Thursday, November 28, 2024
घरसमाचारबैंकको दुई करोड हिनामिना गर्ने आठ जना पक्राउ

बैंकको दुई करोड हिनामिना गर्ने आठ जना पक्राउ

काठमाडौं / नक्कली ब्लुबुक बनाई सवारी कर्जाबापत देव विकास बैंकका विभिन्न शाखाबाट दुई करोड रुपैयाँभन्दा बढी रकम लिई हिनामिना गर्ने आठ जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बैंकका तत्कालीन शाखा प्रबन्धकसहित काभ्रेका जनप्रतिनिधिसमेत छन्।

महाराजगन्जस्थित केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले उनीहरूलाई काठमाडौं, काभ्रे र मोरङका विभिन्न स्थानबाट विभिन्न समयमा पक्राउ गरेको हो।

प्रहरीका अनुसार काभ्रेको भुम्लु गाउँपालिका वडा नं १ स्थायी ठेगाना भएका ३६ वर्षीय नारायणबहादुर श्रेष्ठ, सोही वडाका सदस्यसमेत रहेका ३० वर्षीय बालकृष्ण श्रेष्ठ, सोही ठेगानाका ३४ वर्षीय चेतबहादुर श्रेष्ठ, २६ वर्षीय विकास श्रेष्ठ, ३२ वर्षीय नवीन श्रेष्ठ र काभ्रेकै चौबास-४ घर भई हाल काठमाडौंको गोठाटार बस्ने गरेका ४२ वर्षीय कृष्णबहादुर खत्रीलाई पक्राउ गरिएको हो।

यस्तै अन्य अभिुक्तहरूमा पर्साको वीरगन्ज घर भई हाल ललितपुरको ज्वागल–१० बस्ने गरेका नरेशमान सिंह र काठमाडौं महानगरपालिका-२३ का ३७ वर्षीय सरिनशंकर श्रेष्ठ (देव विकास बैंकका तत्कालिन शाखा प्रबन्धक) छन्।

सवारी कर्जा लिने प्रयोजनका लागि सम्बन्धित शाखा कार्यालयका कर्मचारी र मूल्यांकनकर्तालाई सवारीसाधन देखाई यातायात कार्यालयबाट प्राप्त प्रतिलिपि ब्लुबुकमा गलत विवरण राखेर सहि छाप गरी देव विकास बैंकका विभिन्न शाखामा धितो राखी ११ ऋणीका नाममा नक्कली कागजात बनाई उनीहरूले २ करोड १० लाख ८ हजार ९ सय २६ रुपैयाँ हानी-नोक्सानी पुर्‍याएको अनुसन्धानबाट खुल्न आएको छ।

यसका मुख्य योजनाकार नारायणबहादुर श्रेष्ठ रेहेको बताइएको छ। उनीसहित आठै अभियुक्तविरुद्ध बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ तथा मुलुकी ऐनको सरकारी छाप दस्तखत किर्ते कागजको महलबमोजिम अनुसन्धान पूरा गरिएको प्रहरीले जनाएको छ।

बैंकिङ कसुरतर्फको अनुसन्धान प्रतिवेदन विशेष सरकारी वकिल कार्यालय (माइतीघर, काठमाडौं) तथा सरकारी छाप दस्तखत किर्ते तर्फको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालय (काठमाडौं र ललितपुर) मा पेश गरिएको छ।

अनुसन्धानबाट खुल्न आएका कसुर यस्ता छन्ः
१. देव विकास बैंकमा सवारी साधन धितो राखी ऋण लिने क्रममा प्रतिलिपि ब्लु बुकमा नक्कली डाटा तयार गर्नुका साथै आफू अनुकूलका विवरणहरू राखी बैंकमा पेश गर्ने गरेको।

२. विभिन्न व्यक्तिलाई विभिन्न मितिमा ऋणी बनाई १६ वटा कर्जा फाईल तयार गरी २ करोड ७१ लाख ७६ हजार रुपैयाँ कर्जा स्वीकृत गर्न सफल भएको ।

३. सम्पूर्ण कर्जा फाइलमा आम्दानी स्रोतमा राखिएको सवारीसाधनको विवरण लगायतका कागजातसमेत नक्कली तयार पारी कर्जा फाइलमा समावेश गरेको ।

४. ऋणी नारायण श्रेष्ठ, गाडी किनबेचमा आवद्द रही यातयात कार्यालयमा सजिलै प्रवेश पाउने हैसियत बनाएको देखिएको ।

५. तत्कालीन बैंक म्यानेजरले ऋण प्रवाह गर्दा आफ्नो कर्जा सीमा नाघी कर्जा स्वीकृत गरेको ।

६. हाल बैंकलाई २ करोड १० लाख ८ हजार ९ सय २६ रुपैयाँ ४२ पैसा हानी नोक्सानी पु(याएको देखिएको।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -