पौराणिक आख्यानका अनुसार जतिबेला धर्मको हानी र अधर्मको बिस्तार हुन्छ तब संसारको उत्थानका लागि भगवान विष्णु धर्तीमा अवतरित हुन्छन् । यसै क्रममा थुप्रै पटक श्री विष्णुका अनेकौं अवतारको कथा पढ्न पाइन्छ । यिनैमध्ये दुई अवतार यस्ता छन् जसले परिवारमा बस्दै धर्मको स्थापना र बिस्तार गरे ।
उक्त अवतार थियो त्रेता युगमा भगवान राम र द्वापर युगमा भगवान कृष्ण । यीमध्ये भगवान रामले जीवनमा आदर्शको महत्व प्रमुखताका साथ स्थापित गरे भने कृष्णले एक साधारण व्यक्तिको क्षमता, आकांक्षा र परिस्थितीका अनुसार सटिक निर्णय लिने कुरालाई आफ्नो जीवनचक्रमा स्थान दिए ।
आफ्नो कुनै पनि रुपमा, आयुको कुनै पनि विराममा श्रीकृष्ण भगवानको रुपमा स्थापित नभएर, पूजनीय नभएर साधारण नै बनिरहे र असाधारण कार्यलाई सम्भव बनाएर मानवलाई देव बनाउने मार्ग प्रशस्त गरे । यसैक्रममा एक रोचक जानकारी उनको परिवार, उनको गृहस्थ जीवनबारे पढ्न पाइन्छ ।
आउनुहोस्, कृष्णा जन्माष्टमीको मौकामा यसबारे कुरा गरौंः
कृष्णका १६ हजार १ सय ८ गोपिनीः
श्रीकृष्णको महारासलीलाबारे त सबै भक्तजनलाई थाहा छ । जब गोकुलमा उनले आफ्ना सबै गोपिनीसँग एकसाथ अनेक रुप धारण गरेर महारास रचाएका थिए । यस्तै प्रकारको एक जानकारी उनको परिवार बारे पाइन्छ । पुराणका अनुसार श्रीकृष्णका १६ हजार १ सय ८ गोपिनी थिए ।
कृष्णले १६ हजार रुपमा विवाह रचाएः
यो कसरी सम्भव भयो यसबारे पुराणमा उल्लेख गरिए अनुसार एक मानसिक रोगीले अमरता पाउनका लागि १६ हजार कन्यालाई बली दिनका लागि कैद गरेका थिए । श्रीकृष्णले यी कन्यालाई कैदमुक्त गरिदिए र जब उनीहरुका परिवारका सदस्यले चरित्रको नाममा उनीहरुलाई अपनाउन अस्विकार गरे तब कृष्णले १६ हजार रुपमा प्रकट भएर एक साथ उनीहरुसँग विवाह गरे । यी विवाहका साथै कृष्णले केही प्रेम विवाह पनि गरे ।
मैले यो जन्ममा एक पत्नी ब्रतको संकल्प लिइसकेको छु…
त्रेतायुगमा थुप्रै युवतीले रामसँग विवाहको वरदान मागेको बताइन्छ । त्यतिबेला श्रीरामले आफूले यो जन्ममा एक पत्नी ब्रतको संकल्प लिइसकेको तर अर्को जन्ममा सबैसँग विवाह गरेर इच्छा अवश्य पूरा गर्ने बताएका थिए । द्वापर युगमा श्रीकृष्णको रुपमा जन्म लिएर श्रीरामले आफ्नो पूर्व जन्मको वरखानलाई सार्थक गरे । यसरी द्वापरमा श्रीकृष्णले १ सय ८ विवाह थप गरे ।
आफ्ना कुनै पनि श्रीमतीलाई निराश हुन दिएनन्ः
अचम्मको कुरा के छ भने यतिधेरै विवाह गरेपनि श्रीकृष्णले आफ्ना कुनै पनि श्रीमतीलाई निराश गराएनन् । आफ्नो लीलाले उनी त्यति नै रुप लिएर आफ्ना १६ हजार १ सय ८ रानीसँगै बसिरहे र आफ्नो पतीब्रत धर्मको पालना गरिरहे ।
१ लाख ६१ हजार ८० पुत्रः
यतिमात्र होइन, उनका सबै श्रीमतीले १० पुत्र र एक पुत्रीलाई जन्म दिए । यसरी उनका १ लाख ६१ हजार ८० पुत्र र १६ हजार १ सय ८ पुत्री थिए ।