२०८२ बैशाख ५ गते, शुक्रबार ०६:२०

रौशन चौधरी,

रौतहट, ६ भदौ । विश्वव्यापी माहामारीको रुपमा फैलिरहेको कारोना भाइरसबाट जोगिन प्रशासनले जारी गरेको निषेधाज्ञा उल्लंघन गर्न रौतहटका निर्वाचित जनप्रतिनिधि नै लागिपरेको देखिएको छ ।

कोभिड १९ अर्थात कोरोना रोगको भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने हुँदा अन्य विकल्प नहुँदा रौतहट प्रशासनले साउन २४ गतेदेखि भदौ ७ गतेसम्म निषेधाज्ञा घोषणा गरेको छ ।
निषेधाज्ञाको अवधिमा अत्यावशयक काम बाहेक सबैलाई घरभित्र बस्न, बाहिर निस्कन तथा कुनै पनि प्रकारको सभा, गोष्ठी, सम्मेलन जस्ता भिडभाड हुने कार्यक्रम गर्न प्रशासनले पुर्णरुपमा प्रतिबन्ध लगाएको छ ।
तर, पछिलो समय रौतहटका एक जना निर्वाचित जनप्रतिनिधिले नै निषेधाज्ञालाई अवज्ञा गर्दै एक कार्यक्रमलाई सम्बोधन गरेको भिडियो बाहिर आएको छ ।
कटहरिया नगरपालिकाका मेयर शियाराम कुशवाहाले विहिवार मात्रै कटहरिया नगरपालिका १ भसेढवा स्थित कंकाली टोलमा सयौ मानिसलाई एक ठाउँमा जम्मा गरी एक कार्यक्रमको आयोजना गरेको पाइएको छ ।
भिडियोमा प्रशासनले जारी गरेको निषेधाज्ञालाई मेयर कुशवाहाले ठाडै उल्लंघन गरी गाउँका मान्छेवीचको वादविवाद सुल्झाउने नाममा मान्छेको भिड जम्मा भएको कार्यक्रमलाई सम्बोधन गरेको देखिएको छ ।
प्रशासनले जारी गरेको निषेधाज्ञालाई कुनै प्रवाह नै नगरी मेयर कुशवाहाले सयौ मानिसको भिड जम्मा भएको कार्यक्रमलाई सम्बोधन गरिरहेको भिडियो सार्वजनिक भएको छ ।
उक्त भिडियोमा भेला भएका मानिसहरु सामाजिक दुरी समेत कायम नगरेको र मास्क पनि नलगाएको प्रस्ट देखिएको छ ।
जनप्रतिनिधिले नै सैयौं मानिसलाई एकठाँउमा जम्मा गर्नु कोरोना भाइरसको जोखिम बढाउनु हो ।
महामारीको रुपमा फैलिँदै गएको कोरोना भाइरस संक्रमण रोक्ने अन्य कुनै विकल्प नभएकै कारण सरकारले लकडाउनको घोषणा गरेको छ । लकडाउनको उद्देश्य सफल बनाउन सरकारले सबै जनशक्ति खर्चिनुुका साथै जनप्रतिनिधिबाट पनि सहयोगको अपेक्षा राखेको छ ।
आफ्नो नगरका जनतालाई यस महामारीबाट कसरी बच्न सकिन्छ भन्ने कुरा सिकाउनुपर्नेमा उल्टै जनप्रतिनिधिले नै लकडाउनको उल्लंघन गरेपछि सर्वसाधारण जनताले के गर्छ भनी टिकाटिप्पणी हुन थालेको छ ।
रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले प्रशासनले जारी गरेको निषेधाज्ञाको अवधिमा कसैले पनि कुनै पनि बहानामा सैयौं मानिस एक ठाँउमा जम्मा गर्न नपाउने बताउनुभएको छ ।
निषेधाज्ञाको पाल्ना नगर्ने जोकोहिलाई पनि कानुनी कार्यवाही हुने प्रमुख जिल्ला अधिकारी यादवले बताउनुभयो ।
तर मेयर कुशवाहा सत्ताशीन दल नेकपासँग आवद्ध भएकोले पनि रौतहट प्रशासनले उनीमाथि कुनै कारवाही गर्ला भन्नेमा सर्वसाधारणले शंका व्यक्त गरेका छन् ।

प्रतिक्रिया लेख्नुहोस्