– स्वयम्भुनाथ कार्की
आफ्नो मुलुकको राजनीतिलाई अपराध कथावस्तु भएको चलचित्रसंग तुलना गर्नु पर्दा असह्य पीडा बोध भएको छ । हुनसक्छ यो लेखे वापत राजनीतिलाई मुखले विधिको शासन भने पनि वलको शासन बनाउनेहरुका “अरिंगल” म माथि खनिउन् । चन्दा नदिएर भुत्ते खुकुरीले चकना चकना हुनु परेका ८२ बर्षिय दानवहादुर कार्कीको हालत बनोस् । वहाँ मेरो जीवन संगिनीको पिता हुनुहुन्छ, अर्थात सनातन मान्यतामा मेरा जाया पिता । आतातायीहरुको धम्कीमा वहाँको जवाफ थियो “तिमीहरुले दिएर म अजम्वरी हुने हो र ? मृत्यु जीवनको वास्तविकता हो ।”
हाललाई यो लेखको कुरा मेरो मात्र हो, केवल मेरो । भोलिका दिनमा हुनसक्छ यो सम्पूर्ण पीडित नेपालीको पनि होस वा ती काँतर पीडितहरु चुप लागेर चाकरी गर्न लागुन् । त्यस अवस्थामा पनि मेरो गुनासो रहने छैन । भोग्न सबैले पर्छ नै, हमेशा शक्तिमा कोही रहन सक्दैन । नेपालका निर्माताको बारेमा आज प्रश्न उठाउन सकिन्छ भने राजनीतिलाई बलको शासन बनाउनेहरुको वारेमा पनि प्रश्न उठ्ने दिन पक्कै आउँछ । त्यसवेला अर्को बलशालीले आजको बलशालीले कोरेको गोरेटो पछ्याएर गरेको व्यवहार उनीहरु माथि नै हुनसक्ने छ ।
चलेका दक्षिण भारतीय चलचित्रहरु जसको हिन्दि संस्करणहरु पनि रुचाइने गर्दछन् । बहुदा यस्ता चलचित्रहरुको कथावस्तु एकै प्रकार हुने गर्दछन् । एक विद्रोही स्वभावको निडर अनि अन्याय देखि नसहने पात्र हुन्छ, नायक । ऊ जहाँ वेथिति देख्यो त्यहा विरोध गर्न पुगिहाल्छ । सर्वसाधारण उसले गरेको कामको लाभ भने लिन्छन तर खुल्ला साथ दिएमा आफु असुरक्षित बनिएला भनेर डराउँछन । उसको यो वेथिति नसहने स्वभावले उसले डर छेरुवा समर्थक र सकेमा ज्यानै लिने शत्रु कमाउन थालेको हुन्छ । उसको नाम मित्र मण्डलीमा भन्दा शत्रु मण्डलीमा धेरै परिचित हुन्छ । ती वेथिति गर्नेहरुको सरदार खलनायकसँग सरकारी पद हुन्छ । उसको निमित्त उचित अनुचित जे पनि गर्न सक्ने कार्यकर्ताहरुको टोली हुन्छ । सरकारी संयन्त्रमा उसका आदेश पालकहरु हुन्छन् ।
समग्रमा भन्नु पर्दा त्यो सरदार धेरै शक्तिशाली हुन्छ । भगवानले पनि आफ्नो आदेश मान्नु पर्छ भन्ने घमण्ड पलाएको हुन्छ । अब आउँछ कथामा मोड, त्यो विद्रोही नायक र शक्तिमान खलनायकको भेट हुन्छ । खलनायकको वेथितिको विरोध जनता सामु नायकले गर्छ । खलनायक रिसले आगो हुन्छ, परिस्थितिले गर्दा उ चुइक्क पनि बोल्दैन । त्यहाँबाट चुपचाप हिंड्छ, आफ्नो आलोचना उसलाई आफ्नो बेइजती लाग्छ । रिसले चुर भएर बदलाको आगोमा जलेको उसलाई केही सल्लाहकारले सम्झाउँछन । अब यो पदको मर्यादाको निमित्त पनि बल प्रयोग गर्न हुन्न बरु त्यसलाई नै जनता सामुन्ने बदनाम गर्नु पर्छ ।
ऊ त्यसै गर्छ, आफ्ना प्रचारतन्त्र उरालेर आफु सही र ऊ गलत भएको प्रचार शुरु गर्छ । जनसाधारमा मार्का परेको भए भन्ने माफी दिनुहोला भनेर माफ पनि माग्छ । तर यो माफी मगाई आफ्नो थप बेइजती लाग्छ । अनि शुरु हुन्छ नायक माथि आफ्नो सम्पूर्ण शक्तिले हमला । वैधानिक अवैधानिक सबै बाटोबाट हमला गर्छ । उसलाई साथ दिएका जस्तो लागेका सबैमाथि आक्रमण गर्न थाल्छ । आफ्ना कठपुतली भएका प्रहरी मार्फत नायकलाई पक्राउछ, थुनाउँछ पिटाउँछ । उसका कार्यकर्ताहरुका टोली, उसका आशामुखी समाजमा स्थान भएकाहरु सबै त्यसमाथि खनिन्छन् । अब यहाँबाट केही बाटो छुट्टिन्छ । कुनैमा नायकले सर्वसाधारण जुटाएर त्यसको दवदवा समाप्त पार्छ । कुनैमा नायक एक्लैले त्यसको सर्वनास गर्छ । अन्तमा सर्वनास भने खलनायक कै हुन्छ ।
यो कथा नेपालको राजनीतिमा पनि शुरु भएको छ । मैमत्त भएकाहरु सत्ता र शक्तिको दुरुपयोग गरेर विरोधी दवाउँदैछन । केही फरक भने देखिएको छ, सत्ता अर्थात सरकारी निकायहरु चुप बसे पनि त्यस्ताको कठपुतली नै भएका छैनन् । तर सत्ताधारीका, दलका कार्यकर्ताले खुल्लमखुल्ला मुलुकको संविधानले दिएको अधिकार विपरित कारवाही गर्ने चुनौति दिंदा पनि कारवाही त परै जाओस चुइक्क बोल्न पनि सकेका छैनन् । हालैको विवाद सुरु भएको भिडियो सामाजिक सञ्जालमा यत्रतत्र उपलव्ध छ । तर मन्त्री खुशी पार्ने धुनमा कसैले हेरेको छैन । एकोहोरो सुगा रटाई मन्त्रीको अपमान भयो भन्ने छ ।
मेरो चुनौती, एक पटक त्यो भिडियो हेर्नुस अनि भन्नुस त्यो स्थानमा तपाईले नै बोलेको भए पनि त्यस्तै बोल्नु हुन्थ्यो वा हुन्न थियो ? पख्नुस, ती आफ्ना मन्त्रीको स्थानमा पराया मन्त्री भएको कल्पना गरेर हेर्नुस् । विचार गर्नुस यो दक्षिण भारतीय चलचित्रको कथा हैन । न तपाईहरु नै खलनायकको टोली हो । अबका सबै कुरा चाहेर वा नचाहेर स्वत: अभिलेखिकरण हुने गर्दछन, नेपालमा मात्र हैन विश्वभर । भोलीका दिनमा तपाइका सन्तानले त्यो हेरेर आफुलाई लज्जित नसम्झुन् । बाँकी रह्यो मेरो कुरा, मेरा जाया पिता कै शव्द “तपाइहरुले दिएर म अजम्बरी हुने हैन” ।
२०७६ असोज २ गते क्राइम चेक साप्ताहिकमा प्रकाशि