप, सासु ससुरा जेठानी नन्दको समस्या सुन्नु, दैनिकी नै भैसक्यो । अब त उनी एक छोरीकी आमा पनि भइन् ।
घरमा बेरोजगार श्रीमान्, जेठानी र अन्य सदस्यको मन खुशी बनाउँदै गर्दा आफ्नो पढाई उनी लुकेरै भए पनि पढ्दै परीक्षा दिंदै प्लस ट्र पास गरिन् । विस्तारै समयसँगै छोरी पनि २ वर्ष की हुँदा बैंकमा जागिर गर्ने भइन् । परिवारको असहमतिमा घरको काममा व्यस्त भइन् । विभिन्न तह सँगै उनीको मेहनतले प्रमोसन हुँदै एक दिन उनी ‘क’ श्रेणीको बैंकमा शाखा प्रमुखको रुपमा काम गर्न लागिन् । बैंकमा राती अबेरसम्म समय दिने, विहान समयमा पुग्न पर्ने निरन्तरताका बीचमा पनि आफूलाई घरमा छोरी अनि परिवारको कामको कर्तव्यबाट आफूलाई अगाडी राख्दै आइन् ।
लक्ष्मीको भित्री दु:ख जे भए तापनि बाहिरबाट हेर्दा चाहिं ५०/६० लाखको रातो गाडी, शाखा प्रमुखको जागिर, गाउँमा उनको छुट्टै इज्जत थियो । तर परिवारको रवाफ कुनै परिवर्तन हुन सकेको थिएन । लगातार घरमा उनलाई सासु तथा जेठानीहरुको जागिर छोड्न दबाव आइ नै रहेको थियो । विस्तारै श्रीमान पनि उनको प्रतिरोधमा खनिन लागे । फेसबुकमा कमेन्ट गर्ने को हो ? आज बैठकमा धेरै बेर गफ गर्ने को हो ? अनेक अनेक आलोचनाहरु खेप्दै आए तापनि उनले ओठमा मुस्काउन भने छोडेकी थिइनन् ।
विस्तारै श्रीमान घरमा रक्सी खाएर आउने, झगडा गर्ने दिनचर्या नै भैसकेको थियो । उनको चरित्रमा पनि प्रश्न उठाइ नै रहन्थे । श्रीमान् एक दिन छोरीको अगाडी उनलाई नराम्रोसँग गाली गर्दै पिट्ने गरे । जसको पीडा सहन नसकेर उनी माइति पुग्छिन् र सबै कुरा सुनाउँछिन् । माइतिमा सबैले सहन पर्ने, सबैलाई अर्काको घर खान कहाँ सजिलो हुन्छ, सबैलाई यस्तै हो अनेक ताना बुन्दै सम्झाउन थाले । उनले घरमा बस्नै नसक्ने सम्बन्ध विच्छेद गरेर अब एक्लै नबसे बाँच्नै नसक्ने कुरा आमालाई सुनाउँछिन् । आमा भन्छिन्, “हेर तेरो कारण समाजमा शिर निहुराउन चाहन्नौं, तँलाई के छैन भन् त ? आफैं कमाएर चढेपनि गाडी चढेकी छस्, बैंकको जागिर छ, जग्गा जमीन तीन पुस्तालाई बसेर खान पुग्ने छ, तँ मात्तेर खान्दानमै नभएको सम्बन्ध विच्छेद गर्ने काम नगर ।” लक्ष्मी रुँदै भन्छिन्, “आमा म जिउँदै भए पो सबै कुरा छ, अब मर्ने नभएर के हुन्छ ? आमा मलाई बुझ्नु, म बाँच्नै नसक्ने भएँ” तर उनको कुरा कसैले सुन्दैन । उनी घर फर्किन्छिन् । कहिल्यै रुन नजान्ने उनको आँखा ओभानो हुनै छोडेको छ ।
अन्तत: उनी छोरीलाई भन्छिन्, छोरी म बाबासँगै बस्नै नसक्ने भएँ । माइतिमा पनि कसैले बुझेन । अब हामी बेग्लै बस्ने, के भन्छ्यौ ? छोरी भर्खर १२/१३ वर्षकी उनी के नै बुझ्छिन् र ? बाबालाई नछोड्नु न मामु, मलाई लाज हुन्छ स्कूलमा । यस्तै यस्तै कुराले थिचिदै उनी जीवनसँग हार खाइसकिन्, अन्तत: उनी आफैंले संघर्ष गरेर कमाएको मान प्रतिष्ठा उनलाई भारी हुन्छ । आत्महत्या सधैं कायरताको प्रतिक मान्ने उनी अब आफूले आफूलाई समाप्त पार्न पनि ठूलै साहस सम्झिन्छिन् । सधैं अरुलाई जीउन र संघर्ष गर्न उत्प्रेरणा दिने उनी आज आफैं थकित छिन् र आँखा बन्द गरेर भन्छिन्, म कायर होइन, अनि सारा दुनियाँमा आफूलाई भुलाएर आफैंले उडुस मार्न ल्याएको विषको बोतल हातमा राखेर स्तब्ध पाराले आफूलाई सम्झिन्छिन् । बस आमा र हातमा लिएको बोतल पूरै एकै सासमा आफूले जीवन भर भोगेका दु:ख एकैचोटी पिउँछिन् र केही बेरमा सबै इष्टमित्र सबैमा थाहा हुन्छ कि उनी आफूलाई समाप्त पारिन् । एकैछिनमा पत्रकारहरु आँगनमा आउँछन् । माइतिहरु एकै स्वरमा भन्छन्, यसलाई घर परिवारले टर्चर गरेर आत्महत्या गरेकी हो । छोरीले न्याय पाउनु पर्छ, हामी न्याय दिनेछौं ।
म सोच्छु जीवनभर भावना नबुझेर उनको पीडा नसुन्ने बाबु आमा आज मरेपछि न्याय दिन्छु रे !
एकछिनमा पोष्टमार्टम गरेर घरमा लगिन्छ, लक्ष्मी लास जलेर खरानी भइसकिन् । उनले चलाउने रातो Creta गाडी थियो जो श्रीमानले चलाएर घाटमा लगेका थिए । फर्कदा गाडीमा केही आफन्त हुन्छन् । हेर सागर ! जिन्दगी लामो छ, अब तैंले अर्को विहे गर्नु पर्छ । छोरीको लागि पनि सोंच । मेरो साथीको बहिनी डिभोर्स गरेर बसेकी छे उसैसँग, सागर मौन छ । थाहा छैन उसले के सेचिरहेछ । बस नजिक रहेको लक्ष्मीको रातो गाडी एक टकले उसलाई हेरेको भान हुन्छ, लाग्छ उसले आफूलाई घुमाउँदै हजारौं दु:ख सुखका कुरा जो भन्ने गर्थिन्, घण्टौं स्टेरिङमा टाउको राखेर रुने उनका आसु आज पनि चिसो छ जस्तो लाग्छ । जो निर्जीव छ उसका मनका कुरा लाखौं वेदना सुनेर रुने गथ्र्यो आज ऊ जीवीत छ तर लक्ष्मी खै…? जसले बाँचिरहेकी लक्ष्मीलाई मार्न बाध्य बनायो आज उसैलाई डुलाउँदै छ । रातो गाडी । जो गेटको भित्रपट्टी सधैंजसो लक्ष्मीलाई डुलाउन पर्खिरहन्थ्यो आज उनकै हत्यारालाई बाध्य छ तर पनि उनकै हत्यारालाई डुलाउन बाध्य छ तर पनि मौन छ । रातो गाडी ।
(सत्य घटनामा आधारित यस आलेखमा उल्लेख गरिएका नाम काल्पनिक हुन्)
क्राइम चेक साप्ताहिकमा प्रकाशित