Thursday, January 9, 2025
घरविचारधर्म संस्कृतिनागा बाबाको विरोधको औचित्य - राम लोहनीको विचार

नागा बाबाको विरोधको औचित्य – राम लोहनीको विचार

नागा बाबाहरूलाई “धर्मको नाममा विकृति” भन्नु ठिक छैन। लुगा नलाउनु विकृति होइन, नियमित लगाउनेले सार्वजनिक रूपमा नाङ्गिनु चाहिँ विकृति हो।

वेदव्यास पुत्र शुकदेव सांसारिक मोहसँग विरक्तिएर वनबासलाई लागि हिँडे। शुकदेव नाङ्गै थिए। पुत्र मोहले पीडित व्यास शुकदेवलाई बोलाउँदै, रुँदै पछि लाग्दै थिए। शुकदेव पछि नफर्की हिँडिरहे। बाटोमा एउटा तलाउ थियो। शुकदेव तलाउको छेउ हुँदै गए। तलाउमा केही युवतीहरू नुहाउँदै थिए। युवतीहरू जल क्रिडामा मग्‍न रहे, शुकदेवको उपस्थितिले उनीहरूलाई कुनै अवरोध गरेन। एक्कैछिनमा व्यास विलाप गर्दै त्यही बाटो आए। युवतीहरू हत्तपत्त पानीभित्र गएर आफ्ना शरीर लुकाए। व्यासलाई यो देखेर अचम्म लाग्यो। सोधे — “नानीहरू, भर्खर मेरो छोरो यो बाटो गएको थियो, ऊ युवक थियो र नाङ्गै थियो। तिमीहरू अर्धनग्‍न जलक्रिडामा मग्‍न रह्यौ। त म बुढोलाई देखेर किन लजाउँछौ? फेरि म विवस्त्र पनि त छैन।” 


व्यासको कुरा सुनेर युवतीहरूले भने — महाराज! हजुरको छोरालाई आफू नग्‍न छु भन्ने पनि मतलब छैन। उहाँलाई वस्त्र लगाउनु र नलगाउनुको भेद पनि छैन, मोह पनि छैन, कामना पनि छैन। उहाँले हामीलाई देख्‍नु नै भएन। तर हजुरले हामीलाई देख्‍नुभयो। हजुर लुगासहित हुनुहुन्छ। हजुरलाई नाङ्गो र लुगा लगाएको भेद ज्ञात छ। फेरि हजुरमा कामना, वासना र मोह लोप भएको पनि छैन। हजुर छोराको लागि विलाप गर्दै हुनुहुन्छ। यही कारण हामीलाई हजुरसँग लज्जा अनुभूत भयो, हजुरको छोरासँग लज्जाको तृण मात्र अनुभूत भएन।
—–
नागा बाबाजीले यदि कामना, वासना र मोहलाई जितेका हुन् भने उनीहरूको नाङ्गोपनमाथि हामीले टिप्पणी गर्ने अधिकार हुँदैन। उनीहरूले ढोँग हो भनेर दाबी गर्छौँ भने र त्यो प्रमाणित गर्न सक्छौँ भने बेग्लै कुरा हो। एकाध उदाहरण दिएर पुष्टि हुँदैन। कोही भ्रष्ट व्यक्ति देख्दैमा, हरेक व्यक्ति भ्रष्ट भन्ने पुष्टि हुँदैन।
यो एउटा परम्परा हो। यसैमा दीक्षित भएर हिँडेकाहरूको बारेमा “विकृति” भनेर टिप्पणी गर्नु मनासिव छैन। वस्त्र पूर्ण रूपमा त्याग गरेका तपस्वीहरूलाई त्यही रूपमा स्वीकार गर्नु उपयुक्त हुन्छ। यदि यो पाखण्ड हो, ढोँग हो र पर्दापछाडि साँच्चै विकृति छै भने त्यसको विरोध गरौँ।


मानिस पहिले जङ्गली युगमा हुँदा वस्त्र लगाउँदैनथे। वस्त्रविहीन अवस्था विकृति थिएन। अहिले पनि केही जातिमा नाम मात्रको वस्त्र लगाउने चलन छ। त्यो विकृति होइन। समयक्रममा कोही व्यक्तिले वस्त्र लगाउन थाल्यो। सम्भवत: सुरु सुरुमा वस्त्र लगाउने प्रचलन उनीहरूको समाजमा विकृतिको रूपमा बुझियो होला। 


जैनहरूमा दिगम्बर सम्प्रदाय छ। धार्मिक, आस्था, विश्वासलाई कुन हदसम्म मानिसले जीवनमा धारण गरेका हुन्छन्, त्यसको सजिलै विश्लेषण गर्न गारो हुन्छ। त्यसको तर्कसङ्गत व्याख्या लगभग असम्भव हुन्छ। तर त्यस्ता आस्था, विश्वासको आडमा हुने कृतिहरू गलत रहेछन् भने ती चाहिँ निश्चितै विकृति हुन्।

 

(त्रिभुवन विश्वविद्यालयमा भाषा विज्ञान अध्यापन गराउने लोहनीको फेसबुकबाट साभार सामग्री)

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -