Wednesday, January 8, 2025
घरसमाचारपाल्पामा दुई सातासम्म पनि पहिरो पन्छाइएन, भित्तो समाउँदै हिँड्नुपर्ने बाध्यता

पाल्पामा दुई सातासम्म पनि पहिरो पन्छाइएन, भित्तो समाउँदै हिँड्नुपर्ने बाध्यता

२८ असोज, पाल्पा । पाल्पाको एउटा गाउँमा पहिरो गएको दुई साता बित्दासम्म पहिरो नपन्छाइँदा चार वडाका बासिन्दा प्रत्यक्ष मारमा परेका छन् । सो बाटो भएर यात्रा गर्ने दशैंका यात्रुहरुले पनि सास्ती खेपे ।

असोज १२ गतेको अविरल वर्षासँगै बगनासकाली गाउँपालिका वडा नं. ५ को दर्लमडाडाँमा खसेको पहिरो अहिलेसम्म पनि नपन्छाइँदा आउ–जाउ ठप्प भएको हो । पहिरोका कारण दर्लमडाँडासँगै वडा नं.४ को गुडुवाखोला र मलेङ्ग वडा नंं. ३ को आफर र पाखन्दी, वडा नंं. ९ को बझादीलगायतका गाउँका बासिन्दा समस्यामा परेका हुन् ।

ठूलो पहिरो खसेकाले पैदल यात्रासमेत कठिन भएको बगनासकाली ५ का स्थानीय तुल्सिराम कोइरालाले बताए । ‘खोला किनारमा खेत छ । दैनिकजसो खेतमा आउन–जान यही बाटो प्रयोग गर्ने हो,’ कोइरालाले भने, ‘बाटोमा पहिरो झरेदेखि ढिकमा उक्लिएर जोखिमपूर्ण यात्रा गर्नु परेको छ ।’ स्थानीय सरकारले समयमा पहिरो पन्छाउने सुरसार नगर्दा दुई सातादेखि सास्ती खेप्नु परेको उनले बताए ।

चार वडाका स्थानीयले खेतीपाती गर्न, घासदाउँरा गर्न विद्यालय आउ–जाउ गर्न र अन्य अत्यावश्यक कामका लागि हिँडडुल गर्न प्रयोग गर्ने यो मुख्य सडक हो ।

पहिरो पन्छाउनका लागि समयमा पहल नगर्दा दशैंका बेलामा पनि दुःख पाएको अर्का स्थानीय कुल प्रसाद पौडेलले बताए । ‘वैकल्पिक सडक भए पनि कम्तीमा एक घण्टा बढी यात्रा गर्नुपर्ने बाध्यताले दुःख हुन्छ,’ उनले भने ।

सडकको माथिल्लो भागदेखि तल्लो भागको खोला किनारसम्म पहिरो खसेको हुँदा खेतबारीमा जान र अत्यावश्यक कामका लागि सदरमुकामको यात्रा गर्न परेमा घण्टौं लगाएर यात्रा गर्नुपर्ने बाध्यता रहेको ती वडाका स्थानीयले बताएका छन् ।

बगनासकाली गाउँपालिका–५ का वडाध्यक्ष ओमप्रकाश गैरेले असोजको २० गतेसम्म पनि पहिरो खसेको जानकारी नपाउँदा पहिरो पन्छाउन ढिलो भएको बताए । ‘स्थानीय साथीहरुले ढिलो खबर गर्दा पहिरो पन्छाउन ढिलो भयो,’ उनले भने, ‘सप्तमीको दिन पहिरो पन्छाउन स्काभेटर पठाए पनि काम नगरी अप्रेटर फर्कियो । त्यसैले पर्वका बेला यात्रा गर्न स्थानीयलाई समस्या भएको छ ।’

दशैंका बेला स्काभेटर चलाउने अप्रेटर नपाइएकाले अब पूर्णिमा पछिमात्रै पहिरो पन्छाउने काम गरिने पनि वडाध्यक्ष गैरेले बताए ।

– कमल अधिकारीबाट

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -