काठमाण्डौ, २२ साउन/
भारतकी पूर्व विदेशमन्त्री एवं सत्तारुढ भारतीय जनता पार्टी भाजपाकी वरिष्ठ नेत्री सुष्मा स्वराजको निधन भएको छ । उहाँको मंगलबार राति दिल्लीको एम्स अस्पतालमा निधन भएको भारतीय संचार माध्यमले जनाएका छन् । उहाँलाई मुटु सम्बन्धी समस्या भएपछि अस्पताल लगिएको थियो ।
स्वराजको पार्थिव शरीर बुधबार दिउँसो १२ बजेदेखि ३ बजेसम्म अन्तिम श्रद्धान्जलीको लागि पार्टी कार्यालयमा राखिनेछ । त्यसपछि ४ बजे राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने भारतीय जनता पार्टीले जनाएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, भाजपाका अध्यक्ष अमित शाह, कांग्रेस नेता राहुल गान्धी लगायतले ट्विटरमा सन्देश लेख्दै सुषमा स्वराजलाई श्रद्धाञ्जली दिनुभएको छ ।