काठमाण्डौ ।
पूर्व युवराज पारस वीर विक्रम शाह केही समय यता धर्मकर्म र पूजा आजाजस्ता आध्यात्मिक कार्यमा सरिक हुन थालेका छन् ।
यसै क्रममा पूर्व युवराज पारस मंगलवार मनकामना मन्दिर र बुधवार गोरखकाली, महायोगी गुरु गोरखनाथको दर्शन गर्ने कार्यक्रम रहेको बताइन्छ ।
चन्द्रसूर्य वाणीलाई प्राप्त जानकारी अनुसार पूर्व युवराज पारस शाह गोरखा जिल्लाबासीको निमन्त्रणामा असार ५ गते मंगलबार बिहान ९ बजे मनकामना देवीको दर्शन र विशेष पूजाआजा गर्ने कार्यक्रममा सरिक हुन प्रस्थान गर्न लागेका हुन् । त्यसैगरी असार ६ गते बुधबार बिहान ८.३० बजे गोरखा दरबारमा गोरखकाली , महायोगि गुरु गोरखनाथको दर्शन गर्ने कार्यक्रम पनि रहेको प्राप्त समाचारमा जनाइएको छ ।
राष्ट्र गलत तत्वको हातमा गएपश्चात दिनानुदिन अधोगतितर्फ उन्मूख भइरहेको सन्दर्भमा देशभरीका राष्ट्रवादी व्यक्ति र शक्ति चिन्तित भइरहेको समयमा पूर्व युवराज पारसले मुलुक र मुलुकवासीको रक्षा एवं शान्ति स्थापनाकालागि धार्मिक तथा आध्यात्मिक बाटो तय गर्नु भएको बुझिएको छ ।
पूर्वराजा ज्ञानेन्द्र विक्रम शाह लगायत राजपरिवारका सदस्यहरु छुट्टाछुट्टै समय र स्थानमा पूजा आजा गर्ने र नेपालीहरुको पीर मर्का बुझ्न केही समय सक्रिय रुपमा लागेपछी न्यायप्रेमी राष्ट्रवादी नेपालीहरुमा उत्साह थपिएको पाइएको छ ।